Monday 5th October 2026

कंगोमा सुन खानीमा पहिरो जाँदा कम्तिमा ५० जनाको मृत्यु


प्रजातान्त्रिक गणतन्त्र कङ्गोकोे पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरे। गभर्नर कासीका अनुसार पीडितहरूमध्ये केही बालबालिकासहित अधिकांश युवाहरु रहेका छन् । उद्धारकर्ताहरूले मृतकको पहिचान गर्न र खानीबाट शवहरू बाहिर निकाल्न निरन्तर खटिरहेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूले घटनामा बच्न सफल स्थानीयलाई उद्धृत गर्दै लेखेका छन्, खानीका लागि खनिएका तीन वटा गहिरा खाडलमा पानी पसेका कारण पहिरो जाँदा उनीहरूको मृत्यु भएको हो ।

कमितुगा सहरका मेयर अलेकज्यान्डर बुन्ड्याले घटनापछि दुई दिनको शोक अवधिको घोषणा गरे । उनले स्थानीय बासिन्दालाई जमिनबाट शवहरू निकाल्न उद्धारकर्ताहरूलाई सहयोग गर्न आग्रह गरे ।

दक्षिण किवु प्रान्तमा खानीको अवैज्ञानिक उत्खनन गर्दा हरेक वर्ष स्थानीय बस्ती र वरपरका क्षेत्रमा पहिरो जाने र सयौँ नागरिकले अकालमा ज्यान गुमाउने गर्छन्।


सम्बन्धित शीर्षकहरु

वैज्ञानिकहरूको नयाँ अध्ययनले पृथ्वी र मंगल ग्रह एकै समयमा र नजिकै बने पनि फरक तरिकाले विकसित भएको देखाएको छ। अनुसन्धानका…

वैज्ञानिकहरूले नासाको बेनु (Bennu) नामक क्षुद्रग्रहबाट ल्याइएको नमुना अध्ययन गर्दा सौर्यमण्डलको सुरुवाती इतिहासबारे नयाँ जानकारी फेला पारेका छन्। पहिले वैज्ञानिकहरू…

दशैंका लागि काठमाडौं उपत्यकाबाट करिब १५ लाख मानिस आफ्नो घर फर्किने अनुमान गरिएको छ। तीमध्ये झण्डै १० लाख यात्रु सार्वजनिक…

प्रतिकृयाहरू
...