Friday 13th March 2026

नेपालले कुवेतलाइ जित्यो तर विश्वकप खेल्न भने नपाउने भयो


तितोपाटी – एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आज सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पुरा ग-यो । नेपाललाई जित दिलाउने क्रममा ओपनर रित गौतमले सर्वाधिक ६२ रनको पारी खेले भने पवन सर्राफले ५३ रन बनाए । आशिफ शेख ३३ रन र सन्दिप जोरा ५ रनमा अविजित रहे ।

यसअघि पहिले ब्याटिङ गरेको कुवेतले नोमन बुद्रोको ७० रनको मद्धतमा ४९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १५७ रन जोडेको थियो । कुवेतका लागि गोकुल कुमारको ३६ रन पनि महत्वपूर्ण रहयो । नेपालका कप्तान रोहित पौडेलले ३ तथा रसिद खान, सुर्य तामाङ र कुशल मल्लले २–२ विकेट लिए ।

नेपालले यसअघि सिंगापुर, ओमान र मलेसीयालाई हराएको थियो । तर युएइसँग पानी परेपछि अवरुद्ध भएको खेलमा डकवर्थ लेविस नियमका आधारमा १ रनले पराजित हुँदै अंक गुमाएको थियो । आफ्नो पाँचै खेलमा अंक बटुल्न सफल युएई सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यु–१९ विश्वकपमा छनोट भएको छ ।

नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने मलेसियालाई आठ तथा ओमनलाई १५० रनले पराजित गरेको थियो । जारी खेलमा नेपालले कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा सहभागिता जनाउन पाउने छैन । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र ओमानले युएइलाइ हराउनु पर्दथ्यो तर युएईको जितसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।

उक्त छनोट प्रतियोगिताको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान छ । जसमा युएई प्रवेश गर्न सफल भयो । यसअघि सातपटक विश्वकप खेलिसकेको नेपाल आठौँ पटक प्रवेशका लागि युएईसँगको खेल घातक सावित भयो । जितसँगै युएईले अब सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।


सम्बन्धित शीर्षकहरु

पाल्पा । राष्ट्रिय फूल लालीगुँरासको संरक्षण र यसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले युवा सामाजिक अभियन्ता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ सक्रिय भएका…

मध्यपूर्वमा बढ्दो सैन्य तनावले अब केवल सैन्य शक्ति वा तेलको राजनीतिमा मात्र सीमित रहने संकेत देखिदैन। पछिल्ला घटनाक्रमले यो द्वन्द्व…

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

प्रतिकृयाहरू
...