जब घाम अस्ताउँछ अँधेरो हुन्छ अचम्म लाग्छ !
अनि त्यो प्रकृतिले घर भित्र थुन्छ अचम्म लाग्छ !
बिहानै देखि दौडिन पर्छ मलाई संघर्षको लागि
साँझ फर्किन्छु अनि यो मन रुन्छ अचम्म लाग्छ !
अनेकौँ चिन्ता नै चिन्ताले भरिएको यो दिमाग
आफ्नो भागमा ठूलो खुशी चुन्छ अचम्म लाग्छ !
उता सत्रुले बाटो बन्द गरिदिन्छ मेरो जिन्दगीको
यता यो मनले सपना अनेकौँ बुन्छ अचम्म लाग्छ !
कसरी बुझ्यौं जिन्दगीलाई भन्नुहोस् तपाईंले
मेरो त पाइलैपिच्छे काँडाले छुन्छ अचम्म लाग्छ !
सपना न्यौपाने ‘सत्यवादी’
काठमाडौं