Thursday 19th February 2026

विश्वकप क्रिकेटको उपाधि इङ्गल्याण्डले जित्यो


तितोपाटी – यस पटकको विश्वकप क्रकेटको उपाधि इङ्गल्याण्डले चुमेको छ । इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच अाज भएको फाइनल खेलमा निर्धारित ५० ओभर र सुपर ओभरमा पनि बराबरी भएपछि इंग्ल्याण्डले बाउण्ड्रीको आधारमा विश्वकप क्रिकेटको उपाधि हात पारेको हो। रोमाञ्चक फाइनलको निर्धारित ५० ओभर र सुपर ओभरमा दुबै टोलीले समान रन बनाएको थियो । त्यसपछि च्याम्पियनको छनोट बाउन्ड्रीका आधारमा लिइयो, जसमा इंग्ल्याण्डले बाजी मार्यो । इंग्ल्याण्डले न्यूजिल्याण्डले भन्दा ६ वटा बाउन्ड्री बढी हानेको थियो ।

यसअघि सन् २०१५ मा पनि न्युजिल्यान्ड फाइनलमा पुगेर अष्ट्रेलियासँग पराजित भएको थियो । चौथो पटक फाइनलमा खेलेको इंग्ल्याण्डले पहिलो पटक विश्वकपको उपाधि उचालेको हो ।

सुपर ओभरमा पनि बराबरी

निर्धारित ५० ओभरमा दुबै टोलीले समान २४१ रन बनाएपछि खेल सुपर ओभर धकेलिएको थियो । पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ६ बलमा १५ रन बनायो ।

विश्वकपको उपाधिका लागि न्युजिल्याण्डलाई १६ रन चाहियो । उसलाई अन्तिम अन्तिम बलमा २ रन नै चाहियो, जसरी इंग्ल्याण्डलाई नियमित खेलमा चाहिएको थियो । एक रन बनाएपछि मार्टिन गुप्टिल रन आउट हुन पुगे र सुपर ओभर पनि बराबरीमा सकियो ।

दुबैको २४१ रन

यसअघि लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन बनाएको थियो । उसका लागि हेनरी निकोलसले ५५ र टोम लाथमले ४७ रन बनाए ।

न्युजिल्यान्डले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । २९ रनमा पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको न्युजिल्यान्डले सम्हालेर खेलेको थियो । दोस्रो विकेटको लागि कप्तान केन र निकोलसले ७४ रनको साझेदारी गर्दै उकासेका थिए ।

जवाफमा मैदान उत्रिएको घरेलु टोलीले पनि सबै विकेट गुमाएर २४१ रन नै बनायो ।

उसको सुरूवात खराब रह्यो । ८६ रन जोड्दा ४ विकेट गुमाइकेको थियो तर, बेन स्टोक्स र जोस बट्लरले पारी उकासे । दुबैले ११० रनको साझेदारी गरे । बट्लर ५९ रनमा आउट भए । त्यसपछि खेलमा न्युजिल्याण्ड हावी भयो, घरेलु टोलीले एकपछि अर्को विकेट गुमायो र अन्तिम ओभरमा ६ बलमा १५ रन चाहियो ।

ट्रेन्ट बोल्टले सुरूको दुइ बलमा रन दिएनन् तर, तेस्रो र चौथो बलमा छक्का हानेपछि खेलले रोमाञ्चक मोड लियो । अब २ बलमा तीन रन चाहियो इंग्ल्याण्डलाई ।

पाँचौं बलमा घरेलु टोलीले एक रन त लियो तर आदिल रसिद रनआउट भए । अन्तिम बलमा दुई रन चाहियो । एक रन जोडेर अर्को रनका लागि दौडिएका मार्क वुड रन आउट भएपछि खेल बराबरी भयो ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...