Thursday 1st October 2026

भारतमा बाढीको कारण १०० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित बनेको बताइएको छ। केरलामा शनिबारपछि पनि बर्षा जारी रहेकाका कारण जनजीवन थप प्रभावित हुने अनुमानपछि ग्रामीण वस्तीहरुमा सैनिकका विभिन्न समूहलाई उद्धार इकाई बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकप्टरहरुको परिचालन गर्न सरकारले निर्देशन दिएको छ।

‘केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ। केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटक पनि बाढीका कारण सडक अवरूद्ध बन्दा बाढी प्रभावित क्षेत्रमा फसेका छन्,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले फ्रान्सेली समाचार एजेन्सी एएफपीलाई बताए।

केरलाको छिमेकी कर्नाटक राज्यमा पनि वर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन्। भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि वार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन्। कर्नाटकमा विभिन्न ६ सय राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ।

भारतीय सञ्चारमाध्यमहरुले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले बर्षा, बाढी र डुवानका कारण ज्यान गुमाएका छन्। यस्तै गुजरातका अहमेदाबाद र नादिआबादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी दिइएको छ। सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब एक लाख २० हजार व्यक्ति आपतकालीन राहत केन्द्र (शिविर) मा पुगेको बताइएको छ। ‘केरलाका करिब ८० स्थानमा बर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए।

बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन्। यस्तै प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन उनले आग्रह गरेका छन्। प्रहरी प्रवक्ताका अनुसार एक स्थानमा करिब दुई सयजना फसेको सूचनापछि प्रहरीले उनीहरुसँग हेलिकप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ। केरलामा गत वर्ष आएको बाढीमा कम्तीमा पाँच सयजनाको मृत्यु भएको थियो।

-नागरिकन्यूजबाट


सम्बन्धित शीर्षकहरु

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

दुबईबाट तेल अभिभका लागि उडेको फ्लाई दुबईको एफजेड १०७३ उडान बुधबार साउदी अरबमा आपत्कालीन रूपमा अवतरण गरिएको छ। उडानका क्रममा…

प्रतिकृयाहरू
...