Wednesday 18th March 2026

कुवेतमा बेपत्ता बुवाको खोजी गरिदिन नेतादेखि मन्त्रालय सम्म धाउँदै छोरा


तीतोपाटी – तीन महिनाअघि लक्ष्मी साह कुुवेतको एउटा बजारमा तरकारी किन्दै थिए । त्यसैबेला नेपालको सप्तरीस्थित घरबाट परिवारले उनलाई फोन गरे । साह तरकारी किनेर आफ्नो आवास थलोतिर जादैँ थिए । फोनमा उनले ‘पुलिस पुलिस’ भने र आफूले रुममा पुगेर फोन गर्ने बताएर फोन काटिदिए । त्यसदिनदेखि आफ्नो परिवारलाई ४९ वर्षीय साहले फोन गरेका छैनन् । परिवारले फोन गर्दा मोबाइल स्विच्ड अफ छ।

त्यो १९ नोभेम्बरको दिन थियो।

त्यसो भए कहाँ हराए साह ?

सम्पर्कविहिन भएका साहलाई धुइँपत्ताल गरी खोजिदिन ठाउँ ठाउँ बिन्ती बिसाउदैं हिंडिरहेका छन्,साहका जेठा छोरा २४ वर्षका ब्रिजेशकुमार । मिडियाको सम्पर्कमा आएका ब्रिजेशले ‘जतिसुकै माथिल्लो निकायमा जान परोस म जान्छु,मेरो बुवा कहाँ कुन हालतमा हुनुहुन्छ पत्ता लगाएरै छाड्छु’ भनेका छन् ।

ब्रिजेसले विमलेन्द्र नीधि,राजेन्द्र महतो,समीम मिया अन्सारी देखि अनेक ब्यक्तिहरुलाई भेटेर आफ्नो बुवाको स्थिती पत्ता लगाइदिन कुवेतस्थित नेपाली दूतावासलाई दवाव दिन आग्रह गर्दै आएका छन् । उनको भनाई छ,‘तीन महिनादेखि घरमा आमा र भाईको बेहाल छ,जतिसक्दो चाँडोभन्दा चाँडो बुवाको अवस्थाबारे थाहा पाउन सके,एउटा निचोडमा पुग्न सक्थ्यौ ।’

विगत ८ वर्षदेखि कुवेतमा कार्यरत साह तीन वर्षअघि बिदामा घर आएका थिए । उनको घरमा श्रीमती र दुई छोरामात्र छन् । कान्छो छोरा पनि २० वर्षको लक्का जवान भइसकेको छ । जेठी छोरीको भारतको राजधानी नयाँ दिल्लीमा बिहे भएको छ । बिदा सकिएपछि साह फेरि कुवेत फर्किएका थिए । जेठा छोरा ब्रिजेशका अनुसार,बुवामा कुनै नशा गर्ने बानी थिएन,कसैसँग लडाई झगडा गर्ने स्वभाव पनि थिएन । घरमा पनि नियमित रुपमा पैसा पठाइरहन्थे।

साह परिवारको दैनिकी सरल रुपमा चल्दै थियो । तर जसै साह हराए,परिवारको लय पनि बिग्रियो ।

कुवेतस्थित नेपाली राजदूतावासले साहको खोजी नगरेको होइन । कतै जेल पो परे कि ? भन्दै सोधपुछ गर्यो । साह कार्यरत कम्पनीमा पनि बुझ्ने काम राजदूतावासले गर्यो । प्रहरीमा पनि रिपोर्ट गरयो तर पक्राउ रेकर्ड अहिलेसम्म नभेटिएको कुवेतसस्थित नेपाली राजदूतावासकी द्वित्तीय जानकी ओझा बताउँछिन । ओझाका अनुसार,‘साहको बारेमा कुनै ठोस सूचना पाउन सकेका छैनौ,यहाँको सरकारसँग समन्वय गरेर साहको खोजी जारी राखेका छौँ ।’

तर सचिव ओझाको यो जवाफसँग बिज्रेश असन्तुष्ट छन् । भन्छन्, ‘मेरो वुवाको खोजीमा कुवेतस्थित नेपाली दूतावासले खासै चासो देखाएन ।’ यही कारण हुनसक्छ दूतावासलाई दवाव दिन मंगलबार काठमाडौंस्थित परराष्ट्र मन्त्रालयसम्मै पुगेर आफ्नो वुवाको खोजी गरिदिन अनुनय गरेका छन् ।

२७ जनवरीमा कुवेतबाट आएको एउटा खबर अलि संशयपूर्ण थियो । त्यहाँको अब्दालीस्थित मरुभूमिबाट करिब दुई किलोमिटर पर एउटा मानव कंकालको अवशेष भेटिएको पुष्टि स्थानीय प्रहरीले गर्यो । निर्ममतापूर्वक हत्या गरिएको उक्त कंकाल बालुवाले ढाकेको अवस्थामा जंगली कुकुरले भेटेको थियो । दुखद कुरा ! कुवेतको प्रहरी अनुसन्धान निकायले पुष्टि गरे अनुसार,उक्त कंकालको अवशेष नेपालीको थियो।

तर, त्यो अवशेष नेपालीकै हो भन्ने बारे कुवेतको अपराध अनुसन्धान निकायले प्रष्ट पारेको छैन । यदि त्यो अवशेष नेपालीकै थियो भने ती नेपाली को थिए ? प्रहरीले केही खुलाएको छैन । नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले भने,‘उक्त अवशेष नेपालीको भएको भनिए पनि कसको हो भन्ने कुराको फरेन्सिक ल्याबको रिपोर्ट आइसकेको छैन,हामीलाई आधिकारिक रिपोर्ट आएपछि मात्र यसबारे केही भन्न सक्छौं ।’

फेरि एक पटक ब्रिजेशलाई भेटौँ ।

के ब्रिजेशले कुवेतमा भेटिएको उक्त कंकालको अवशेषबारे केही सुनेका छन ?

‘हो,मैले सुनेको छु,त्यो कंकाल हराइरहेको मेरो बुवाको त होइन भन्ने आशंका पनि रहेछ,’भारतको पटनास्थित स्वास्थ्य संस्थामा कार्यरत बिज्रेशले भने,‘म निश्चिन्त छु, त्यो कंकाल हराईरहेको मेरो बुवाको होइन ।’

-प्रवास खबर


सम्बन्धित शीर्षकहरु

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ महाधिवेशनबाट जम्बो कार्यसमिति घोषणा गरिएको छ। एकताको सन्देशसहित सम्पन्न महाधिवेशनले सबै पक्षलाई समेट्ने उद्देश्यले जम्बो…

वैदेशिक रोजगारीको शिलशिलामा मध्यपूर्वको देश साउदी अरेविया पुगेका दोलखाका तिलक बहादुर थामी अहिले मृगौला पीडित बनि स्वदेश फर्केका छन् भने…

प्रतिकृयाहरू
...