Friday 13th March 2026

विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति


तितोपाटी – विश्वभरका नेपाली जनसम्पर्क समितिद्वारा  भारतले गरेको सीमा अतिक्रमणका विरुद्ध संयुक्त विज्ञप्ति जारी गरेको नेपाली जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र बिरहीले तितोपाटीलाई जानकारी दिएका छन ।

भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको छ । सीमा जस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ, त्यसको विश्वभरका नेपाली जनसम्पर्क समितिले घोर निन्दा र भर्त्सना गरेको छ ।

सीमा अतिक्रमणका विषयमा नेपाल सरकारले तत्काल कुटनीतिक वार्ता र छलफल गरी पहल गर्नुपर्नेमा विज्ञप्ति मात्र जारी गर्नुले समस्याको समाधान नहुने तथ्यतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउदै जिम्मेवार ढंगले यो विषयको समाधान खोज्न अनुरोध पनि गरेको छ ।

विश्वका जुनसुकै कुनामा बसेपनि मूलत: हामी नेपाली हौँ र नेपाल भूमि हाम्रो आत्मा हो । नेपाली भूमिमाथि हुने जुनकुनै अतिक्रमण पनि हाम्रो आत्मामाथि प्रहार हो । हामी हाम्रो आत्माको रक्षाका लागि देश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अपील गरेको छ ।

एक स्वाधीन र सार्वभौम राष्ट्रका लागि आफ्नो सीमामाथि बलमिच्याई भैरहँदा टुलुटुलु हेरेर बस्न सकिन्न । ऐतिहासिक दस्तावेज,सन्धी र प्रमाणहरुका आधारमा पनि लिपुलेक नेपाली भूमि हो भन्ने प्रष्ट छ । तसर्थ अहिले जेजसरी सीमा मिच्ने र सार्वभौम राष्ट्रको हाम्रो भूगोलमा हस्तक्षेप गर्ने काम भएको छ, यसको हामी राष्ट्र,राष्ट्रियता र लोकतन्त्र पक्षधर नेपाली जनसम्पर्क समितिको तर्फबाट घोर निन्दा र भर्त्सना गरेको छ ।

सीमाको विषय अति संवेदनशील छ । यो विषयमा कुटनीतिक र राजनीतिक नेतृत्व तहमा तत्काल कुराकानी गर्नु नेपाल सरकारको प्रमूख दायित्व हो । तर राष्ट्रवादको चर्को नारा लगाएर सत्ताको कुर्सीमा विराजमान वर्तमान कम्युनिष्ट सरकारको असली राष्ट्रवादको अनुहार यतिबेला उदाङ्गो भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारको निकम्मापन यो बेला अझ बढी देखियो । यसबाट थप पुष्टी हुन्छ कि वर्तमान सरकारले शासन गर्ने नैतिक र राजनीतिक अधिकार गुमाउँदै गएको छ । देशको सीमामाथि यसरी नाङ्गो हस्तक्षेप र आक्रमण हुँदा समेत बोल्न नसकेको भन्दै विज्ञप्तिमा सरकार प्रतिसमेत खेद व्यक्त गरेको छ ।

नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न तत्काल अग्रसरता लिनको लागि विज्ञप्तिमार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...