Sunday 16th November 2025

सात मन्त्रालय लिएर ओली सरकारमा जाने तयारीमा जसपाका महन्थ-राजेन्द्र पक्ष


तितोपाटी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने तयारीमा जुटेको छ।

उक्त पार्टीका एक नेताका अनुसार रिक्त रहेका मन्त्रालय लिने गरी सरकारमा आउन प्रधानमन्त्री ओलीले आग्रह गरिरहेका छन्।
आफूहरूले उठाएका माग ओली सरकारले पूरा गर्दै गएकोले सरकारमा जानुपर्ने मत अध्यक्ष ठाकुर पक्षभित्र छ। अरू माग पनि पूरा गर्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले देखाएकोले सरकारमा जानुपर्ने निश्कर्षमा अध्यक्ष ठाकुर र नेता महतो छन्।
प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सरकारमा आउन आग्रह गरिरहे पनि वातावरण बल्ल बनेको जसपाका एक कार्यकारिणी समिति सदस्यले सेतोपाटीलाई बताए।
‘हामीले राखेका माग ओली सरकारबाट पूरा भइरहेका छन्। अब हाम्रो छलफल सरकारमा सहभागिता जनाउने विषयमा नै केन्द्रीत हुन्छ,’ अध्यक्ष ठाकुरनिकट जसपाका ती नेताले भने, ‘प्रधानमन्त्रीले पनि खालि रहेका ७ मन्त्रालयमा मन्त्री पठाउन भन्नु भएको छ। यसबारे अझै गम्भीर रूपमा छलफल गर्छौं।’
ओलीले अहिले रहेका मन्त्री नहटाइकन यसअघिदेखि नै रिक्त मन्त्रालय जसपालाई दिने गरी सरकारमा आउन भनेका छन्। नेकपा माओवादी छाडेर एमालेमा आएकालाई दिइएको ७ मन्त्रालय केही दिनदेखि रिक्त छ। ती मन्त्रालय प्रधानमन्त्री ओली आफैँले हेर्ने गरी राखेका छन्।
माओवादी छाडेका एमाले आएकाहरू गैरसांसद रहेकोले मन्त्रीबाट हट्नुपरेको थियो। साथै मन्त्रालयहरू हेरफेरसमेत गर्न सकिने ओलीले बताइरहेका छन्।
संविधानअनुसार २५ जना मन्त्री बनाउन मिल्छ। स्रोतकाअनुसार ठाकुर पक्षले ८ जना मन्त्री र २ राज्यमन्त्री मागेको छ। तर अब सात जना मात्रै मन्त्री थप गर्न मिल्छ। आकांक्षी धेरै भएकोले व्यवस्थापन गर्न ८ जना मन्त्री दिनुपर्ने ठाकुरले ओलीसँग माग गरेको स्रोतको दावी छ।
जसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष भने सरकारमा जाने पक्षमा छैन। उनीहरूले प्रतिनिधि सभा विघटन गरेकोमा विरोध गरिरहेका छन्। ओली सरकारको विकल्प खोज्नुपर्नेमा भट्टराई र यादव छन्।
साथै उनीहरूले हालै केन्द्रीय कार्यकारिणी समिति बैठक गरेर सरकारमा गए कारवाही गर्ने चेतावनी दिएका छन्।
तर ओली सरकारमा जानेबारे पार्टीभित्र विवाद नरहेको महन्थ ठाकुरनिकट नेता सुरेन्द्र झाले दावी गरेका छन्। आफूहरूको मुख्य सवाल सरकारभन्दा पनि मागहरू रहेको र त्यो ओली सरकारले पूरा गरिरहेको उनले बताए। आफूहरूका माग ओलीले सकरात्मक ढंगले अगाडि बढाएकोले सहकार्य हुन सक्ने उनले बताए।
‘सरकारले हाम्रा मुख्य माग सम्बोधन गरेको छ। प्रधानमन्त्रीले पनि सकरात्मक ढंगले माग पूरा गर्छु भनिरहनुभएको छ। त्यसैले हाम्रो पनि उहाँसँग सहकार्य हुने सम्भावना बढेको छ,’ उनले भने।
आफूहरूका मागमध्ये रेशम चौधरीको रिहाइ हुन बाँकी रहेको उनले बताए। ‘उहाँको रिहाइ हुन बाँकी छ। विपक्षी गठबन्धन कसरी अगाडि बढ्छन् र पार्टीभित्र कस्तो समिकरण अघि बढ्छ यी सबै विषयले सरकारमा जानका लागि केही समय लाग्न पनि सक्छ,’ उनले भने। साभार सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...