Thursday 9th April 2026

रुकुमेलीसामु प्रचण्डले भने -मैमाथि बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले विगतमा केही गल्ती गरेको भन्दै रुकुमेली आत्मालोचना गरेका छन् ।३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर आज (मंगलबार) नेकपा माओवादी केन्द्रले रुकुम पश्चिममा आयोजना गरेको जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अवसर पाउँदा संगठन निकै कमजोर रहेकाहरुलाई जिम्मेवारी दिएको तर जीवनभर पार्टीका लागि संघर्ष गरेकालाई उपेक्षा गरेको भन्दै आत्मालोचना गरेका हुन् ।

हालै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई लक्षित गर्दै उनले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरें, ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरें ।’
संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको बताए । रुकुमेली जनतालाई सम्बोधन गर्दै उनले भने, ‘म आत्मालोचना गर्न पनि तपाईहरु माझ आएको छु । सायद मैले गल्ती गरें । म अब त्यस्तो गर्दिनँ ।’

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए । ‘पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि यो प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपिल गरें । जनताले साथ देलान् त भन्नेमा संशय पनि थियो तर देशभर जाँदा जनता प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीलाई साथ दिन तयार छ भन्ने मैले देखें,’ उनले भने ।

जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धिविरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए । ‘देशभित्र र बाहिर अनेक षड्यन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसविरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’यस्ता षड्यन्त्रलाई परास्त गर्ने तागत हिजो जनयुद्धका बेलामा रहेका आधार इलाका, हिजोका योद्धा, घाइते र सहिद परिवारमा मात्र छ भन्ने महसुस गरेर नै आफू रुकुम आइपुगेको उनले बताए।

-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...