Sunday 12th April 2026

मृत आमाको अँगालोमा थिए १३ महिने बालक


फागुन ८ गते बिहान २७ वर्षीय हिमाल थामीले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे। घटना भएको करिब डेढ घण्टापछि आफन्त र छिमेकीले बिहान साढे २ बजे २१ वर्षीया सुनिता थामीलाई मृत अवस्थामा फेला पारे।

सो बेला सुनिताको अँगालोमा थिए १३ महिने काखे छोरा रिहान थामी। सुनितालाई उद्धार गर्दा ती अबोध बालक निद्रामै थिए। अभिभावक चिन्न नसक्ने उमेरका उनलाई आमाको रक्ताम्य शवबाट उद्धार गरिएको आफन्तले बताए। श्रीमतीको मृत्यु भएको पुष्टि भएपछि भागेका हिमाललाई घरबाट करिब १५ किमि टाढाबाट प्रहरीले नियन्त्रणमा लियो। उनी ६ दिनयता प्रहरी हिरासतमा छन्।

दलबहादुर र धनमायाका सात सन्तानमध्ये हिमाल एक्लो छोरा हुन्। सुनिताको हत्यापछि १३ महिने रिहान टुहुरो मात्र भएनन्, हजुरबुबा हजुरआमाबाट पाउनुपर्ने माया ममताबाट समेत वञ्चित छन्। कारण हो, कुसंस्कार। रिहान गत वर्षको माघमा जन्मिए।

थामी संस्कारअनुसार माघमा जन्मिएको बच्चा मुल्याहा अर्थात् अरूलाई पीडा दिने वा पिर्ने अन्धविश्वास छ। यही बुझाइले जन्मिएदेखि नै रिहान बाजे र बज्यैको माया प्यारबाट बञ्चित छन्। अवोध रिहान अभिभावकविहीनझैं भएका छिमेकी बताउँछन्। करिब चार वर्षअघि आत्महत्या गरेको भनिएकी जेठी बुहारीले पनि माघमै नाति जन्माएकी थिइन्।

रिहान अहिले फुपू कौशिला थामीको शरणमा रहेका कालिञ्चोक गाउँपालिका–६ लापिलाङका वडाध्यक्ष मानसिंह थामीले जानकारी दिए। हिमालकी जेठी श्रीमतीबाट जन्मिएका चार वर्षीय छोरा पनि कौशिलाकै शरणमा छन्। छोरा हिमालले खुकुरी प्रहार गरेर सुनिताको हत्या गरेको देखेपछि आमा धनमायाले छिमेकीलाई खबर गरेकी थिइन्।

दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले आफ्नै नेतृत्वमा अभियुक्तलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको बताए। जघन्य अपराध अन्तरगत कर्तव्य ज्यानको मुद्दामा आवश्यक अनुसन्धानको लागि अभियुक्तलाई दोलखा अदालतबाट १० दिनको म्याद लिएको उनले जानकारी दिए।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...