Thursday 21st May 2026

नागरिकमाथि हवाई हमला पनि गर्न थाल्यो म्यानमारको सेना


कूमार्फत् सत्ता हत्याएको म्यानमारको सेनाले आफ्ना नागरिकहरूमाथि हवाई आक्रमण पनि गर्न थालेको छ।सेनाले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी प्रान्त करेनका तीन हजार जना म्यानमारी शरण खोज्दै आइतबार थाइल्याण्ड गएका छन्।सेनाले मुट्रअ जिल्लाका पाँच क्षेत्रलाई लक्षित गरी हवाई हमला गरेको थियो। उक्त क्षेत्रमा आदिवासी सशस्त्र समूह रहेको भन्दै सेनाले हमला गरेको हो।

‘केही मानिसहरू अहिले जंगलमा लुकिरहेका छन्। तीन हजार बढी शरणार्थी बन्न छिमेकी थाइल्याण्ड पुगेका छन्,’ करेन महिला संगठनले विज्ञप्ति निकाल्दै भनेको छ। म्यानमारीहरू शरण माग्दै आएको विषयमा थाई अधिकारीहरूले केही प्रतिक्रिया दिएका छैनन्।

राहत संस्था फ्री बर्मा रेन्जरका संस्थापक डेभिड एउबान्कका अनुसार हवाई हमलामा परी करेन नेशनल युनियनका दुई जना सिपाही मारिएका छन्।’यहाँ २० वर्षदेखि हवाई हमला भएको थिएन,’ एउबान्कले भने,‘अर्को कुरा यो राति गरिएको छ। यसले चीन, रूस र अरू देशको सहयोगले म्यानमारी सेनाले क्षमता बढाएको देखिन्छ।’

करेन नेशनल युनियन नियन्त्रित एक गाउँमा शनिबार सेनाले गरेको हवाई हमलामा परी कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको नागरिक समूहले जनाएको छ।करेन नेशनल युनियनले सन् २०१५ मा सरकारसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको थियो। तर सेनाले आङ सान सुचीलगायत नेतालाई पक्राउ गरेर सत्ता हत्याएपछि उक्त क्षेत्रमा तनाव बढेको छ।

थाइल्यान्डको सीमावर्ती क्षेत्रमा रहेका करेन नेशनल युनियन र सान राज्य पुर्नस्थपना परिषदले सैनिक कूको विरोध गरेका छन् र नागरिकको प्रतिरोधमा समर्थन जनाएका छन्।यसअघि सेनाले आइतबार गोली लागेर मृत्यु भएका एक जना प्रदर्शनकारीको अन्तिम संस्कारमा सहभागी भएकाहरूमाथि पनि गोली चलाएको थियो।
-सेतोपाटीबाट

 


सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...