Wednesday 18th February 2026

कोलम्बो विष्फोट अपडेटः मर्नेको संख्या २९०, विदेशी नागरिक ३५ जना


तितोपाटी – आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। मर्नेहरूमा ३५ जना विदेशी नागरिक रहेको जनाइएको छ । मारिनेमा डच, पोर्चुगाली, बेलायती र चिनियाँ नागरिक पनि रहेको विवरण बाहिरिएको छ। ‘इस्टर सन्डे’ आक्रमणमा मारिनेमध्ये एकजना डच नागरिक पनि रहेको डच विदेशमन्त्री स्टेफ बल्कले पुष्टि गरेका छन्। त्यसैगरी चीनको ‘पिपल्स डेली’ पनि आक्रमणमा एक चिनियाँ नागरिक मारिएको र अन्य चारजनाको अस्पतालमा उपचार भइरहेको विवरण प्रकाशित गरेको छ। पोर्चुगलको विदेश मन्त्रालयले पनि आफ्ना एक नागरिक आइतबारको आक्रमणमा मारिएको जनाएको छ भने सो आक्रमणमा नेपाली नागरिक एक जना पनि नपरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विष्फोट पछि अहिलेसम्म प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ। आक्रमणपछि श्रीलंकामा लगाइएको कर्फ्यू सोमबार बिहानबाट हटाइएको छ। सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध भने यथावत नै राखिएको छ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो। चर्चसहित राजधानीका तीनवटा पाँचतारे होटलमा पनि बम बिस्फोटनका घटना भएको प्रहरीले जनाएको छ। “राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्” प्रवक्ता गुनशेकराले भने।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन्। गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ। यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बताएको छ।

राष्ट्रपति र प्रधानमन्त्रीको समवेदना

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हिँजै राष्ट्रका नाममा सम्बोधन गर्दै देशबासीलाई शान्त रहन अनुरोध गरेका छन्। उनले कायरतापूर्वक गरिएको यस आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतङ्कवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्य रहन, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा हमलाकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन्। घटनाको विश्वभरबाट निन्दा भएको छ।

विश्वभरबाट निन्दा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, बेलायती प्रधानमन्त्री थेरेसा मे, युरोपेली काउन्सिलका अध्यक्ष डोनाल्ड टस्क, युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका विश्व नेताले श्रीलंकामा गराइएको विस्फोटनको निन्दा गरेका छन् र पीडितप्रति सहानुभूति प्रकट गरेका छन्।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...