Tuesday 14th April 2026

एक खुट्टाले मजदुरी


तितोपाटी – के गर्ने बाँच्नको लागि खानै पर्ने, खान दुःख गर्नै पर्ने  । सबलांग होस वा विकलांग पापी पेट पाल्न मजदुरी गर्ने पर्ने बाध्यतामा छन् उनी । उनी हुन प्यूठान नगरपालिका–४, ढाडमग्राका ३२ वर्षीय जीवलाल थापा । तस्विरमा देखिए जस्तै उनको हातमा झन्डै ५ किलोको घन । त्यसलाई उचाल्न २ हात र उभिन २ खुट्टा आवश्यक पर्छ । ढुंगा फुटाउन थप बल । उनको एउटा खुट्टा छैन  तापनि साथीसँगै काममा बराबर खटिन्छन् । ढुंगा फुटाउन होस् वा बेल्चाले माटो फाल्न, हरेक काममा उनको योगदान सबै समान हुन्छ ।

थापाको खुट्टा नभए पनि जाँगर अरूको भन्दा कम छैन । भारतको एक होटलमा काम गर्ने क्रममा उनलाई विषालु कीराको संक्रमण भयो । त्यसै कारण डेढ वर्षअघि खुट्टा काटेर फाल्नुपर्‍यो । भएको सम्पत्ति उपचार गर्दै सकियो । उनी घर फर्के । श्रीमती पवित्रा र छोराछोरी पाल्नुपर्ने भएपछि एउटै खुट्टाको सहारामा काम गर्न थाले । अहिले एक महिनाकै लागि भए पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी दिएको छ ।

आइतबारदेखि उनी गाउँमा मोटरबाटो बनाउन खटिएका छन् । बेरोजगारी फारम नभरे पनि स्थानीयले थापालाई अपांगता भएकै कारण प्रोत्साहनसहित काममा लगाएका हुन् । ‘घुँडाले टेकेर भए पनि अरूले भन्दा कम काम गर्दिनँ,’ उनले भने, ‘सकेसम्म सबैको विश्वास जित्ने प्रयासमा छु ।’ उनी वडा नम्बर ४ स्थित टमटाचौर मोटरबाटो निर्माणका काममा सरिक भइरहेका छन् ।
नगरले मोटरबाटो निर्माणमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । ‘काममा ३५ जना स्थानीय खटेका छन्,’ टोली प्रमुख सिर्जना पुजाराले भनिन्, ‘जीवलालको काम अरूको भन्दा कम छैन ।’

खुट्टाको उपचार गर्दा भएको जायजेथा सकिएपछि दम्पती नै मजदुरीमा हिँडेर गुजारा गरिरहेको थापाले बताए । उपचारकै लागि उनले जुम्रीखोलाको ९ रोपनी खेत बिक्री गरे । सुरुमा सामान्य घाउ भएपछि विभिन्न अस्पताल धाउँदै चितवन क्यान्सर अस्पताल पुगेर बायाँ खुट्टा काटेका थिए । त्यसअघि भैरहवा मेडिकल कलेज अस्पतालमा ६ महिना बसे । त्यहाँ मात्रै ६ लाख रुपैयाँ खर्च भएको थापाले सुनाए । ‘भारतमा काम गर्दा कमाएको र घरमा भएको सबै सम्पत्ति उपचारमा सकियो,’ उनले भने, ‘तर, खुट्टा सग्लो राख्न सकिएन ।’ उनका १२ र १० वर्षका दुई छोरा छन् । एउटा २ र अर्कोले ५ कक्षामा अध्ययन गर्छन् । आर्थिक अभावका कारण कृत्रिम खुट्टा राख्न नसकेको उनले बताए ।

श्रीमती गाउँमा मजदुरी गर्छिन् । ढुंगा, पानी बोक्ने काम उनको जिम्मामा पर्छ । घरबारविहीन उनलाई गत वर्ष नगरपालिकाले जनता आवास कार्यक्रमअन्तर्गत घर बनाइदिएको वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारीले बताए ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

रूस–युक्रेन युद्धमा पहिलो पटक मानवरहित सैन्य प्रणालीमार्फत शत्रुको एक स्थान कब्जा गरिएको युक्रेनी राष्ट्रपति Volodymyr Zelenskyy ले बताएका छन्। उनका…

पाकिस्तानको इस्लामाबादमा अमेरिका र ईरानबीच भएको उच्चस्तरीय वार्ता प्रमुख विवादका विषयमा सहमति जुट्न नसक्दा सम्झौताविना समाप्त भएको छ। अमेरिकी उपराष्ट्रपति…

काठमाडौं, चैत २२ — पोर्चुगल सरकारले काठमाडौंमा आफ्नो कन्सुलर कार्यालय स्थापना गर्ने घोषणा गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले आधिकारिक सामाजिक…

प्रतिकृयाहरू
...