Tuesday 11th August 2026

उदाउँदो सुर्यलाइ अर्घ्य दिइ छठ पर्व सम्पन्न


तीतोपाटी – यस वर्षको छठ पर्व पनि समापन भएको छ। उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको हो । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुले इतिहास वर्णित सरोवर गंगासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवानले सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्बरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।

कोरोना संक्रमणको त्रास भए पनि छठका अवसरमा बेहुलीझैँ सिँगारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भिड पनि दर्शनीय रहेको थियो ।  रासस


सम्बन्धित शीर्षकहरु

रुसको तातारस्तान क्षेत्रस्थित निज्नेकाम्स्क (Nizhnekamsk) शहरमा युक्रेनले गरेको ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते…

साउदी अरबको राजधानी रियादमा रहेको सोफा उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा १६ जना बंगलादेशी आप्रवासी कामदारको मृत्यु भएको छ।…

जर्मनीबाट इजरायललाई ‘INS Drakon’ पनडुब्बी हस्तान्तरण, इरानविरुद्ध रणनीतिक क्षमता बलियो इजरायलले जर्मनीबाट आफ्नो नौसेनाको नयाँ INS Drakon पनडुब्बी औपचारिक रूपमा…

प्रतिकृयाहरू
...