Thursday 25th April 2024

कोरोना कहरबीच तिहार : यस्ता छन् कलाकारका योजना


कुवेर गिरी- हामी नेपालीहरूको दसैँपछिको ठूलो चाड हो तिहार । दिदीभाइ तथा दाजुबहिनीको प्रेमको पर्वका रूपमा चिनिने तिहार ५ दिनको भए पनि विशेष गरेर तीन दिन लक्ष्मीपूजा, गोवद्र्धन पूजाका साथै भाइटीकामा दिदीबहिनीसँग टीका, आशीर्वाद तथा शुभकामना लिने गरिन्छ । तिहार दाजुभाइ र दिदीबहिनी बीचको प्रेमको पर्व पनि हो । यो पर्वमा घर झिलिमिली बत्ती र धेरै थरीका फूलले सिँगार्ने गरिन्छ । सहर बजार पनि बत्ती, फूल, मिठाई र मसलाको परिकारले सिँगारिएका देख्न सकिन्छ ।
तर कोरोनका कारण यो वर्षको तिहार विगतको जस्तो रौनक छैन । परम्परा जोगाइराख्न मात्र हामीले यसलाई मनाउनुपर्ने बाध्यता छ । गरिब, धनी, नेतादेखि सर्वसाधारण नेपालीसम्मको तिहार मनाउने आआफ्नो योजना होलान् । हाम्रा कलाकारहरु पनि रौनक नभए पनि सुरक्षित तिहार मनाउने सुरसारमा छन् । कलाकारको तिहार योजना उनीहरुकै शब्दमा :

करिस्मा मानन्धर (अभिनेत्री) 

यसपालि तिहारको केही योजना छैन । एकअर्काे घरमा आवतजावत बन्द छ । देउसीभैलो पनि आउँदैनन् होला । अहिले विनोदजी पनि घरमा हुनुहुन्न । म तिहारमा एकअर्काेको घरमा बत्ती हेर्ने, साथीभाइ भेट्न गर्दथेँ । यो पटक त्यो क्रियालापा हुँदैन । मेरो भाइटीका पनि छैन । जुन दाइलाई भाइटीका लगाउँथे । उहाँ गत महिना बित्नुभयो ।

दीपकराज गिरी (अभिनेता) 

तिहार खासै रौनकमय छैन । जहाँ डर, त्रास रोग र भोक रहन्छ । त्यहाँ केको रमाइलो । यो वर्ष तिहार परम्परा धान्नका लागि मात्र मनाउने हो । म ताक्छु मुडो, बन्चरो ताक्छ घुँडो भने झै  यो पटक हजारौँले रोजगारी गुमाए, कतिको व्यावसाय चौपट भयो, कतिले ज्यान गुमाए । त्यसैले मन प्रसन्न छैन । पीडामा हाँस्ने जाति संसारमा एउटा छ– त्यो हो नेपाली । देउसीभैलो टिभीमा हेर्ने, रेडियोमा सुन्ने हो ।

ऋचा शर्मा (अभिनेत्री) 
आमा बित्नु भएकाले यस पटक मेरो तिहार छैन ।

सुनिता दुलाल (गायिका) 
विश्व नै कोरोनाको कहरमा छ । नेपाली पनि यसबाट पीडित, त्रासित छन् । म तिहार त मनाउँछु । तर मन तिहारको झिलिमिली झैँ उज्यालो छैन । तिहारको रमाइलो भनेको सप्तरङ्गी माहोल हो । रङ्गीचङ्गी बत्ती, ढकमक्क फूल्ने अनेकथरी फूलले मनै फुरुङ्ग बनाउँछ । तिहारमा दाजुभाइ दिदीबहिनीबीच बाडिने माया र ममता हो । म यही दिन्छु र आशीर्वाद लिन्छु ।

दीपाश्री निरौला (अभिनेत्री, निर्देशक) 
तिहारकै लागि विराटनगर आएकी छु । यहाँ दाजुभाइसँग तिहार मनाउन पाउँदा निकै रमाइलो लाग्छ । यो मेरो मनपर्ने चाड पनि हो । यो पर्वले दाजुभाइसँगको सम्बन्धलाई अझै गाढा बनाउँछ । दाजुभाइका लागि कपडा, खानेकुरा र धेरै माया दिन्छु ।

गजित विष्ट (अभिनेता) 
कोरोना सङ्क्रमित भएको कारण आइसोलेसनमा छु । मेरो यो तिहार आइसोलेसनमै कोरोनासँगको युद्धमा बित्छ । कोरोनाको युद्ध जितियो भने अर्काे वर्ष भव्य मनाउनेछु ।

नवीन पौडेल (गायक) 
परम्परादेखि चल्दै आएको रीतिरिवाज जोगाउन पनि तिहार मनाउँछु । बहिनीको हातबाट टीका थाप्छु । साथीभाइ भेटघाट गर्ने, तास खेल्ने लगायतका काम यस पटक गर्दिनँ । सेलरोटी, मिठाई, विभिन्न परिकार खान्छु । तिहारको मनपर्ने, रमाइलो पक्ष भनेको देउसीभैलो हो । तर यो पटक हुँदैन, गर्न पाइन्न ।

अनु शाह (अभिनेत्री) 
तिहार रमाइलो पर्व हो । मेरो मनपर्ने चाड पनि । तिहारमा जताततै झिलिमिली उज्यालो हुने र लक्ष्मीपूजा र भाइपूजा हुने भएकाले पनि मनपर्छ । तिहारमा सेलरोटी घरमै बनाउने गर्नुहुन्छ । खान पनि मनर्छ । देउसीभैलो घरमा आएको रमाइलो लाग्थ्यो । यसपालि कोरोनका कारण देउसीभैलो हेर्न र खेल्न पाइँदैन । भाइलाई गिफ्ट चाहिँ दिन्छु । तर यही भन्ने सोचेकी छैन ।

दिनेश काफ्ले (हास्य कलाकार) 
यो पटक कुनै पनि चाड आएजस्तो लागेको छैन । कोरोनाले हामी कलाकारको सबै काम खोसेको छ । तिहार परिवारसँग मनाउँछु । पहिलेभन्दा अलि फरक घरमै बसेर रमाइलो गर्ने हो । सबै आफूभन्दा सानो भएकाले गिफ्ट दिनेभन्दा पनि उनीहरुको सबै जिम्मेवारी आफैले उठाउनुपर्छ ।

साहिमा श्रेष्ठ (गायिका) 
कोरोनाका कारणले यो तिहारमा खासै रौनक छैन । यो पटकको तिहार म काठमाडौँमै मनाउँछु । तिहारको झिलिमिली बत्ती, सब्तरङ्गी टीको र देउसीभैलो मनपर्ने पक्ष हुन् । लक्ष्मीपूजा पनि विशेष हुन्छ, म पनि पूजा गर्छु । कोरोनाले गर्दा तिहारमा सबै जम्मा हुन पाए त्यही विशेष हुन्थ्यो । नपाइएला जस्तो छ ।

इन्दिरा भट्टराई (गायिका) 
कोरोनाका कारण यो वर्ष कुनै पनि चाडको रौनक लागेको छैन । यो तिहार रोयल कम्पनी यूएईमा कार्यरत नेपाली दाजुभाइसँग स्वास्थ्य सुरक्षाको मापदण्ड कायम राखेर मनाउँछु । तिहारको लक्ष्मीपूजा, सप्तरङ्गी टीका, देउसी भैलो, झिलिमिली बत्ती, फूलमाला एकदमै मनपर्छ ।

टीका प्रसाईं (गायिका) 
यस पटकको तिहार काठमाडौँमै मनाउँछु । तिहारमा पकाउने सेलरोटी मलाई धेरै मनपर्छ । दाजुभाइ दिदीबहिनीको प्रेम सम्बन्धको प्रतीक हो तिहार । यो पटक देउसीभैलो मिस गर्छु । खेल्न मात्र होइन हेर्न पनि पाइँदैन होला यस पटक ।

युवराज चौलागाईं (गायक) 
यो पटकको तिहार खासै रौनक लागेको छैन । कोरोनाले गर्दा तिहारको उत्साह र उमङ्ग हराएको छ । विभिन्न फूलका माला, झिलिमिली बत्ती, मीठोमीठो सेलरोटी र दिदीबहिनीको दाजुभाइप्रतिको प्रेम एकदमै राम्रोपक्ष हो तिहारको । तिहारमा दिदीबहिनीलाई उपहार दिने चलन पनि छ । तर कोरोनाको कारणले यो पटक किनमेल गर्ने सोच मेरो छैन । सकेको दक्षिणा, माया र आशीर्वाद दिन्छु । म सतर्क भएर तिहार मनाउँदैछु । सबैलाई पनि कोरोनाबाट सतर्क रहन सुझाएँ ।

रजनी केसी (अभिनेत्री) 
अघिल्लो वर्षको जस्तो तिहारको रौनक लागेको छैन । किनभने अहिले कोरोनाको त्रासमा बाँच्नु परेको छ । सेलरोटी, झिलिमिली बत्तीको अलवा कागदेखि दाजुभाइसम्म पूजा गर्न पाइने भएकाले तिहार विशेष लाग्छ । ममीसँग मिलेर विभिन्न परिकार पकाउँछु । नओइलिने मखमली फूलको माला उन्छु । दाजुभाइलाई टीका लगाएर आशीर्वाद लिन्छु ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

लुलु हाइपरमार्केट, यस क्षेत्रको खुद्रा प्रमुख, कुवेतमा आफ्नो सञ्चालनको २२ औं वार्षिकोत्सव ब्रान्डको अलराइ आउटलेटमा २४अप्रिलमा एक मेगा उत्सवको साथ…

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

प्रतिकृयाहरू
...