Sunday 28th June 2026

विदेशी प्राविधिक ल्याउन कूटनीतिक पहल गरिने


तितोपाटी- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पर्यटन मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्री ढकालले पहिलो पटक उक्त विमानस्थलको निरीक्षण गर्नुभएको हो ।

त्यस अवसरमा उहाँले उपकरण जडानको काम पूरा गर्न विदेशी प्राविधिक आउनैपर्ने भन्दै यसका लागि सरकारले कूटनीतिक पहल गरिरहेको बताउनुभयो । “विदेशबाट प्राविधिक आउने कुरा सरकारले मात्रै चाहेर हुँदैन तर छिटो ल्याउने विषयमा कूटनीतिक पहल भइरहेको छ,” मन्त्री ढकालले भन्नुभयो ।
छिटै नै विदेशी प्राविधिक ल्याएर निश्चित समयमा उपकरण जडानको काम पूरा गरी विमानस्थल सञ्चालनयोग्य बनाउने उहाँको भनाइ छ । विमानस्थलको काम अन्तिम चरणमा पुगे पनि प्राविधिक जनशक्तिको अभावमा काम रोकिनुले अप्ठ्यारो भएको भन्दै उहाँले आयोजनालाई छिटो प्राविधिक ल्याउनेतर्फ ठोस पहल गर्न निर्देशन दिनुभयो ।
“प्राविधिक ल्याउनका लागि आयोजनाले नै पहल गर्नुपर्ने हो, सरकारले आफ्नोतर्फबाट गरिराखेको छ, अब कुनै पनि बहाना देखाएर विमानस्थलको काम लम्ब्याउनु हुँदैन,” मन्त्री ढकालले भन्नुभयो ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले आर्थिक वर्ष २०७५/७६ मा ७४ प्रतिशत, २०७६/७७ मा ९१ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को यो अवधिमा ९३.८ प्रतिशत विमानस्थलको प्रगति रहेको बताउनुभयो ।
विदेशी प्राविधिक नआएकाले यही डिसेम्बर ३१ मा सकिएको विमानस्थल निर्माणको अवधिपछि अर्को म्याद थपिएको छैन ।
विमानस्थल विस्तार आयोजनाले पाँचौँ पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाएको छ । “अहिले ९५ प्रतिशत उपकरण फिल्डमा आइसकेका छन्, म्याद सकिए पनि काम रोकिएको छैन,” आयोजना प्रमुख अधिकारीले भन्नुभयो ।  सबै उपकरण आइसके पनि फग लाइट, एक्स–रे मेसिन, कन्भियर बेल्ट, धावन मार्गका लाइट, भीएमआर–डीएमई सञ्चार उपकरण, एअर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानका लागि चिनियाँ, अमेरिका, अस्ट्रियाली र थाइल्यान्डका प्राविधिक आउनुपर्ने छ । आयोजना प्रमुख अधिकारीका अनुसार प्राविधिक जनशक्ति आएको दुईदेखि तीन महिनामा विमानस्थलको सबै काम पूरा हुन्छ ।


सम्बन्धित शीर्षकहरु

चीनले मौसमी व्यापारका लागि तिब्बतको Taklakot (पुराङ/बुराङ) प्रवेश गर्न २१२ जना नेपाली व्यापारीलाई अनुमति दिएको छ। यो अनुमति विशेष गरी…

– आकर्षक छुट र प्रविधिसम्बन्धी अन्तरक्रियात्मक अनुभवहरू सहित लुलु हाइपरमार्केटले आफ्नो बहुप्रतीक्षित वार्षिक प्रविधि प्रवर्द्धन कार्यक्रम “लेट्स कनेक्ट” (मोटोरोला प्रायोजित)…

ट्राफिक प्रहरीले कालो सिसा (dark tinted glass) प्रयोग गर्ने सवारीसाधनमाथि देशव्यापी अभियान सञ्चालन गर्दै ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।…

प्रतिकृयाहरू
...