Wednesday 24th April 2024

मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो


राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो।

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरु गरिएको हो। सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना। त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ। पहिलो चरणको पानी भने फोहोर भएकाले बागमतीमा मिसाइएको छ ।

१२ दिन अगाडि खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको हो। अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

यसअघि असार २१ गते पहिलो पटक सुरुङ परीक्षण गरिएको थियो। त्यसको नौ दिनमा असार ३० गते १७ नम्बर गेटको ढोका फुटेर आयोजनाका कर्मचारीको मृत्यु भएको थियो। उक्त दुर्घटनापछि प्राविधिक रूपमा अध्ययन गरी पूर्णरूपमा मर्मत गरेर सुरुङ परीक्षण गरिएको आयोजनाले जनाएको छ।

आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्ने गरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो। उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो। उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको हो।

उपत्यकावासीको लामो सपना पूरा भयो : ओली

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए । ‘मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ”, उनले भने ।

विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उनले सुनाए। दोस्रो चरणमा याङ्री र लार्केको पानीसमेत ल्याएर उपत्यकामा खानेपानीको समस्या समाधान गरिने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे ।

अहिलेको परीक्षणका क्रममा २६० लिटर मात्र हालिएकामा फागुन २६ गते पानीको मात्रा बढाएर महाशिवरात्रिमा स्नानका लागि वाग्मतीमा स्वच्छ पानी बगाउने योजना पनि उनले सुनाए । ‘पार्टीकै मानिस प्रत्यक्ष ११६ सिट जितेको आफ्नो नेतालाई हटाएर २३ सिट जितेको नेपाली कांग्रेसकामा निवेदन हाल्न गएका छन्’, समसामयिक विषयमा राजनीतिक टिप्पणी गर्दै ओलीले भने ।

खानेपानी मन्त्री मणिचन्द्र थापाले नेपाली जनताको खानेपानीको सपना २२ वर्षपछि राजधानीमा मेलम्चीको पानी आएर पूरा भएको बताए । ‘२२ वर्षका बीचमा व्यवस्था एवं सरकार परिवर्तन भएपनि मेलम्चीको सपना पूरा भएको छ, कृष्णप्रसाद भट्टराईको पालामा सुरु भएको मेलम्ची आयोजना केपी शर्मा ओलीको पालामा सम्पन्न भएको छ, सुरुङमा पानी हालेर सफल परीक्षण भएको छ, चैत दोस्रो साता उपत्यकावासीका लागि मेलम्चीको पानी धाराबाट वितरण गरिन्छ’, उनले भने । मेलम्ची आयोजना सम्पन्न गर्न लाग्ने सबै पक्षलाई मन्त्री थापाले धन्यवादसमेत दिए ।मन्त्रालयका सचिव माधव बेल्वासेले मेलम्चीको पानी कोशी जलाधारबाट वाग्मती जलाधारमा आउनु ठूलो उपलब्धि भएको बताए ।

मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साँढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ । प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ । अर्को एक पानीपोखरी हाल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

इलाम क्षेत्र नम्बर- २ मा वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसारको आज अन्तिम दिन रहेको छ । आज…

कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई दिने राजकीय भ्रमणका लागि हिजो दिउँसो काठमाडौं…

गर्मी मौसममा मानिसहरु राहत पाउन विभिन्न प्रकारका तरल पदार्थको सेवन गर्छन् । यसै सन्दर्भमा आज हामी तपाईलाई ५ प्रकारका जुसको…

प्रतिकृयाहरू
...