Thursday 28th March 2024

इजरायलमा राेजागारीकाे आवेदन फागुनको दोस्रो साता, सफ्टवेयर तयार


तितोपाटी- सरकारले रोजगारीका लागि इजरायल जान चाहने नेपालीको लागि यही फागुनको दोस्रो हप्ताभित्र आवेदन खोल्ने तयारी गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको बताउदै आवेदन खुला गर्ने तयारी भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

फागुनको पहिलो हप्ता आवेदनको ढाँचा पूरा गरि दोस्रो हप्ता भित्रमा मन्त्रालय सँग छलफल गरि आवेदन खोल्ने गृहकार्य भईरहेको महानिर्देशक दाहालले बताउनुभयो । इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकोले विभागले पनि त्यसैअनुसार काम गरिरहेको उहाँले बताउनुभयो ।
रोजगारीको लागि इजरायल जान इच्छुक कामदारले आवेदन खुला भएपछि आफै घरबाटै आवेदन दिन सक्नेछन् । विभागले आवेदनको ढाँचा तयारी गर्ने काम अन्तिम चरणमा पुगेको बताएको छ ।आवेदन खुलेसंगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।
ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन् । इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी नगराएकोले दुई देश बीचको (जिटुजी) बाट नेपाली इजरायल जानेछन् । यसअघि भएको छलफलअनुसार पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभागको भनाइ छ ।
मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्
वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको हो ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो । इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजी क्षेत्रको कुनै भूमिका नरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँकाअनुसार वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजी क्षेत्रको कुनै हात हुँदैन । इजरायल जाँदा कुनै शुल्क नलाग्ने विभागले बताएको छ । इजरायल जानु अघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, विमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसा बाहेक अरु कुनै शुल्क लाग्दैन ।
रोजगारीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरु कुनै बिचौलीयाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । कसैले इजरायलको रोजगारीमा पठाउँछु भनेर पासपोर्ट र पैसा माग्ने गरेको भए विभागमा सम्पर्क गर्नुहुन विभागले अनुरोध गरेको छ ।
नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको थियो । – साभार गोरखापत्रअनलाइन


सम्बन्धित शीर्षकहरु

जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी…

ग्लोबल आइएमई बैंक र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त…

"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग साहित्य समाज वर्ष ३…

प्रतिकृयाहरू
...