Monday 16th March 2026

उत्तर कोरियाली नेता किमको रूस भ्रमण अघि नयाँ हतियार परिक्षण


तितोपाटी – उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ। उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ।

केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गरेको जनाएको छ। तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन। उत्तर कोरियाली नेताले गत वर्ष नोभेम्बर यता पहिलो पटक नयाँ हतियारको निरीक्षणमा सहभागी भएका हुन्।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भियतनामको हनोईमा भएको दोस्रो शिखर वार्ता विफल भएपछि उत्तर कोरियाले नयाँ हतियार परीक्षण गरेको हो। किमको भनाई उद्धृत गर्दै केसिएनएले भनेको छ, ‘नयाँ हतियारले पिपुल्स आर्मीको क्षमता बढाउन ठूलो मद्दत गर्नेछ। सेनालाई आधुनिक हतियारबाट सुसज्जित तुल्याउन उत्तर कोरियाली वैज्ञानिकहरुले गरेको अनुसन्धान कार्यको म उच्च मूल्याङ्कन र प्रशंसा गर्दछु।’ विज्ञहरुले नयाँ विकसित हतियार छोटो दूरीको नियन्त्रित वा क्रुज क्षेप्यास्त्र रहेको बताएका छन्।

हतियार परीक्षणको निरीक्षणका लागि किमको उपस्थिति संयुक्तराज्य अमेरिकामाथि दबाब सिर्जना गर्नका लागि भएको विज्ञहरुको भनाई छ। कोरियाली अध्ययन केन्द्रका निर्देशक ह्यारी काजियानिसले अमेरिकाको जबर्जस्ती अडानबाट निराश भएको देखाउन हतियार परीक्षणमा उत्तर कोरियाली नेता किम स्वयं उपस्थित भएको हुन सक्ने बताउँछन्। किमले सम्भवत अर्को साता रुसको भ्रमण गर्ने एउटा रुसी अखबारले रुसी विदेश मन्त्रालयको स्रोतलाई उल्लेख गर्दै नेता किम र राष्ट्रपति भ्लादिमिर पुटिनबीच अर्को साता शिखर बैठक गर्न तयारी जोडतोडका साथ भइरहेको जनाएको छ।

जापानको एक टेलिभिजन च्यानलले किमका मुख्य सहयोगीलाई रुसी शहर भ्लाडिभोस्टकमा देखिएको जनाएको छ। रुसको दैनिक अखबार इज्भेस्टियाले रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै पुटिन र किमबीचको पहिलो शिखर बैठक भ्लाडिभोस्टकमा हुन सक्ने बताएको छ। राष्ट्रपति पुटिन चीनमा आगामी अप्रिल २६–२७ मा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनेक्रममा भ्लाडिभोस्टकको भ्रमण गर्ने छन। रासस


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...