Saturday 27th April 2024

कुख्यात अपहरणकारीको कर्तुत


भान्जाभान्जी’को अपहरण गरेको २४ घण्टा नबित्दै अर्को अपहरण !

गत मंसिर २८ गते म्याग्दी घर भएकी (नाम परिवर्तन) सीता अपरान्हतिर छोराछोरीलाई घरमा राखेर पोखरा निस्किइन् । सीता १५ वर्षीया छोरी, १४ वर्षीय छोरा र भान्जीसँग सामाखुसी चोक नजिकै बस्दै आएकी थिइन् ।सीता जेठी छोरीलाई सम्झाएर ससुराको पेन्सन पट्टा बनाउन भन्दै पोखरा निस्केकी थिइन् । पोखरा जानुअघि सीताले पहिलादेखि नै चिनजान रहेका आशिष सिजापतिलाई पनि आफू पोखरा जान लागेको र नानीबाबुको हेरचाह गर्दिन आग्रह गरिन् ।

काठमाडौँ महानगरपालिका–३ बानेश्वर बस्ने धनगढी घर भएका २४ वर्षीय आशिषले पनि ‘हुन्छ, चिन्ता नलिनु’ भन्दै सीतालाई आश्वस्त पारे । आशिषले सीतालाई दिदी भनेर बोलाउँथे, आशिषलाई सीताका छोराछोरीले ‘मामा’ भन्थे ।यसअघि सीता कहिले पनि छोराछोरीलाई छाडेर एक्लै बाहिर निस्केकी थिइनन् । जब सीता पोखराको लागि निस्किइन्, तब आशिषलाई खुँदो पर्यो । आशिषले उनीहरुको अपहरणको योजना बनाए । अन्ततः एकदिनमै अपहरण गर्ने योजना सफल पारे ।

३० गते सोमबार बिहान आशिष सीताको घरमा पुगे । सीताकी छोरी र भान्जी स्कुल जानको लागि तयारी गर्दै थिए । सीताको छोरा भने आशिष आउनुअघि नै स्कुल गइसकेका थिए। घर पुग्नासाथ ‘तिम्रो मम्मीले मलाई फोन गर्नुभएको छ, तिमी म सँग हिँड मम्मीले भनेको गोगंबुस्थित ब्लू स्टार गेष्ट हाउसमा,’ आशिषले सीताकी छोरीलाई भने । ‘मामा’ ले त्यसो भनेपछि छोरीले उनको कुरालाई विश्वास नगर्ने ठाउँ थिएन । उनीहरु निस्किए ।

आशिषले सीताको छोरालाई पनि सोही दिन बेलुकाको ५ बजेतिर दिदीहरु बसेको होटलमा ल्याए । ‘एकदिन बस्ने हो डराउन पर्दैन,’ भन्दै आशिषले उनीहरुलाई आश्वस्त पार्दै राखे । त्यसरी नै उनीहरुलाई ३ दिनसम्म आशिषले होटलमा राखे । सोमबार साँझ बच्चाहरुको हेरचाहको लागि भन्दै विनोद थापामगरलाई बोलाएर आशिष बाहिर निस्किए । त्यो दिनदेखि उनी त्यहाँ गएनन् । विनाद थापाले नै उनीहरुको हेरचाह गरिराखे । उनीहरुलाई बाहिर निस्कन र फोन गर्न दिइएको थिएन । आफू अपहरणमा परेको उनीहरुलाई पत्तै भएन ।

यता, सोमबार साँझै आशिषले सीतालाई छोरीको मोबाइलबाट फोन गर्दै, ‘तपाईंको छोरा, छोरी र भान्जीलाई लिएर राखेको छु । ३ लाख ५० हजार दिएपछि मात्र छोड्छु भन्दै धम्की दियो ।’आशिषले पैसा लिएर आउनुस् अनि मात्र बच्चा छोड्छु भनिरहे । कुन ठाउँमा पैसा लगेर बुझाउने त्यो पनि आशिषले खुलाएनन् । २ दिनसम्म सीताले घटनाबारे कसैलाई केही नभनी बसिन् । र, पैसा जुटाउनेतिर लागिन् ।

बुधबार सीता पोखराबाट काठमाडौँ फर्किन् । काठमाडौँ फर्केलगत्तै सीताले साँझ ६ बजेतिर महारागञ्ज वृत पुगेर घटनाबारे प्रहरीलाई जानकारी गराइन् । उनीहरुको खोजी गर्न काठमाडौँ उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरियो ।अन्ततः महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा तीनैजना बच्चाको सकुशल उद्दार गर्न सफल भयो । प्रहरीले विनोद थापामगर र होटल सञ्चालकलाई समेत पक्राउ गरेको बोगटीले बताए ।आशिषको समूहले नाताले भान्जाभान्जी पर्ने तीन बच्चालाई अपहरण गरेर सामाखुसीस्थित ब्लू स्टार गेष्ट हाउसको कोठा नम्बर ४०४ मा राखेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको बोगटीको भनाइ छ ।

पक्राउ परेका विनाद थापामगर र होटल सञ्चालकमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ७ दिनको म्याथ थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

होटलबाट निस्किएका आशिष कहाँ गए ?

सोमबार साँझ होटलमा विनोद थापामगरलाई बच्चाहरुको जिम्मा लगाएर आशिष कहाँ गए ? किन उक्त होटलमा आशिष बसेनन् ? कहानी अझै रोचक छ ।होटलमै रहेको बेला धादिङ नेत्रावती गाउँपालिका–६ बस्ने २४ वर्षीय किसन गुरुङले आशिषलाई फोन गरेर भनेका थिए– ‘अर्को एकजना सोझो मान्छेलाई अपहरण गर्नसकिन्छ । आउन पर्यो ।’

त्यतिबेलासम्म आशिषले सीतालाई फोन गरेर पैसा नदिए तीनैजनालाई मारिदिन्छु भनेर धम्की समेत दिइसकेका थिए । किसनको फोनलगत्तै आशिष विनोद थापामगरलाई बच्चाको हेरचाह गर्न भन्दै बाहिरिएका थिए ।सोमबार राती उनीहरुबीच टोखाको एक होटलमा भेट भएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । भेटमा किसन गुरुङ, आशिक लामा, आशिष सिजापती र सन्देश लामा सहभागी थिए ।

किसनले अपहरण गर्ने व्यक्तिको हुलियाको बारेमा सबैलाई ब्रिफिङ गरे । होटलमै बास बसेका उनीहरु रातको १२ बजेसम्म कसरी ती व्यक्तिको अपहरण गर्ने योजना बनाएको प्रहरीको भनाइ छ ।तीन बालिका अपहरण गरेको २४ घण्टा नबित्दै आशिष सिजापतिको नेतृत्वमा अपहरणकारीले मङ्गलाबार बिहानै टोखा नगरपालिका–३ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–५ घर भएका २१ वर्षीय नरेश थापामगरको अपहरण गरेका थिए ।

आशिषको समूहले नरेशलाई अपहरण गर्नुअघि काठमाडौँ महानगरपालिका–४ बस्ने काभ्रे मण्डल देवपुर नगरपालिका–९ घर भएका २८ वर्षीय सरोज सापकोटालाई समेत कुटपिट गरेका थिए ।अपहरण गरेर नरेशलाई रातारात उनीहरुले हेटौँडा उपमहानगरपालिका–९ लामसुरेस्थित सरस्वती तामाङको घरमा पुर्याइसकेका थिए ।

कसरी खुल्यो पोल ?

अमलेखगञ्जबाट काठमाडौँ जान भनी हेटौंडातर्फ जाँदै गरेको बा.२ ज ५९५ नम्बरको ट्याक्सीमा सवार मध्येका मगरलाई बा २ ज ५३५६ नम्बरको ट्याक्सीमा आएका व्यक्तिहरूले अपहरण गरेको कुटाइ खाएका सापकोटाले नै प्रहरीलाई खबर गरेका थिए ।सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी कार्यालयहरूबाट तत्कालै खटिएको प्रहरीले नरेशलाई बन्धक बनाइरहेको अवस्थामा फेला पारी सकुशल उद्धार गरेको हो ।

नरेशको अपहरण कार्यमा संलग्न किसन गुरुङ, आशिक लामा, आशिष सिजापती, सुनिता धामी र सरस्वती तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।परिसरका प्रहरी प्रमुख उत्तम सुवेदीका अनुसार ‘खतरनाक’ अपहरणकारी आशिष सिजापति यसअघि पनि अपहरण तथा शरीर बन्धक मुद्दामा सफाइ पाएर पुनः सोही पेसामा संलग्न रहेको बताए ।

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुबेत-“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु…

इलाम-२ मा प्रतिनिधिसभा र बझाङको प्रदेश सभाको उपनिर्वाचनको मतदान शुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ बजेदेखि मतदान शुरु…

तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ । तान्जनियाको सरकारका अनुसार सो…

प्रतिकृयाहरू
...