-रमिला हुमागाइ
प्यारो छोरा,
तिमीलाई सम्झना होला नहोला,
तिम्रो बुबा जवान हुँदा हाम्रो धेरै सम्पती थियो
अनि एउटा बेग्लै इज्जत थियो।
तिमीलाई थाहा छ?
म सानी हुदा कहिले देवि भनेर पुजिन्थे
त कहिले लक्ष्मी भनेर ।
उमेर बड्दै गयो म हुर्कदै गए।
छोरी,बुहारी,श्रीमती यस्तै के के भनेर पुकारिए।
केही पछि तिमी जन्मियौ,हुर्कियौ,पढ्यौ,बढ्यौ
अनि हामिलाई छोडेर बिरानो भयौ।
म आफुलाई धेरै भाग्यमानी सम्झ्न्थे
गर्वले छाती फुलाएर सधै तिम्रो प्रशंसा गर्थे
तिमीले पनि त माय गरे झै गर्थेउ।
आमा,
दुख नगर्नुस,पिर चिन्ता नलिनुस
भन्थेउ गोठका गाईबस्तु बेचिदिनुस
खेतबारी अधिया दिनुस्,
समयमै ओखती खानुस,
स्वास्थ्यको ख्याल राख्नु भन्थेउ ।
तिम्रो उपदेश,
तिम्रो उपदेशले बिमारी निको भएन,
ओखती किन्ने पैसा हुन्थेन
तिम्लाई गार्हो होला भनेर
कहिल्यै तिमीसगं गुनासो गरिन,
तिमीलाई पढाउदा लागेको ऋण तिर्न नसकेर
भएभरको खेतबारी बेचेको कुरा पनि
मैले कहिल्यै भनिन,फेरि तिमीले पनि त जान्न चाहेनौ,
घर,परिवारको वास्तै गरेनौ,
आफ्नै बुबा स्वर्गीय हुँदा समेत फर्केर आएनौ।
के कुरामा,
के कुरामा चित्त दुखायौ बाबू?
किन यति सार्है निर्दयी बन्यौ?
मैले कहिले काहीँ फोन गर्दा पनि
झर्केर बोल्छौ सधै ब्यस्त छु भन्छौ,
त्यसैले चिठ्ठी लेख्दैछु छोरा,
मनका ब्यथा पोख्दै छु छोरा,
तिम्री आमा बोक्सी भएको कुरा।
प्यारो छोरा,
तिमीले छोडेर गए पछि,
तिम्रा बुबा स्वर्गीय भएपछी,
उमेर, उमेर ढल्दै गएपछी
मान्छेहरुको म प्रतिको सोच बद्लियो
म माथी चौतर्फी प्रहार गरियो।
म विवश छु,
हो छोरा!म विवश छु सबै आरोप प्रत्यारोपहरु
सजाय,यातना र प्रतिकारहरु किन कि
म निरही,असहाय ,कमजोर अनि गरिब छु,
त्यसैले त म बोक्सी भएकी छु।
अचेल,
अचेल गाउँमा बाख्राले पनि पाएन भने,
गोरूले बाली लाएन भने,
भैसिले दूध दिएन भने,
कसैलाई खाना रुचेन भने,
सबै आरोप म माथी लगाइन्छ,
धामी झाक्रीलाई बहकाइन्छ,
पण्डितलाई बोलाएर
कुन्नी के के मन्त्र भट्भटाइन्छ।
रुद्रीणि,डङ्किनी,चण्डिनी यस्तै के के भन्दै
कालो बोको बलि चढाइन्छ,
मलाई कहिले गोबर कोचाइन्छ,
कहिले सिस्नो पानी लगाइन्छ ,
चरम यातना दिइन्छ,
म बोक्सी भएको कुरा
मेरै मुखबाट जबरजस्ती भन्न लगाइन्छ।
छोरा!,
म अब धेरै बाच्दिन होला
मलाई जस्तै तिम्री दिदी ,बहिनी,श्रीमती,छोरीहरुलाई पनि
बोक्सी बनाउन सक्छ यो समाजले।
बिन्ती छ छोरा तिमीले यसलाई रोक्नु है।
पनौती काभ्रे