तितोपाटी – एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपा कम्युनिस्ट पार्टी जिल्ला तहमा पनि एकीकृत भएको छ । केन्द्रीय स्तरमा एकीकरण भएको ठीक एक वर्षपछि जिल्ला स्तरको एकता प्रक्रिया टुङ्गो लागेको हो । पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटीकाे एकता प्रक्रिया टुंग्याएको हाे। यसै हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएको थियो। सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए।
पार्टी एकता भनिए पनि वास्तवमा जिल्ला नेतृत्वको चयन योग्यता, क्षमता, त्याग र निरन्तरताका आधारमा नभई भागबन्डाका आधारमा गरिएको छ । सतहत्तर जिल्लाका अध्यक्ष र सचिवमध्ये केपी ओलीको ३९ र माधव नेपालको ३८ जना रहेका छन् । अध्यक्षहरूमध्ये केपी ओलीको २८ र माधव नेपालको १६ जना (सर्लाहीसमेत) रहेका छन् । माआवादी पक्षलाई ३३ जिल्लाको अध्यक्ष पद प्राप्त भएको छ भने ४४ जिल्लामा एमालेले अध्यक्ष पाएको छ । ३३ मध्ये ३१ जिल्लामा प्रचण्डसमर्थक अध्यक्ष रहेका छन् । जब कि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनका २८ जिल्ला अध्यक्षहरू छन् । यसरी हेर्दा सबैभन्दा बढी (३१) जिल्ला अध्यक्ष प्रचण्डलाई, त्यसपछि (२८) केपी ओलीलाई, तेस्रो (१६) स्थान माधवकुमार नेपाललाई र चौथो (२) प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मिलेको देखिन्छ ।
७७ जिल्ला मध्ये पूर्व एमालेतर्फबाट ४४ र पूर्व माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । नेकपाले जिल्ला एकता टुंग्याए पनि कतिपय अध्यक्ष तथा सचिवहरू घटुवामा परेको भनि
प्रवासको एकता कहिले टुंगिएला ?
जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेपनि जनवर्गीय संगठनको एकता र केन्द्रीय विभागका विषयमा भने नेकपामा छलफल बाँकी छ। नेकपाका २२ जनवर्गीय संगठन र ३२ केन्द्रीय विभाग छन्। त्यसमध्ये केही जनवर्गीय संगठनको मात्र एकता भएको छ। तर युवा, विद्यार्थी, महिला, मजदुर, किसान लगायतको एकता भएको छैन।
३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको छ । तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए । तत्कालीन एमालेको प्रवासी नेपाली मञ्च र माओवादीको नेपाली जनप्रगतिशील मञ्च एकीकरणबाट प्रवासी नेपाली एकता मञ्च बनाउने कार्यदलको प्रस्ताव छ । ३६ देशमा संयोजक र सचिवसहित ३५ सदस्यीय कमिटी राख्न प्रस्ताव गरिएको छ । कार्यदलले काम सुरु गरे लगत्तै २० देशबाट अध्यक्ष र सचिवका लागि सर्वसम्मत एकता प्रस्ताव आएको थियो । तर केन्द्रले अहिले सम्म अन्तिम निर्णय गरेर प्रवासी संगठनमा परिपत्र नगरेकोले यसै हुने भनेर किटान गर्न सकिने अबस्था छैन ।