Sunday 14th June 2026

बझाङमा विकासको नाममा विनासः सिंचाइ कुलो, रोपेको खेत माथि डोजर


तितोपाटी – विकासको नाममा सम्पन्न भैसकेका पुर्वयोजनाहरूमा हानी नोक्सानी र मुठी रोपेर मुरी उब्जाउने सर्वसाधारणको रोपेको खेतमा डोजर चलाउनु कति सम्मको जायज हो ? यो त विकासको नाममा विनाश भएन र ! बझाङमा अहिले यस्तै भएको छ । असारे विकासले देखाएको परिणाम हो यो । भरखरै सर्वसाधारणले रोपेर भयाएको खेतमाथि डोजर चलाएर सडक निर्माण हुँदैछ बझाङमा अहिले ।

समाचारका अनुसार बझाङको खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा धमाधम रोपाइँ चलिरहेको खेतमा अाउने पानीको कुलो र रोपीसकेको खेतमा डोजर दगराएर विनास गरिएको छ । डोजरले सिंचाइ कुलो र रोपीसकेको खेत मात्र नष्ट गरेको नभएर २ वटा खानेपानीका पाइपलाइन, सय रोपनीभन्दा बढी भर्खर रोपेको धान खेतसमेत नष्ट गरेको छ ।  डोजरले कुलो भत्काइदिएपछि आधा रोपाइँ थालेका अगासे ज्युलाको रोपाइँ बन्द भएको छ । भर्खरै रोपेका खेतमा पानी नभएकाले धान सुक्ने भएको छ । रोप्नका लागि उखेलेको बीउ पनि सुक्न थालेपछि किसान अत्तालिएका छन् ।

दुई साताअघि निर्माण थालिएको छान्ना रिङरोड निर्माणका क्रममा ३ वटा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति भएपछि साबिक पाटादेवल गाविसका कोसेडी खेत, तल्लो पुजारी गाउँ, तिउने र राजकोट गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ । स्थानीयवासी खोलाको धमिलो पानी खान बाध्य भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव श्यामबहादुर थापाले बताए । ‘एक/डेढ घण्टा हिँडेर खोलाको पानी खान थालेका छौं,’ उनले भने, ‘रातारात विनाश मच्चियो, कुनै सरसल्लाह नगरी रोपेका खेतमा डोजर लगाए । गाउँ नै आतंकित भएको छ ।’

जथाभाबी डोजर चलाउँदा ०७४ चैतमा ३१ लाख लागतमा बनेको भगाडी तिउने राजकोट खानेपानी आयोजना, भर्खरै निर्माण सम्पन्न हुन लागेको ६० लाख लागतको खापर दुधिर खानेपानी आयोजना र ०६६ मा एसियाली विकास बैंकको आर्थिक सहयोगमा ९ लाख लागतमा बनेको ठण्डापानी पुजारी गाउँ तिउने खानेपानी आयोजनामा क्षति भएको उनले बताए । डोजरले कुलो भत्काएपछि गाउँलेको रोपाइँ बीचैमा रोकिएको स्थानीयले बताए । ‘आउरु–बाउरु (पर्मा/खेताला) लगाएर बल्लबल्ल रोपेका खेतमा डोजर नचाए । धेरैको बिचल्ली हुने भएको छ,’ स्थानीय प्रेम आग्रीले भने, ‘पाटादेवलमा मात्र नभएर खप्तडछान्ना गाउँपालिकाका अन्य ठाउँका ८ वटाभन्दा बढी कुलोमा क्षति पुगेको छ । धेरै ठाउँको रोपाइँ प्रभावित भएको छ ।’

लम्तडा कालुखेती थामलेक चक्रपथ सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले ‘सडक निर्माण गर्दा केही क्षति हुनुस्वाभाविक भएको’ तर्क गरे । ‘जेठ १० गते सम्झौता भई असार ३ देखि काम थालेका थियौं । असार २५ पछि डोजर लगाउन मिल्दैन थियो,’ उनले भने,‘२५ गतेपछि गरेको कामको भुक्तानी नहुने भएकाले खेतमै डोजर चलाउनुपरेको हो ।’

उनले आफूहरू पनि त्यही सिँचाइ र खानेपानीका उपभोक्ता भएको बताउँदै क्षति भएका संरचना पुनर्निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । ‘धनगढीबाट सिँचाइ र खानेपानी पाइप मगाइसकेका छौं । ५ दिनभित्र सबै मर्मत गरिदिने भनिसकेका छौं,’ उनले भने ।

साढे आठ किमि लामो उक्त सडक निर्माण क्रममा खप्तड छान्ना गाउँपालिकाको धानखोला, जागासैन, धन्नासी, धोडाखेत, कोटेखोलादेखि हलसारे, खोडी खेल्नालगायत ठाउँका सिँचाइ कुलोमा क्षति पुगेका कारण ती सबै क्षेत्रको रोपाइँ प्रभावित भएको भगाडी तिउने राजकोट खानेपानी आयोजनाका सचिव थापाले बताए । उनका अनुसार साविक कालुखेती गाविसका विभिन्न ठाउँमा बनेका सिँचाइका शाखा लाइनहरूमा पनि सडकले क्षति पुर्‍याएको छ ।

-कान्तिपुरमा प्रकाशित वसन्तप्रताप सिंहको समाचारबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी नौसेनाको कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएपछि भारत–अमेरिका सम्बन्धबारे नयाँ बहस सुरु भएको छ। विश्व राजनीतिमा पछिल्ला दुई दशकदेखि…

मध्यपूर्वमा जारी तनाव र इरान–पश्चिमी शक्तिहरूबीचको टकरावबीच पछिल्ला महिनाहरूमा देखिएका ड्रोन तथा मिसाइल घटनाले नयाँ राजनीतिक प्रश्नहरू जन्माएका छन्। विभिन्न…

पाकिस्तानका प्रधानमन्त्री Shehbaz Sharif ले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम पाठमा सहमति जुटिसकेको दाबी गरेका छन्। शुक्रबार सार्वजनिक अभिव्यक्तिमा…

प्रतिकृयाहरू
...