Tuesday 19th May 2026

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक


नेपाली खेल क्षेत्रकै लोकप्रिय एनएसजेफ पल्सर स्पोर्ट्स अवार्डमा यस संस्करणको चार विधाका मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार कमलादीमा एक कार्यक्रम आयोजना गर्दै १७औं संस्करणको वर्ष पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरेको हो। गत वर्ष सम्पन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त उपलब्धि नै चार विधाका छनोटको आधार हो। वर्षको उत्कृष्ट पुरुष खेलाडीमा सागका दोहोरो स्वर्ण विजेताद्वय करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ, सागकै १/१ स्वर्ण विजेता तेक्वान्दोका कमल श्रेष्ठ, फुटबलका विकेश कुथु र एथ्लेटिक्सका गोपीचन्द्र पार्की मनोनयनमा परेका छन्।

महिला तर्फ  करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथोलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्। १३औं सागमा गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कांस्य जितेकी थिइन् भने आयाशा दोहोरो स्वर्णविजेता हुन्। १३औं सागमै सोनीले समान एक स्वर्ण र रजत तथा सन्तोषी र अनुले १/१ स्वर्ण जितेका थिए। वर्षका युवा खेलाडीमा सञ्जु चौधरी (भारोत्तोलन), सिना मादेन लिम्बु (तेक्वान्दो), सुवास तामाङ (गल्फ), पुनम श्रेष्ठ (जुडो) र भूपेन श्रेष्ठ (तेक्वान्दो) मनोनयन परेका छन्।

सिनाले सागमा समान एक स्वर्ण र कांस्य पदक जितेकी थिइन् भने सञ्जु, पुनम र भूपेनले १/१ स्वर्ण पदक दिलाएका थिए। गत सागमा नेपाललाई १२ स्वर्ण, ६ रजत र ११ कांस्य दिलाएका तेक्वान्दोका नवीनकुमार श्रेष्ठसहित उसुका अमर थिङ, पौडीका शंकर कार्की, बक्सिङका प्रकाश थापामगर र करातेका मदन उप्रेती वर्ष उत्कृष्ट प्रशिक्षकको मनोनयनमा परेका छन्। गत सागमा नेपाललाई करातेले १० स्वर्ण, पौडीले चार स्वर्ण र बक्सिङले तीन स्वर्ण दिलाएको थियो। मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित ११ सदस्यीय छनोट समितिले खेलाडी तथा प्रशिक्षकको छनोट गरेको हो।

मञ्चले पिपल्स च्वाइस विधाको मनोनयन भने यसअघि नै सार्वजनिक गरिसकेको छ, जसमा पौडीकी गौरिका, करातेका मन्देकाजी, भलिबलकी अरूणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी छन्। यस विधामा इसेवामार्फत भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका सदस्य र विभिन्न राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा विजेता तय हुनेछ। पल्सर स्पोर्ट्स अवार्डमा अन्य विधा पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ। यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को रूपमा प्रदान गरिने भएको छ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित केल्मी, डिस होमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। उक्त अवार्ड आगामी पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअल रूपमा गरिने मञ्चले जनाएको छ। अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्राली छ भने डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) मा हुनेछ। अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान, इ–सेवा, केल्मी र टर्किस एयरलाइन्सलगायत छन्।

-नागरिकन्युजबाट

सम्बन्धित शीर्षकहरु

नेपालका दुई प्रसिद्ध पर्वतारोही गाइडहरूले सगरमाथा आरोहणमा नयाँ इतिहास रचेका छन् । “एभरेस्ट म्यान” भनेर चिनिने कामी रिता शेर्पाले ३२औँ…

नेपालको लोकतान्त्रिक संरचनामा शक्ति पृथकीकरण केवल सैद्धान्तिक विषय होइन, राज्य सञ्चालनको आधारभूत मान्यता हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका—तीनवटै अंगले…

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

प्रतिकृयाहरू
...