Saturday 27th June 2026

डा. बाबुरामलाई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष बनाउने तयारी


जय नारायण माझी थारू – जनता समाजवादी पार्टीले डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ । जसपा स्रोतका अनुसार भोलि र पर्सि दुई दिन चल्ने केन्द्रीय कार्यकारिणी परिषद् बैठकले भट्टराईलाई अध्यक्ष बनाउने तयारी गरेको हो । पूर्वप्रधानमन्त्रीसमेत रहिसकेका भट्टराई अहिले जसपाका वरिष्ठ नेता छन् ।
हाल महन्थ ठाकुर र उपेन्द्र यादव जसपामा अध्यक्ष छन् । राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा नै भट्टराईलाई अध्यक्ष बनाउने चर्चा थियो तर कार्यविभाजन पछि गर्ने गरी निर्वाचन आयोगमा दर्ता प्रक्रियाका लागि ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । भट्टराई निकट रहेका एक कार्यकारिणीसभा सदस्यले कार्यविभाजन टुंगो लगाउँदा अध्यक्ष बनाउने भद्र सहमति पार्टी एकीकरणकै बेलामा भएको बताए ।
जसपाको केन्द्रीय कार्यकारिणीसभाको बैठक भोलि र पर्सि तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्ने तय भएको छ । सो बैठकमा भट्टराईसहित राजपामा अध्यक्ष रहेका राजकिशोर यादव, महेन्द्र राय यादव, अनिल झालगायतको कार्यविभाजनबारे पनि छलफल गर्ने तयारी छ । पार्टी एकीकरणकै बेला कार्यविभाजन नगरिएको भन्दै केही समय यादव र झा निस्क्रिय थिए । अध्यक्ष ठाकुर र यादवले कार्यविभाजनका बेलामा भूमिका हेरफेर गर्ने प्रतिबद्धतापछि उनीहरु सक्रिय भएका थिए ।
के छन् त बैठकका एजेन्डा ?
बैठकका लागि विधान संशोधन, केन्द्रीय समिति र संघीय परिषद्को विस्तार तथा कार्यविभाजन, समायोजनलगायतको एजेन्डा तय भएको जसपा नेता केशव झाले जानकारी दिए । बैठक तुल्सीलाल अमात्य प्रतिष्ठानमा बस्नेछ । गत असार अन्तिम साता तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भएर जसपा निर्माण भएको थियो ।
केन्द्रीय कार्यकारिणी समितिमा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष छन् । त्यस्तै, राजेन्द्र महतो, अशोककुमार झा, बाबुराम भट्टराई वरिष्ठ नेता छन् । अध्यक्ष दुई र वरिष्ठ नेता तीनबाहेक ५१ सदस्यीय कार्यकारिणीसभामा ४६ जना सदस्य छन् । कार्यकारिणीसभाको बैठकले केही समयअघि राजपा र जसपा मिलाएर बनाएको सात सयको केन्द्रीय समितिलाई अनुमोदन गर्ने तयारी छ ।


सम्बन्धित शीर्षकहरु

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

प्रतिकृयाहरू
...