Friday 29th March 2024

रेखा थापाको नजरमा विप्लव, विवाहको हल्ला अनि करियर : के छन् याेजना ?


-कुवेर गिरी

अभिनेत्री रेखा थापा अभिनय, सामाजसेवा होस् वा राजनीति, सधैँ चर्चाको केन्द्रमा रहन्छिन् । हालै रेखाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग समेत भेट गरेकी छन् । सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीचको भेटलाई धेरैले विभिन्न कोणबाट पनि व्याख्या गरेका छन् । रेखाले भने ‘विप्लव’सँगको भेट व्यक्तिगत भएको बताउँदै आएकी छन् । राप्रपाबाट अहिले राजनीतिक जीवन अगाडि बढाइरहेकी उनको पछिल्लो समय केही मिडियामा विवाहको समाचारले समेत प्राथमिकता पाइरहेका छन् । उनी भने त्यसलाई गलत र नचाहिँदो हल्ला बताउँछिन् । नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री रेखा थापासँग राजनीति, विवाह र फिल्मको विषयमा रहेर गरिएको कुराकानी ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

–त्यस्तो खासै केही छैन । नयाँ फिल्म निर्माणको तयारी गर्दैछु । त्यसका लागि स्टोरीदेखि अन्य तयारी भइरहेको छ । वैशाखमा नाम दर्ता गरेपछि सार्वजनिक गर्छु ।

भेटमा सत्तामा आउन लाग्नुभएको छ, जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तपाईंका त्याग र तपस्या त्यतिकै सकिएला भनेर भनेर सोधेकी पनि थिएँ । उहाँले तपाईं निश्चिन्त हुनुहोस्, हामी जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो, हाम्रो एजेन्डा नै त्यही छ भन्नुभयो ।

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग तपाईंको भेटलाई विभिन्न कोणबाट हेरियो नि ?

–त्यो भेट व्यक्तिगत थियो । उहाँलाई लागेको प्रतिबन्धको विरोधमा मैले पहिलेदेखि नै आवाज उठाउँदै आएकी थिएँ । उहाँका एजेन्डा मलाई राम्रो लागेको थियो । उहाँ सार्वजनिक भएपछि भेट्न बोलाउनुभयो, भेटेँ । त्यस्तो अन्य केही होइन ।

‘विप्लव’लाई कस्तो नेताको रूपमा पाउनुभयो ?

–जनताप्रति उहाँ एकदमै उत्तरदायी भएको नेताको रूपमा पाएकी छु । उहाँका एजेन्डा एकदमै राम्रा छन् । मैले त्यही सवालमा पनि भेट गरेकी हुँ । भेटमा सत्तामा आउन लाग्नुभएको छ, जुन जोगी आए पनि कानै चिरिएको भन्छन्, तपाईंका त्याग र तपस्या त्यतिकै सकिएला भनेर भनेर सोधेकी पनि थिएँ । उहाँले तपाईं निश्चिन्त हुनुहोस्, हामी जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने हो, हाम्रो एजेन्डा नै त्यही छ भन्नुभयो । जनताप्रति एउटा जिम्मेवार नेताका रूपमा उहाँलाई मैले पाएँ ।

आफ्नो पार्टीमा आउने अफर पनि दिनुभयो कि ?

–आफर दिने लिनेभन्दा पनि सामान्य भेट हो । त्यसैको रूपमा बुझिदिन अनुरोध गरेँ ।

अचेल तपाईं राप्रपाको क्रियाकलापमा देखिनुहुन्न, राप्रपा छोडेको हो र ?

–छाडेको छैन । अहिले पार्टीका कार्यक्रम त्यति छैनन् । एजेन्डासहित हामीलाई जनतामा जाने, घुलमिल गर्ने गरेर अध्यक्षहरुले परिचालन गर्न सकेका छैनन् । म निष्क्रिय भएको होइन । पार्टीभित्रका अध्यक्षहरू सक्रिय नभएका हुन् । अहिले सचिवालय मात्र चलाएर त देश बन्दैन, जनताको साथ पाइन्न । उहाँहरुले पहिले बुझ्नु पर्यो ।

राप्रपामा सँगै प्रवेश गर्नुभएको कोमल ओली पार्टी परिवर्तन गरेर सांसद भइसक्नुभयो । तपाईं राप्रपामा लागेर पछि पर्नुभयो । पछुतो छ कि छैन ?

– छैन, छैन । राजनीतिमा मलाई कुनै हतारो छैन । सिक्दै जाने हो । आफूले गर्ने राजनीतिमा मप्रति कसैबाट पनि औँला नउठोस् भन्ने रहेको छ । अर्काे इच्छा जनताको मत लिएरै माथि जानेछ । म युवा नै छु । कोमल दिदी मभन्दा धेरै सिनियर हुनुहुन्छ । उहाँ सांसद हुनुभएको छ । खुसी छु । मैले धेरै सिक्न बाँकी छ । जनतासँग बुझ्न बाँकी छ । त्यो गर्दैछु । माथि जानेले जनताका लागि अहिलेसम्म के गर्न सकेका छन् र म हतारिनु पर्यो ? मेरा लागि त्यहाँ जानु ठूलो कुरो होइन । त्यहाँ पुगेर गर्ने एक्सन ठूलो कुरो हो । म त्यहाँभन्दा बाहिर बसेर पदबहाल व्यक्तिले भन्दा राम्रो काम जनताका लागि गरिरहेकी छु ।

विवाहको हल्लाले त म हैरान भइसकेँ । केही अनलाइन मिडियाले हावाको भरमा विवाहको समाचार बनाएछन् । त्यो हेरेर मलाई स्क्रिन सर्ट पठाएर, फोनबाट सोध्ने कति कति । जवाफ दिँदादिँदा दिक्क भइसके । कतिले त समाचार सेयर गर्दै हार्दिक बधाइ समेत लेखेका छन् । विवाहको विषयमा फैलिएको हावा समाचारले म इरिटेट भइसकेँ ।

अहिलेको राजनीतिक अस्थिरतालाई कसरी व्याख्या गर्नुहुन्छ ?

–व्याख्या गर्न सक्ने राजनीति छैन । राजनीति के हो भन्ने अहिले बल्ल देखिएको छ । यो बाहिरी शक्तिको चलखेल भन्ने हल्ला सुनिन्छ । ओलीजीको कन्फिडेन्ट र अर्काे पक्षको विचार फरक फरक छन् । यो भनेर भन्नसक्ने अवस्था छैन ।

अहिलेका ठूला पार्टीबाट पनि अफर आएका होलान् ?

–अफर त आउने गरेका छन् । सोचेको र हामफाल्ने विचार छैन ।

अब प्रसङ्ग बदलौँ, बाहिर विवाहको हल्ला छ नि ?

–विवाहको हल्लाले त म हैरान भइसकेँ । केही अनलाइन मिडियाले हावाको भरमा विवाहको समाचार बनाएछन् । त्यो हेरेर मलाई स्क्रिन सर्ट पठाएर, फोनबाट सोध्ने कति कति । जवाफ दिँदादिँदा दिक्क भइसके । कतिले त समाचार सेयर गर्दै हार्दिक बधाइ समेत लेखेका छन् । विवाहको विषयमा फैलिएको हावा समाचारले म इरिटेट भइसकेँ । यस विषयमा अहिले क्लियर पार्छु । विवाह गर्न लागेको होइन ।

हावा नचली पात हल्लिन्छ र भन्या ?

–धेरै हिरोइनको विवाह भइसक्यो । त्यही भएर पनि हावाका भरमा समाचार बनेका होलान् । कतिपय मेरो विवाहको हेडलाइन बनाएका समाचार खोलेर हेर्दा भित्र अर्कै समाचार हुन्छन् । खै यो कस्तो पत्रकारिता मैले बुझ्न सकिनँ ।

विवाहको सोच चाहिँ छ कि छैन त ?

–अहिले विवाह नै गर्छु भन्ने सोच चाहिँ छैन । लेखेको रहेछ भने विवाह हुन्छ । गर्नुपर्छ भन्ने मनस्थितिमा चाहिँ अहिले छैन ।

म आर्थिक हिसाबले ‘सेटल्ड’ भएको महिला हुँ । एक्लै जीवन चलाउन सक्ने सामर्थ्य राख्छु । खालि जीवनसाथी छैन भन्ने कुरो मात्र हो । विवाह गर्नैपर्छ भन्ने पनि छैन । यसको अर्थ म विवाह विरोधी पनि होइन । गर्नैपर्छ भन्ने मनस्थिति बोकेर हिँडेकी पनि छैन ।

फिल्म अभिनयका लागि तौल घटाएको कुरा के हो ?

–फिल्म त आफ्नै लागि हो । मैले २० केजी तौल घटाएँ । केही अगाडिसम्म ७० किलो थिएँ, अहिले ५० मा झरेकी छु । त्यसका लागि खाना, एक्सरसाइज लगायत धेरै चिजमा मिहिनेत गरेकी छु । तौल घटाएपछि झन् राम्री भएकी छु । पहिलेका पहिरन कुनै पनि ठीक हुँदैनन् ।

कलाकारको जीवन र क्रियाकलापबाट सर्वसाधारणले सिक्ने गर्दछन् । विवाह नगरी यतिकै बस्दा समाजमा नकारात्मक सन्देश जाँदैन र भन्या ?

– म आर्थिक हिसाबले ‘सेटल्ड’ भएको महिला हुँ । एक्लै जीवन चलाउन सक्ने सामर्थ्य राख्छु । खालि जीवनसाथी छैन भन्ने कुरो मात्र हो । विवाह गर्नैपर्छ भन्ने पनि छैन । यसको अर्थ म विवाह विरोधी पनि होइन । गर्नैपर्छ भन्ने मनस्थिति बोकेर हिँडेकी पनि छैन ।

कलाकार, निर्माता र निर्देशक तीन भूमिकामा क्रियाशील हुनुहुन्छ । कुन विधा गहन लाग्छ ?

–तीनमध्ये सबैभन्दा निर्देशन बढी गहन विधा हो । कलाकारिता प्रत्येक पल सिक्दै र गर्दै पनि आएँ । अहिले पनि त्यो क्रम जारी छ । निर्देशनमा सिक्ने भन्ने हुँदैन । क्रिएसन गर्नु सक्नुपर्छ । क्रिएसन गाह्रो विषय हो । निर्माताको जिम्मेवारी पनि गाह्रो छ । फिल्म निर्माणदेखि प्रदर्शन गरेर लगानी उठाउनसम्म धेरै चुनौतीको सामना गर्नुपर्छ ।

सधैँ चर्चामा रहेको व्यक्ति, अहिले चर्चाभन्दा बाहिर रहँदा कस्तो फिलिङ हुन्छ ?

–चर्चाको केन्द्रविन्दुमा रहरिहनुपर्छ भन्ने मेरो मान्यता होइन । करिब ७, ८ वर्षदेखि मैले बिस्तारैबिस्तारै ट्र्याक चेन्ज गरेर आइरहेकी छु । पहिले पनि मिडियामा छाइरहनुपर्छ भन्ने लाग्दैन थियो । कामले छाउँथे । चर्चाका लागि त्योअनुसारको कन्टेन्ट पनि हुनुपर्यो ।

नयाँ पुस्ताले रेखालाई छायाँमा पारे भनिन्छ त ?

–होइन, होइन । त्यो भन्न मिल्दैन । करिब २० वर्ष हुन लाग्यो । मभन्दा अगाडिका कलाकार पनि अहिले त्यतिकै सक्रिय छन् । म आउँदा उहाँहरु हराउनु भएन । अहिले छायाँमा रहनु मेरो रोजाइ हो । मलाई दर्शकले एउटा राम्रो लेभलमा पुर्याउनुभएको छ । त्यही स्तरमा उहाँहरुको हेर्ने सोच हुन्छ । त्यसैले जे पनि, जता पनि काम गरेर बिजी आफूलाई राखिनँ । म्युजिक भिडियो खेलेर चर्चामा आउन मलाई आवश्यक पनि छैन । प्रत्येक दिन दर्जन म्युजिक भिडियो, रियालटी सोको जज लगायत थुप्रै अफर आउने गरेका छन् । तर मैले काम गरेकी छैन । एक समय कुनै महिनामै ५, ६ वाटा फिल्मसम्म रिलिज हुन्थ्यो । म सबैतिर छाउँथे । अहिले फिल्म छैन । त्यसैले अन्तरवार्ता दिइरहेकी छैन । जसलाई पायो त्यसलाई अन्तरवार्ता दिएर पनि हिँड्दिनँ ।

पछिल्लो समय फिल्म क्षेत्रमा खुट्टा तान्ने, गुटबन्दी लगायत विकृति देख्न सकिन्छ । के यो ठीक हो ?

–यस्तो क्रियाकलाप पहिले पनि हुन्थ्यो । म फिल्म क्षेत्रमा नआउँदै सुनेको थिएँ । यो एक किसिमको परम्परा हो । यसमा परेर प्रतिभावान् कलाकार पनि पछिपरेका छन् । प्रतिभा कम भएका केही माथि आएका छन् । यो सामान्य हो ।

अब फेरि नेपाली फिल्मको माहोल कसरी फर्काउने होला त ?

–तत्काल त्यो सम्भव देख्दिनँ । फिल्म निर्माण गर्ने, फिल्ममा हलमा दर्शक आउने वातावारण छैन । सबैतिर आर्थिक मन्दी छ । यसका लागि सरकारले ठूलै कदम चाल्नुपर्छ ।

दर्शकले रेखाको नयाँ फिल्म कहिले हेर्न पाउने ?

–वैशाखबाट फिल्म छायाङ्कन गर्ने तयारी भइरहेको छ । कदमै कन्फ्युजमा छु, गरौँ कि नगरौँ । फिल्म त बनाइएला, हलमा मानिस आउने हुन् कि होइनन् । अहिले तयार फिल्म रिलिज हुन पाएका छैनन् । केही फिल्म रिलिज हुँदैछन् । त्यसको नतिजा हेरेर अगाडि बढ्ने नबढ्ने डिसिजन गर्छु ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...