तितोपाटी- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले सरकारलाई आफ्नो पार्टीले सघाउन नसक्ने बताएका छन् । उनले ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै उनले आफूहरुको माग पूरा गरेपनि धन्यवाद दिन सकिने तर सत्ता सहकार्य गर्न नसकिने स्पष्ट पारे ।
माओवादी केन्द्रसँग शनिबार कोटेश्वर पेरिसडाँडामा भएको छलफलपछि उनले ओलीले आफूहरुको माग पूरा पनि नगर्ने र गरिहालेछन् भने धन्यवाद मात्रै दिन सकिने बताए । उनले रेशम चौधरीको रिहाइ, मधेसका आन्दोलनका क्रममा सहभागीमाथि लागेको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका आफूहरुको माग रहेको जानकारी दिए । उनीहरुको माग र सत्ता सहकार्यबारे शनिबार दुई दलबीच छलफल भएको र वार्ता सकारात्मक बनेको बताइएको छ ।
दुई दलको बैठकपछि ओली सरकारको विकल्पमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको छ । रातोपाटीबाट