Thursday 27th August 2026

भाइरल बालक सचिनको यात्राः हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म


नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्यूजिक भिडियोमा टिकटकमा राम्रो फलोअर्स कमाएका अनुहारदेखि सामाजिक संजाल र युटुबमा भाइरल भएका व्यक्तिहरु देखिने गरेका छन् ।

पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा छन् । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन । ‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।

सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो । उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो । उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।

उनै सचिनले ‘इन्द्रेणी’कार्यक्रममा पुगेर बालगायिका आयुषा गौतमसँग रमाइलोका साथ गीत गाए ।

लगत्तै सचिन परियारको पहिलो गीत भनेर सार्वजनिक भयो, ‘ओठ खोलेर’ । सचिन परियारसँगै अर्की बाल गायिका रबिना बसेल लगायतको स्वर रहेको गीतलाई युटुबमा राम्रै दर्शकले हेरे । हालसम्म यो गीतको भिडियोलाई ६७ लाख बढी पटक हेरिसकिएको छ । भिडियोमा सचिनलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । लोकदोहोरीमा चलेकी मोडल करिष्मा ढकाल लगायतले भिडियोमा अभिनय गरेका छन् ।
त्यसपछि सचिनको दोस्रो गीत सार्वजनिक भयो, ‘रातो रबर’ । सचिन र रबिना बसेलको स्वर रहेको गीत सार्वजनिक भएको एक सातामा युट्युबमा ११ लाख बढीले हेरेका छन् । अहिले यो गीत युटुब ट्रेन्डिङको पाँचौ स्थानमा छ ।

यसअर्थमा, सचिन अहिले ट्रेन्डिङको अग्रपंक्तिमा छन् । सचिनले ‘ढाका चोली’बोलको गीतको भिडियोमा अभिनय गरे । यस्तै सचिनले अभिनय गरेको अर्को भिडियो ‘रुमाल खस्छ की’ पनि सार्वजनिक भयो । गतवर्ष युट्युबमा भाइरल होचो कदकी मुना मगर र सचिनको अभिनयमा सार्वजनिक गीतलाई पनि युटुबमा ६ लाख भन्दा बढी पटक हेरिएको छ ।

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग काम गर्ने सपना धेरैको हुन्छ । तर, सचिनले यो सपना पुरा गर्नका लागि लामो समय पर्खिनुपरेन । भाइरल बालक सचिनसँग हमालले पनि कम्मर मर्काए । भिडियोमा सचिनले राजेश हमालको ‘हे…’ बोलको संवाद समेत बोलेका छन् ।

‘बरको छायाँले’बोलको गीतमा सचिनले राजेशसँग अभिनय गरेका हुन् । यो गीतको भिडियो सार्वजनिक भएको तीन दिनमात्र भयो । तीन दिनमा भिडियोलाई युटुबमा ९ लाख भन्दा बढीले हेरेका छन् । यो भिडियोले पनि ट्रेन्डिङमा कब्जा जमाएको छ । रोचक कुरा त के भने, नायक राजेश हमालले लकडाउनपछि काम गरेका भिडियोहरुमा सबैभन्दा छोटो समयमा धेरै हेरिएको भिडियो ‘बरको छायाँले’ हो । सचिनले भिडियो मात्र होइन, हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा समेत अभिनय गरिसकेका छन् ।

अहिले युटुबमा सचिन मात्र छन् भन्दा हुन्छ । जुन, केही महिना अगाडि अरु कसैको नाममा थियो । सचिनलाई म्यूजिक भिडियो निर्माताहरुले भाइरल बालकको रुपमा मात्र प्रयोग गर्छन् या उनको प्रतिभालाई चिनेर अगाडि बढाउँछन् त्यो केही समयमै देखिनेछ । तर, सचिनको चर्चा के सधै यसरी नै होला त ? कि सचिनको ठाउँ केही महिनामै अर्को भाइरल व्यक्तिले लिनेछन् ? यो भने मुख्य प्रश्न हो ।

-अनलाइन खबरबाट


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...