Friday 5th September 2025

प्रचण्डलाई ओलीको कटाक्ष- तिल्के गोरूको सिङ फुस्किसक्यो, फाँफाँ–फूँफँ नगरे हुन्छ


प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको समूहलाई सिङ फुस्किएको तिल्के गोरूको संज्ञा दिएका छन्।दाङ देउखुरीमा ओली समूहको सभालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि चिजको जमाना हुने भन्दै आज प्रचण्ड सिङ फुक्लिएको तिल्के गोरू जस्तै अवस्थामा पुगेको बताएका हुन्। प्रधानमन्त्री ओलीले तिल्के गोरुको कथा भनेर प्रचण्डमाथि कटाक्ष गरे।

‘एउटा तिल्के गोरू थियो, त्यो गोरूले अर्को गोरू देख्नै नहुने, झम्टिहाल्ने, सिंगौरी खेल्ने, भूँई खोस्रिने, होक्काहाँ गर्ने। अनि त्यसको फाँफाँ फू फू देखेर अरू गोरू डराउँथे,’ प्रधानमन्त्री ओलीले भने, ‘एकदिन अलि नटेर्ने खालको बहर परेछ, घड्याप्प जुधेको सिंङ भाँच्चिएछ। रिस त उठेको थियो, तर के गर्ने सिङ भाँच्चिएको छ । यी तिल्के पनि यस्तै हुन् । फाँ–फू गर्दै गर्छन् सिङ फुक्लिसके।’

उनले सिङ भाँच्चिएको तिल्के गोरूझै प्रचण्डसँग अशान्ति मच्चाउने क्षमता र दम दुवै नभएको टिप्पणी गरे।‘यीनका सिंङ फुक्लिसके अब धाक नलाए हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यिनिहरूसँग अब अशान्ति मच्चाउने क्षमता पनि छैन र दम पनि छैन,  केही गर्न सक्दैनन्।’

नेपाली जनता सचेत भइसकेको हुँदा धाक धक्कु नलगाउन र तिघ्रा नठटाउन उनले चेतावनीसमेत दिए। ‘जनता सचेत भइसके। अब यिनले केही पनि गर्न सक्दैनन् । धाकधक्कु नलगाए हुन्छ, तिघ्रा नटठाए हुन्छ,’ ओलीले भने, ‘अब खुट्टा फ्याट–फ्याट नपारे हुन्छ कोहीले टेर्नेवाला छैनन्।’

उनले केही दिन पहिले प्रचण्डले अशान्ति मच्चाउने र हिंसा भड्काउने खालले धम्की दिएको भन्दै आपत्ति जनाए। ‘शाकाहारी आन्दोलनले हुँदैन युवाहरू हो, भन्या के,’ ओलीले भने, ‘बाघ जस्तो झम्ट, कल्लाई? नेपाली जनतालाई? हिंसा खोज्या छैन रे? के खोज्या त त्यो।’

उनले पिलो निचोरिँदैमा तौल नघट्ने बरू हाईसञ्चो हुने बताए।  दुई-चार जना देशलाई माया नगर्ने र जनताको भलो नचाहने आत्मकेन्द्रीत तथा स्वार्थी जमातले पार्टी छोड्दैमा आन्दोलन कमजोर नहुने उनले बताए। निर्वाचन रोक्न खोज्ने लोकतन्त्रवादी हुनै नसक्ने उनले जिकिर गरे।

आफू अरू जस्तो जालझेल गरेर सत्तामा नपुगेको तर्क गरे। ‘मैले जनताको मतबाट चुनिएर होइन, जालझेल र तीकडम गरेर आउँछु भन्या छु र? अरू जस्तो जस्केलाबाट आउँछु भन्या छैन,’ ओलीले भने, ‘दुई ठाउँमा हारे पनि प्रधानमन्त्री हुन आफू जस्केलाको बाटो म हिड्या छैन। त्यो बाटो म हिड्दिनँ।’

आफ्नो उद्धेश्य जनताको बीचमा जाने, जनतालाई सचेत र संगठित गराउने र जनताको साथ लिएर देश बनाउने भएको प्रधानमन्त्री ओलीले जिकिर गरे। त्यसलाई असफल पार्न केही लागे पनि आफू असफल हुँदा त्यसले माने नराख्ने भन्दै उनले देश असफल हुन नहुने र प्राप्त उपलब्धि गुम्न नदिने दाबी गरे। केही तत्वले स्थायित्व ध्वस्त गरेर अस्थिरता मच्चाउन खोजेको उनको आरोप थियो।

उनले आफूलाई कामै गर्न नदिएकाले अलिकति अगाडि बढेर प्रतिनिधिसभा भंग गरी जनताको बीचमा जाने निर्णय गरेको दोहोर्‍याए।उनले आफ्नो दलले नेकपाका कोही कसैलाई कारवाही नगरेको बताए। ‘गल्ती महसुस गरेर आउनुभएमा उहाँहरुको पद केही गरेका छैनौं,’ उनले निर्वाचन आयोगको निर्णयले पनि पार्टी नटुक्रिएको सन्देश दिएको बताए।

उनले दाङ जिल्ला विकासको नमूनाका रुपमा अघि बढेको बताउँदै सरकारले लुम्बिनी प्रदेशको राजधानीबाट प्युठानको प्रमुख धार्मिकस्थल स्वर्गद्वारीसम्म पुग्ने सडकको स्तरोन्नति गरेर राप्ती करीडोरका रपमा विकास गर्ने तथा देउखरी उपत्यका र कपिलवस्तुमा सिंचाइ सुविधासहित जलविद्युत् उत्पादनका लागि नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाइने जानकारी दिए।

प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाअन्तर्गत भालुबाङमा आधुनिक राजधानी विकास गरिने र घोराहीलाई आधुनिक औद्योगिक शहर बनाइनेसमेत बताए।कार्यक्रमलाई सम्वोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रीपरिषदले नलेखेको भए पनि संविधानमा नभए पनि प्रधानमन्त्रीसँग एउटा अविशिष्ट अधिकार रहने हुँदा प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्नु गलत तर्क भएको बताए।

‘संविधानमा त्यो कुरा नलेखे पनि आवश्यकताका आधारमा प्रधानमन्त्रीसँग संसद भंग गर्ने अधिकार हुन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘चुनाबबाट भाग्नेहरु कायर हुन। लोकतन्त्र बिरोधी हुन्।’उनले वैशाखमा हुने निर्वाचनमा नेकपाले ५० लाख लोकप्रिय मत ल्याउने र दुई तिहाईको मत प्राप्त गर्ने जिकिर गरे।उनले माओवादी र एमाले आन्दोलनबाट हारेर, थाकेर पाखा लागेकाले फेरि पार्टीमा अस्थिरता निम्त्याउन खोजेपछि प्रतिनिधिसभा भंग गर्नु परेको स्पष्ट पारे।

कार्यक्रममा खानेपानी मन्त्री मणि थापाले प्रचण्डले वैद्य, बाबुराम, बिप्लवलाई मात्रै होइन अहिले आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत धोका दिएको आरोप लगाए।प्रधानमन्त्रीलाई कू गर्न नसकेपछि अहिले प्रचण्डहरु सडकमा पुगेको र कुनै पनि हालतमा प्रतिनिधिसभा ब्यूँतिन नसक्ने उनले जिकिर गरे।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङले छियाछिया र छिद्रछिद्र बनाइएको पार्टीलाई प्रधानमन्त्री ओलीको नेतृत्वमा नयाँ शिराबाट सुध्रृढ पार्टी स्थापना गर्ने बताए। उनले प्रधानमन्त्री ओलीको नेतृत्वमा ठूला ठूला टनेल, रेल मार्ग, ठूला र काला चिल्ला बाटा निर्माणको काम तीब्र गतिमा भइरहेको बताए।त्यसघि प्रधानमन्त्री ओली राप्ती गाउँपालिका र गढवा गाउँपालिका जोड्ने राप्ती नदीमा निर्मित पुलको उद्घाटन गरेका थिए।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेत / कुवेतमा केही दिनयता घटेको विषाक्त मदिरा त्रासदीले सम्पूर्ण नेपाली समुदायलाई असह्य पीडा र स्तब्धतामा डुबाएको…

लुलु हाइपरमार्केट - मध्य पूर्वको एक अग्रणी खुद्रा ब्रान्ड, जसले गुणस्तर, सुविधा र ग्राहक सन्तुष्टिमा केन्द्रित हुँदै ताजा उत्पादन, किराना…

बुर्किना फासोको संसदले समलैंगिक कार्यहरूलाई गैरकानूनी घोषित गर्ने पक्षमा मतदान गर्‍यो बुर्किना फासोको अनिर्वाचित संक्रमणकालीन संसदले समलैंगिक कार्यहरूलाई प्रतिबन्ध लगाउने…

प्रतिकृयाहरू
...