Saturday 18th May 2024

यूएईमा बढ्दैछ नेपाली व्यवसायीको लगानी


तितोपाटी- खाडीका देशहरूको तुलनामा धेरै नेपाली व्यवसायीहरू रहेको यूएईमा करिब एक हजार नेपालीहरूले व्यवसायमा अर्बौंको लगानी गरेका छन् । केही वर्षयता नेपालीहरूले छोटो समयमा ठूलो लगानी गरेका हुन् ।
यूएईमा बढ्दै गएको नेपालीहरूको चाप व्यवसायको मुख्य प्रेणाको श्रोत हो भने पछिल्लो समय यूएईमा वैधानिकता पाएको नेपाल बिजनेस काउन्सिल अर्को प्रेरणाको श्रोत हो । त्यस्तै लगानी गरेबापत व्यवसायको सुरक्षित वातावरणले पनि व्यवसाय गर्न आकर्षण गरेको देखिन्छ । धेरै व्यवसाय नेपाली मुखी भएतापनि करिब तीन लाख नेपालीहरूको आवश्यकता अनुसार भने व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । त्यस्तो त पूर्ण नेपाली व्यवसायहरू नेपाली केन्द्रित पनि छैनन् ।

रेस्टुरेन्ट, ट्राभल बढी मात्रामा आकर्षण देखिएका नेपाली व्यवसायीहरूले मोबाइल पसल, मिठाइ पसल, कपडा पसल, सुन पसल, सुपरमार्केट, ग्रोसरी, आईटि कम्पनी, क्लिनिङ कम्पनी, मेनपावर, ग्यारेज, हेयर सैलुन, ब्युटी पार्लर, टेलर, लन्ड्री लगायतमा पनि लगानी गरेका छन् । बढी मात्रामा रहेका नेपाली रेस्टुरेन्टहरूले त नेपालीको मागलाई धान्न सकेका छैनन् भने फाट्टफुट्ट रहेका अन्य व्यवसायले नेपालीको माग परिपूर्ति हुने कुरै भएन । त्यसैले पनि यूएईमै रहेका नेपालीहरूलाई केन्द्रित गरेर अन्य धेरै व्यवसाय सञ्चालन गर्न सकिने भए पनि यहाँको व्यवसाय सञ्चालनको लगानी भने ठूलो देखिन्छ ।
सामान्यतयाः यूएईमा सानो व्यवसाय सञ्चालन गर्न पनि नेपाली एक करोड रुपैयाँ प्रशासनिक क्षेत्रमा खर्च हुने देखिन्छ । सामान्य वा सानो व्यवसाय सञ्चालन गर्न पनि आवश्यक पर्ने लाइसेन्स खर्च, रेन्ट, स्टाफ भिसा, इन्स्योरेन्स, बस्ने बासस्थानमा मात्रै ठूलो रकम खर्च हुन्छ भने व्यवसाय सञ्चालन गर्नको लागि छुट्टै पुँजी लगानी गर्दा सरदर पनि तीन करोड बिना सामान्य व्यवसाय पनि सञ्चालन गर्न नसकिने यूएईमा यी सबै खर्चका बाबजुद पनि नेपाली लगानीकर्ता बढ्दै गएका हुन् ।
सामान्य एक स्टाफलाई नेपालमा दिने एक वर्षको तलब यहाँ भिसा, मेडिकल लगायतमा खर्च हुन्छ । यूएईका विभिन्न स्टेटमा छरिएर रहेका करिब एक हजार नेपाली व्यवसायहरूले सामान्य पनि एक व्यवसायले तीन करोडमात्रै लगानी गरेको भएपनि नेपालीले मात्रै यूएईमा अरबौंको लगानी गरेको अनुमान छ । त्यसो त सुन पसल, ट्राभल व्यवसाय, रेष्टुरेन्ट, सुपरमार्केट, कपडा पसलमा भने अलि बढी लगानी हुने देखिन्छ ।
यति ठूलो रकमलाई नेपालमै व्यवस्थापन गर्न किन नसकेको भन्ने प्रश्नमा चइना टाउन रेष्टुरेन्ट तथा पिपल ट्राभलका सञ्चालक नानीराम फुयाँल भन्छन्, “यहाँ जति लगानी गरेपनि सुरक्षित छ । सरकारले एउटा कानुन बनाएको छ, त्यही कानुनको दायरामा रहेर व्यवसाय गर्न सके व्यवसाय सफल हुन्छ । तर हाम्रो नेपालमा सरकारै पिच्छेका परिवर्तित कानुन, व्यवसाय पिच्छे राजनीतिक दलका संगठन राजनीति गर्र्ने अखडा व्यावसायिक क्षेत्र बनाएका कारण पनि नेपाली लगानीकर्ता बाहिरिएका हुन् ।” त्यसैले नेपालमा लगानी बढाउनको लागि सरकारले स्थायी नीति बनाएर प्रमुख उद्योग कलकारखानामा हुने राजनीतिक युनियन बन्द गरिनुपर्ने उनको सुझाव छ ।
त्यसो त यूएईका कलकारखाना राजनीतिक संगठनका कुनै युनियन हुने गर्दैनन् । सरकारले बनाएको नियमभित्र कामदार र रोजगारदाता दुवै चल्नुपर्ने हुन्छ । यदि नियम मिचेमा सजाय दुवैलाई हुने गर्दछ ।
रेष्टुरेन्ट र ट्राभलमा बढ्दो आकर्षण
प्रायः रोजगारपछिका नेपाली व्यवसाय रहेका यूएईमा धरै नेपालीको चाहना रेष्टुरेन्ट र ट्राभलमा रहेको देख्न सकिन्छ । यूएईले टुरिजम क्षेत्रमा गरेको विकाससँगै यूएईमा रहेका साढे दुई लाख नेपालीहरूलाई लक्षित गर्दै रेष्टुरेन्ट र ट्राभल सञ्चालनमा आएको देखिन्छ । मिनि नेपाल भनिने यूएईको वरदुबई र अबुधाबी राज्यमा मात्रै नेपालीलाई लक्षित गर्दै करिब डेढ दर्जन नेपाली ट्राभल व्यावसायिक र दुई दर्जनभन्दा बढी नेपाली रेष्टुरेन्टहरू सञ्चालनमा आएका भए पनि यूएईमा रहेका करिब दुई लाख ५० हजार नेपालीहरूलाई पूर्णरुपमा सेवा दिन सकिरहेका छैनन् । त्यसो त यूएई सरकारले गर्दै गरेको विकास हेर्न टुरिजम क्षेत्र भ्रमणको लागि जाने नेपालीहरूलाई मात्रै सेवा दिन सकेपनि यूएईमा नेपाली ट्राभल एण्ड टुरिजम रेष्टुरेन्ट व्यवसाय राम्रोसँग फस्टाउने देखिन्छ ।
पर्यटनको लागि निकै सुन्दर मानिएको यूएई घुम्नकै लागि कैयौं नेपालीहरू आउने गर्छन् । कोहि यूएई आउन भन्दा पहिले ट्राभलहरूले दिएको प्याकेजमा आउने गर्छन् भने कोहि यूएई भिजिट भिसामा आएर आफ्नै हिसाबले घुम्ने गर्दछन् । ट्राभल कम्पनीहरूले पनि ग्राहकको चाहना अनुसारको प्याकेज बनाउने हुँदा यूएई घुम्नको लागि जाने व्यक्तिसमेत घुम्ने ठाउँहरूको बारेमा केही जानकार हुनुपर्ने देखिन्छ ।
सातवटा राजाको अलगअलग राज्य रहेको संयुक्त अरब इमिरेट्स (यूएई) मा अबुधाबी राज्य र दुबई राज्यले चरम रुपमा विकास गरेका छन् भने अन्य राज्यहरूमा विकासको क्रम जारी नै छ । विकासको गतिमा निकै अगाडि बढेका दुबई र अबुधाबी राज्यमध्येमा दुबईले पर्यटकहरूलाई लक्षित गर्दै धेरै विकास गरेको छ ।
यूएईको पुरानो स्वरुप देख्न सकिने म्युजियम वरदुबईको आडैमा छ भने विश्वको सबैभन्दा ठूलो मानव निर्मित टावर बुर्ज खालिफा पनि दुबई राज्यमै पर्छ । यूएईले तीव्र गतिमा गरेको विकासलाई पनि नजिकबाट नियाल्न सकिने भएकाले पर्यटकको बाक्लो आवतजावत हुने हुँदा पनि यहाँ ट्राभल र रेष्टुरेन्ट गर्नेहरूको संख्या बढ्दो छ ।
साभार कारोबार दैनिक


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...