Friday 26th April 2024

बिनाअनुमति जी-न्यूज टिमलाई सगरमाथा उडाउने सिम्रिक एयरसँग स्पष्टीकरण सोधिने


रविन्द्र शाही -भारतीय समाचार च्यानल जी-न्यूजका प्रधान-सम्पादक सुधीर चौधरीले बिनाअनुमति सगरमाथा क्षेत्रमा गएर छायांकन गरेकोबारे राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागले सिम्रिक एयरसँग स्पष्टीकरण सोध्‍ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिन आएका चौधरीले अनुमति नै नलिई सगरमाथा क्षेत्रमा गएर छायांकन गरेको भिडिओ रिपोर्ट मंगलबार राति प्रसारण गरेका थिए। उनले सगरमाथा क्षेत्रमा जान सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेका थिए।

‘कुनै पनि व्यक्तिले राष्ट्रिय निकुञ्‍ज क्षेत्रमा गएर छायांकन गर्दा अनुमति लिनुपर्छ, तोकिएको शुल्कसमेत तिर्नुपर्छ,’ विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बुधबार सेतोपाटीसँग भने, ‘जी-न्यूजको टिमलाई हामीले त्यस्तो कुनै किसिमको अनुमति दिएका छैनौं।’

जी-न्यूजले सगरमाथा क्षेत्रमा छायांकन गरेको भिडिओ प्रसारण गरेपछि मात्र यसबारे थाहा पाएको उनले बताए। ‘हामीले यसबारे सगरमाथा राष्ट्रिय निकुञ्‍ज, यहीँको कार्यालय र अरू सबै सरोकारवाला निकायहरूसँग सोधपुछ गर्‍यौं। उनीहरूले कतैबाट पनि अनुमति लिएको देखिएन,’ उनले भने।

बिनाअनुमति सगरमाथा क्षेत्रमा छायांकन गरेको पुष्टि भएपछि विभागले जी-न्यूजको टिमलाई त्यहाँसम्म लैजाने हवाई सेवा कम्पनीसँग स्पष्टीकरण सोध्न लागेको उनले जानकारी दिए।

कुनै पनि विदेशीले नेपालको नियम-कानुन पालना गर्नुपर्छ, तर त्यस्तो नियम-कानुन पालना गराउन उनको सहयोगी टोली वा नेपाली पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने आचार्यको भनाइ छ।

‘विदेशीलाई हाम्रो सबै नियम थाहा नहुन सक्छ। यस्तोमा उनीहरूको भ्रमणमा सहयोग गर्ने नेपालीहरू जिम्मेवार हुनुपर्छ। यो घटनामा संलग्न नेपाली पक्षले पनि कतैबाट अनुमति नलिएकाले यसबारे हेलिकप्टर कम्पनीसँग स्पष्टीकरण सोध्न लागेका हौं,’ उनले भने। उक्त कम्पनीलाई सगरमाथा राष्ट्रिय निकञ्‍ज कार्यालयमार्फत् स्पष्टीकरण सोधिने उनले जानकारी दिए।

सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र जान प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। जी-न्यूजको टिमले उक्त शुल्क बुझाएको देखिंदैन। छायांकन शुल्क पनि तिरेको छैन।

सिम्रिक एयरका कार्यकारी निर्देशक सिद्धार्थ गुरुङ भने आफूहरूले कुनै विदेशीले अनुमति लिए-नलिएको जाँच नगर्ने र उडान भाडा लिएर यात्रुलाई गन्तव्यसम्म लैजाने र ल्याउने काम मात्र गर्दै आएको बताउँछन्।

‘हामी त्यस्तो अनुमति जाँच गर्दैनौं। यात्रुले हेलिकप्टर चार्टर गर्छन्, हामी शुल्क लिएर उडाउँछौं। कुन यात्रुसँग कस्तो क्यामरा छ, मोबाइल छ कि छैन भनेर जाँच गर्ने अधिकार हामीसँग छैन। हामीले त्यस्तो गर्ने गरेका पनि छैनौं,’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख प्रताप तिवारीले पनि चार्टर उडानको फ्लाइट घोषणामा यात्रुको नाम र उद्देश्य उल्लेख नहुने बताए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षत्री निषेधित क्षेत्र बाहेकका ठाउँमा उडान गर्न सामान्य चार्टर उडानजस्तै अनुमति दिने गरेको बताउँछन्।

सामान्य अनुमति भनेको नेपालको कुनै एक ठाउँबाट अर्को ठाउँ जान ट्राफिक अवस्था हेरेर विमानस्थलले अनुमति दिने हो। त्यसरी अनुमति दिँदा यात्रुको संख्या र लिडरको नामबाहेक अरू नहेरिने क्षत्रीको भनाइ छ।

विभागका निमित्त महानिर्देशक आचार्य भने यसमा सहमत छैनन्। निकुञ्‍जको नियम उल्लंघन हुने गरी कसैले उडान सञ्‍चालन गर्न नपाउने उनी बताउँछन्।

‘यसरी निकुञ्‍जको कानुन पालना नहुने गरी उडान गर्ने र त्यसको जिम्मेवारी एयरलाइन्स वा विमानस्थल प्रशासनले नलिने प्रणाली राम्रो होइन,’ उनले भने, ‘भोलि यसैगरी हेलिकप्टरले उड्डयनको सामान्य नियमबाहेक अरू पालना नगर्ने भएपछि के हुन्छ? वन्यजन्तुको तस्करी भयो भने त्यसको जिम्मेवारी कसले लिने?’ उनले भने।

प्रधानमन्त्री ओलीको अन्तर्वार्ता बजाएको अर्को दिन जी-न्यूजले ‘सगरमाथाको नाममा भारतले दावा ठोक्नुपर्ने’ भन्दै आफ्नो सामग्री प्रसारण गरेको थियो। ओलीसँग अन्तर्वार्ता लिन काठमाडौं आएका चौधरीले हेलिकप्टरमा सगरमाथा आधारशिविर पुगेको बताएका छन्।

मंगलबार राति प्रसारण भएको कार्यक्रममा उनी भन्छन्, ‘त्यहाँ उभिएर हामीले यस (सगरमाथा) को नाम परिवर्तन गर्न अभियान सुरू गरेका छौं।’

भारतीय गणितज्ञ राधानाथ सिकदरले सगरमाथाको उचाइ नापेकाले उनकै नाममा सगरमाथाको नामाकरण हुनुपर्ने उनको तर्क छ।

‘माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ भन्ने अभियान हामी आजबाट सुरू गर्दैछौं। हाम्रो यो यात्रा त्यही अभियानको एउटा महत्वपूर्ण हिस्सा हो,’ उनी भन्छन्, ‘संसारलाई सगरमाथाको उचाइ पहिलोचोटि बताउने राधानाथ सिकदरलाई अहिलेसम्म जस दिइएको छैन। अब भारतले आफ्नो यो दावा ठोक्नुपर्छ।’

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै अत्यावश्यक सुविधाको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ।…

सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै कानुनी प्रबन्ध गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले तत्काल…

तिमी सँगको मेरो माया दिलमा बस्छ होला मनमा भएको शब्दहरू बोल्नलाई आयौ होला तिमी सँग परिचय भएपछि कुराकानि भयो कुरा…

प्रतिकृयाहरू
...