Saturday 3rd October 2026

युवाले तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै


तितोपाटी- वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको दिलबहादुर थापाले बताउनुभयो । “झण्डै एक दशक जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भन्नुभयो ।

तरकारी खेती गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा पनि पाइरहेको हुँदा व्यवसायमा झन हौसला बढेको थापाको भनाइ छ । अहिले गोलभेँडा, काँक्रा, सिमी, गाजरको उत्पादन शुरु भएको छ । बजार नजिकै भएको हुँदा बिक्री गर्न युवालाई सहज परेको छ ।

घरपरिवार, साथीभाइ, आफन्तको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको लालबहादुर थापा बताउनुहुन्छ । उहाँ पनि करीब आठ वर्ष जति विदेशमा बस्नुभयो । विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जगाएको उहाँ बताउनुहुन्छ ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, थापाले भन्नुभयो । तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने युवाको सोच छ । यहाँका दुई युवाले शुरु गरेको यो व्यवसाय रामपुर नगरपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ ।

बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै युवाले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी दङ्ग छन् । वार्षिक रु ३० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । युवाले गरेको व्यवसायलाई प्रोत्साहनस्वरुप रामपुर नगरपालिका–४ को कार्यालयले थोपा सिँचाइका लागि पाइप, तरकारीको बीउबीजन, स्प्रेलगायतका सामग्री प्रदान गरेको वडाध्यक्ष एकबहादुर नेपाली बताउनुहुन्छ ।

“दुई युवाले विदेशबाट फर्केर अहिले गाउँमा नमूनाका रुपमा व्यावसायिक तरकारी खेती गरेको देख्न पाउँदा खुशी लागेको छ, व्यवसायमा वडा कार्यालयले विभिन्न सहयोग गर्दै जानेछ”, अध्यक्ष नेपालीले बताउनुभयो ।

स्थानीयको सक्रियतामा मन्दिर निर्माण

पूर्वखोला गाउँपालिका–५ वीरकोटका स्थानीयवासीको सक्रियतामा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । वीरकोटको भैसादीमा यहाँका स्थानीयवासीले विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर मन्दिर निर्माण गरेका हुन् । रु एक लाख ७० हजार ९०१ को लागतमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिर निर्माणका लागि पूर्वखोला गाउँपालिकाले रु ७० हजार रकम सहयोग गरेको मन्दिर निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर सुनारीले जानकारी दिनुभयो । मन्दिरमा नियमित पूजाआजा, भजनकीर्तन हुने बताइएको छ । धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न विभिन्न ठाउँमा स्थानीयवासीको पहलमा मन्दिर निर्माण हुने क्रम बढेको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...