Saturday 15th November 2025

भारतमा अत्याधिक गर्मीको कारण यस वर्ष अहिले सम्म २०० भन्दा बढीको मृत्यु


तितोपाटी – भारतमा यस वर्ष अत्याधिक गर्मी भएको कारण अहिले सम्म २०० भन्दा बढीको ज्यान गैसकेको छ । गर्मी यति सम्म बढेको छ कि कतिपय ठाउँमा त ५० डिग्री पनि नाघीसकेको छ । अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् । भारतीय सञ्चारमाध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका छन् । त्यसैगरी गर्मीकै कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सेफ्–लाइटिस) कारण बिहारमा मात्र थप एक सय बालबालिकाको ज्यान गएको छ ।

सरकारी तथ्यांकअनुसार सन् २०१० देखि २०१८ सम्म भारतमा लूका कारण ६ हजारभन्दा बढीको ज्यान गइसकेको छ । सन् २०१५ मा सबभन्दा बढी अर्थात् २ हजारभन्दा बढीको मृत्यु भएको थियो । यस वर्ष दिल्ली, बिहार, उत्तरप्रदेश, राजस्थान, मध्यप्रदेशका अधिकांश भागमा करिब दुई सातासम्म तापक्रम ४५ डिग्रीभन्दा माथि उक्लिएको थियो । मौसमविद्हरूले विगतका वर्षको तुलनामा यस वर्ष मनसुन केही पर धकेलिएकाले चर्को गर्मी भएको जनाएका छन् । यस वर्ष राजधानी दिल्लीले नै २१ वर्षयताकै सबैभन्दा चर्को गर्मी व्यहोर्‍यो । अघिल्लो सोमबार दिल्लीको तापक्रम ४८.४ डिग्री थियो । यो २६ जुन १९९८ को अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रमभन्दा ०.४ डिग्रीले कम हो । तर जुन महिनाको तापक्रमलाई हेर्ने हो भने दिल्लीमा हालसम्मकै बढी गर्मी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएकाछन् । त्यसैगरी, गतहप्ता नै उत्तरप्रदेशको बान्दामा ४९.२ डिग्री, प्रयागराजमा ४८.९ डिग्री मापन गरिएको थियो । साथै राजस्थानको चुरुमा त दुई दिनसम्म ५० डिग्री नाघेको जनाइएको छ ।

गर्मी कुन हदसम्म छ भन्ने कुरा अघिल्लो साता ट्रेनभित्रै यात्रुहरूको ज्यान गएको घटनाले पनि देखाउँछ । अत्यधिक गर्मीकै कारण ट्रेनमा यात्रा गरिरहेका चार जनाको ज्यान गएको थियो । उत्तरप्रदेशको आगराबाट दक्षिण भारतको कोएम्बटोरका लागि छुटेको केरल एक्सप्रेसका चार जानु यात्रुले अत्यधिक गर्मीका कारण ज्यान गुमाएका थिए । वातावनुकूलित कोचमा यात्रा नगरेका कारण ट्रेन उत्तरप्रदेशको झाँसी नजिक पुग्दा असह्य गर्मीका कारण उनीहरूको मृत्यु भएको बताइएको छ । त्यतिबेला झाँसीको तापक्रम ४५ डिग्री सेल्सियस रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

अत्यधिक गर्मीका कारण बिहारले त ठूलो संख्यामा मानवीय क्षति नै व्यहोरेको छ । शनिबार र आइतबार बिहारका अधिकांश भागमा तापक्रम ४५ डिग्री रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गर्मीका कारण स्थानीय अस्पतालहरूमा बिरामीको चाप दिनहुँ बढदो छ । पछिल्लो दुई दिनमा मात्र त्यहाँ ७८ जनाको मृत्यु भएको बताइएको छ । सोमबार बिहानसम्ममा गर्मीका कारण औरंगावादमा ३३, गयामा ३१, नवाडा १२ र जमुईमा २ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै बिहारका औरगांवाद, गया र नवाडा जिल्लामा १७ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उखरमाउलो गर्मीका कारण कतिपय राज्यमा विभिन्न रोगको प्रकोप पनि देखिएको छ ।

उच्च गर्मीका कारण फैलिएको मस्तिष्क ज्वरो (इन्सिफ्लाइटिक्स) का कारण पछिल्लो एक साताभित्रै बिहारको मुजफ्फरपुरमा सयजना भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । मुजफ्फरपुर लिचीका लागि चिनिएकाले सुरुमा बालबालिकाको मृत्युको कारण खाली पेटमा लिची खाएका कारण भएको आंशका गरिए पनि त्यसको वैज्ञानिक पुष्टि हुन सकेको थिएन तर पछि लिची नखाएका बालबालिकाको समेत मृत्यु भएपछि भने स्थानीय चिकित्सकले मस्तिष्क ज्वरोको आशंका गरेका थिए । बिरामी परेका करिब ३ सय बालबालिका अस्पतालमा उपचारा गराइएको छ । उच्च ज्वरो आएर अस्पताल पुर्‍याइएका बालबालिकाको उपचारका लागि स्थानीय अस्पतालमा पर्याप्त जनशक्ति र साधन नहुँदा धेरैको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

ठूलो संख्यामा बालबालिकाको ज्यान गएपछि नीतिशकुमार नेतृत्वको बिहार राज्य सरकारले चौतर्फी आलोचनाको सामना गर्नुपरेको छ । बालबालिकाको मृत्यु हुने क्रम नरोकिएपछि केन्द्रिय स्वास्थ्य मन्त्री डा. हर्षवर्द्धन आफै मुजफ्फरपुर पुगेका थिए । यसैबीच, गर्मीका कारण ज्यान गुमाएकाको परिवारलाई राज्य सरकारले राहत स्वरूप ४ लाख भारु दिने घोषणा गरेको छ । सअघि सन् २०१४ मा पनि मुजफ्फरनगरमै यस्तै किसिमको रोगले करिब २ सयभन्दा बढी बालबालिकाको ज्यान गएको थियो ।

-कान्तिपुरबाट


सम्बन्धित शीर्षकहरु

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

प्रतिकृयाहरू
...