Friday 8th August 2025

झापामा महिला मात्रै भएको घरमा आमा र नाबालिका छोरीको हत्या प्रयास


तितोपाटी – झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा भएको छिमेकी गोकुल हुमागाईंले बताए । एकतले पक्की सो घरको एउटा कोठामा आरती र उनकी छोरी बस्थे भने अर्को कोठामा प्यारालाइसिसकी बिरामी वृद्धा सासु थिइन् ।

टाउकोमा धारिलो हतियारको चोट लागेकी घाइते आरतीलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी हस्पिटल लगिएको र सामान्य घाइते अवस्थाकी उनकी छोरी अर्पणालाई तत्काल संरक्षणका लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ । गाउँलेले खबर गरेपछि घटनास्थलमा धुलाबारी इलाका प्रहरी कार्यालयको टोली पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दिनेश मैनाली आफैँ प्रहरी टोली लिएर घटनाको अनुसन्धानमा जुटेका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जनाउँदै अभियुक्त चाँडै पत्ता लगाइने बताए ।

घाइते आरतीका पति ओमबहादुर बुढाथोकी वैदेशिक रोजगारीको सिलसिलामा दुबइमा छन् । सो घरसँगै जोडिएको अर्को घरमा कोही पनि बस्दैनन् भने अरु घर केही टाढा छन् । छिमेकी बिहान घटनास्थल पुग्दा एउटा कोठामा घाइते आरतीलाई अर्धनग्न अवस्थामा बेहोस फेला पारेका थिए भने उनको टाउकोबाट बगेको रगतले भुइँमा आहाल भएको थियो । छोरी अर्पणा रोइरहेकी थिइन् । बिरामी सासु अर्को कोठामा सुतिरहेकी थिइन् । बुधबार राति निकै ठूलो पानी परेको थियो । पानी परेकै बेला आक्रमणकारी सो घरमा पसेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाकी प्रत्यक्षदर्शी नाबालिका अर्पणाले दुई व्यक्ति कोठामा पसेर आक्रमण गरेको र आफूलाई कराएमा मारिदिने धम्की दिँदै घाँटीमा हातले च्यापेर हुत्याइदिएको बताएकी थिइन् ।

-रातोपाटी बाट


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...