Tuesday 3rd February 2026

दसैंमा कुवेत लगायत अन्य देशको उपहार : टेलिभिजन, मोबाइल र ब्ल्याङ्केट


तितोपाटी- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा भेटिएकी सिन्धुपाल्चोककी सुमित्रा विक कुवेत आएको ४ वर्ष भयो। कुवेतबाट दसैं मनाउनका लागि फर्किएकी उनले टिभीलगायत सामान कुवेतबाट ल्याएकी छिन्।

‘घरमा आमाबुबाको लागि टिभीलगायत केही खत्र्याकखुत्रुक सामान लिएर आएकी छु,’ मुस्कुराउँदै उनले सुनाइन्।

गार्मेन्ट कम्पनीमा भनेर कुवेत आएकी उनी घरमा क्लिनरको रुपमा काम गर्न थालिन्। सरकारले घरेलु कामदारका रुपमा विदेश जान रोक लगाएसँगै फेरि सोही काममा फर्किन नपाउने भएपछि उनी ४ वर्षदेखि नेपाल फर्केकी थिइनन्।’नेपालमा हामीलाई काम पाइँदैन, अनि के गर्नु? ४ वर्षसम्म बरु दसैं नै माया मारेर उतै बसें,’ सुमित्राले सुनाइन्, ‘यसपाली देखि बिदामा फर्किए पुनः जान पाइने रे भन्ने सुनेर दसैंमा आएकी हुँ।’
कम्पनीको नाममा श्रम स्वीकृति लिई घरेलु कामदारका रुपमा कार्यरत श्रमिकहरुलाई पुन: श्रम स्वीकृति दिन नमिल्ने श्रम कार्यालय ताहाचलले जनाएको छ। श्रम समितिको निर्देशनअनुसार घरेलु कामदारका रूपमा श्रम स्वीकृति लिएर गएका र सोही कामका लागि पुनः जाने कामदारहरुलाई मात्रै पुनः श्रम स्वीकृति प्रदान गरिएको छ।

बिहीबार बिहानै विमानस्थलमा भेटिएका थमनले परदेशबाट ३२ इन्चको एलइडी टेलिभिजन, ब्ल्याङ्केट, केही सेट मोबाइल र घडी उपहार ल्याएका छन्।
झापा शनिश्चरेका थमन निरौला रोजगारीको सिलसिलामा कतार गएको ३ वर्ष भयो। कतारमा मजदूरी कामका लागि गएका उनी पहिलोपटक दसैं मनाउन बिहीबार काठमाडौं ओर्लिए। बिहीबार बिहानै विमानस्थलमा भेटिएका थमनले परदेशबाट ३२ इन्चको एलइडी टेलिभिजन, ब्ल्याङ्केट, केही सेट मोबाइल र घडी उपहार ल्याएका छन्।

‘परदेशबाट आउँदा के रित्तै आउनु भनेर अलिअलि सामान लिएर आएको छु,’ उनले भने, ‘घरमा यसो टिभी पनि राखौँ भनेर टिभी ल्याएँ, अब चिसो मौसम सुरू हुन लाग्यो, त्यही भएर ब्ल्याङ्केट ल्याएँ।’ छोराछोरीको लागि खजुरी मिठाइ, परदेशीको कोसेली यस्तै त हो,’ थमनले थपे।

बाराका नगेन्द्र चौधरी पनि मलेसियाबाट दसैंतिहार मनाउने गरी बिदामा फर्किएका छन्। गत वर्षको बैसाखमा ३ वर्षको करार अवधिका लागि मलेसिया पुगेका चौधरी दसैं मनाएर पुन: मलेसिया फर्किने बताउँछन्। सेक्युरिटी कम्पनीमा काम गर्दै आएका चौधरीले भने, ‘आफूले कमाई गरेको अधिकांश रकम मलेसिया जाँदा लागेको ऋण तिर्नै ठिक्क भयो, बचेको पैसाले अलिअलि सामान ल्याएँ।’ नगेन्द्रले पनि मलेसियाबाट एलइडी टेलिभिजन, ब्ल्याङ्केट ल्याएका छन्। बच्चाहरुलाई चकलेट ल्याएको छु, लुगाफाटो यतै नयाँ बसपार्कतिर गएर किन्छु,’ नगेन्द्रले भने।

दसैं मनाउनकै लागि बिदा मिलाएर धेरै संख्यामा श्रमिकहरु परदेशबाट फर्किने गरेका छन्। दसैंमा घर फर्किँदा गन्तव्य मुलुकबाट टेलिभिजन, ब्ल्याङ्केट, घडी, मोबाइल, ट्याबलेट, ल्यापटपलगायत सामानहरु उनीहरुको पहिलो रोजाइमा पर्ने गरेको छ।

साभार नेपाल लाईभ


सम्बन्धित शीर्षकहरु

भारतको २०२६–२७ संघीय बजेटमा विदेश सहायता विनियोजनले नयाँ कूटनीतिक प्राथमिकताहरू स्पष्ट संकेत गरेको छ। सबैभन्दा ठूलो विकास सहायता भुटानलाई २,२८८…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरिसकेको दाबी गरेका छन्। शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँग…

कुवेत सिटी, जनवरी ३० — जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (PAM) ले आफ्नो घरेलु कामदार भर्ती विभागमार्फत कुवेती श्रम कानुन अन्तर्गत…

प्रतिकृयाहरू
...