Wednesday 30th September 2026

दक्षिणी थाइल्याण्डमा विद्रोहीद्वारा १५ सर्वसाधारणको हत्या


तितोपाटी – दक्षिणी थाइल्याण्डमा सक्रिय शंकास्पद मुस्लिम विद्रोहीको आक्रमणबाट कम्तीमा १५ जनाको मृत्यु भएको थाई सेनाले जनाएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रमा विगत १५ वर्षदेखि रक्तपातपूर्ण सङ्घर्ष भइरहेको छ । थाइल्याण्डको दक्षिणमा अवस्थित तीनवटा प्रान्तमा जारी विद्रोही आक्रमणमा हालसम्म सात हजारभन्दा बढी सर्वसाधारणको ज्यान गइसकेको छ । मलाया–मुस्लिम विद्रोहीहरुले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका छन् ।

यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाँ सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीहरुले सैनिक कानुनका कारण स्थानीयबासीले कठिनाई भोग्नु परेको बताउँदै आएका छन् । गत मङ्गलबार विद्रोहीहरुले याला प्रान्तका दुई वटा जाँच चौकीमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

आक्रमणकारीले एम–१६ राइफल र सटगन समेत लुटेर लगेको जानकारी दिँदै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तिब्र बनाएको बताए । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आक्रमणकारीलाई न्यायको कठघरामा ल्याइने बताउनु भएको रक्षा मन्त्रालयका प्रवक्ता कोङचीप तान्त्राभानिचले उल्लेख गरे ।

मलेसियासँग सीमा जोडिएको यस क्षेत्रमा सक्रिय विद्रोहीले बौद्धमार्गी बहुल थाई सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेको वर्षौं भइसकेको छ । यो क्षेत्र एक सय वर्षभन्दा अघि थाइल्याण्डले अधिनस्थ गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

पेरुको एक नौसेना सञ्चालित विद्यालयमा १६ वर्षीय छात्रमाथि सहपाठीहरूले सामूहिक यौन दुर्व्यवहार गरेको आरोप लागेपछि देशभर आक्रोश फैलिएको छ। घटनाको…

पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले घरबाट नियन्त्रणमा लिएर करिब १० घण्टापछि पुनः परिवारको जिम्मा लगाएको घटनाप्रति सर्वोच्च अदालत बार…

तिमी बोल्दैनौ,
 तर साँझको बतासले
 तिम्रो खबर ल्याइरहन्छ। 
झ्यालको पर्दा हल्लिँदा 
लाग्छ,
कसैले मेरो नाम 
बिस्तारै उच्चारण गर्‍यो। आकाशभरि तारा छन्,
…

प्रतिकृयाहरू
...