Wednesday 11th March 2026

झापामा महिला मात्रै भएको घरमा आमा र नाबालिका छोरीको हत्या प्रयास


तितोपाटी – झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए । एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन् ।

टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ । गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफैँ प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताए ।

घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् । बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी थिइन् ।

-रातोपाटी बाट


सम्बन्धित शीर्षकहरु

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतले आफ्नो सुरक्षालाई लिएर उच्च सतर्कता अपनाएको संकेत देखिएको छ। सोमबार बिहानदेखि मध्यरातसम्म कुवेतको हवाई…

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

प्रतिकृयाहरू
...