Friday 17th July 2026

पश्चिमबाट घाम उदाउने अनाैठो ग्रह “शुक्र”


तितोपाटी – शुक्र ग्रह, हाम्रो सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रह । यो ग्रहको धेरै विशेषताहरु छन् । यसको सबैभन्दा प्रमुख विषेशता भनेको त यो ग्रह उल्टो घुम्ने गर्छ । शुक्र ग्रहलाई अंग्रेजीमा भेनस (Venus) भनिन्छ । यसको यो नामाकरण रोमनहरुले गरेका हुन् ।

पश्चिमबाट घाम उदाउने ग्रह

हामीकहाँ कुनै उदेकलाग्दो कुरा भयो भने पश्चिमबाट घाम उदायो भन्ने चलन छ । तर शुक्र ग्रहमा भने कुनै उदेक नै नभइकनै पश्चिमबाट घाम उदाउने गर्छ । यसो हुनुको कारण चाहिँ शुक्र ग्रह आफ्नो धूरी (Axis) मा उल्टो घुम्ने गर्छ । पृथ्वी लगायतका ग्रहहरु पूर्वबाट पश्चिमको दिशामा घुम्ने गर्छ भने शुक्र चाहिँ पश्चिमबाट पूर्वको दिशातिर घुम्ने गर्छ । यही कारण नै त्यहाँ पृथ्वीमा जस्तो सूर्य पूर्वबाट हैन, पश्चिमबाट उदाएको देखिन्छ ।

शुक्र ग्रहको घुम्ने गति पनि अति सुस्त छ । हाम्रो सौर्यमण्डलमा सबैभन्दा सुस्त घुम्ने ग्रह पनि शुक्र नै हो । पृथ्वीले करीब २४ घण्टा (२३.९४३ घण्टा) मा आफ्नो अक्षमा एक फन्को मारिसक्छ । तर शुक्र ग्रहले एक फन्को मार्नको लागि ५८३२ घण्टा (२४३ दिन) बराबरको समय लगाउँछ । त्यसैले शुक्र ग्रहको एक दिन बराबर पृथ्वीको २४३ दिन हुन आउँछ । अचम्म लाग्दो कुरा त के छ भने शुक्र ग्रहको एक वर्ष भने पृथ्वीको एक वर्षभन्दा छोटो हुन्छ किनभने शुक्रले सूर्यलाई कक्षमा घुमेर एक चक्कर लगाउनको लागि २२४.७ दिन मात्र लगाउने गर्छ । यसरी शुक्र ग्रहमा वर्षभन्दा पनि दिन लामो हुने गर्छ । शुक्रग्रहले सूर्यलाई प्रतिघण्टा १२६,०७७ किलोमिटरको गतिले परिक्रमा गर्ने गर्छ ।

कति पुरानो ग्रह हो शुक्र ?

हाम्रो सौर्यमण्डलका सबै ग्रह, उपग्रह तथा अन्य पिण्डहरु एकै समयमा निर्माण भएका हुन् । वैज्ञानिकहरुको मतमा एउटा ग्याँस र धुलोको घुमिरहेको विशाल डल्लोबाट सौर्यमण्डलको निर्माण भएको हो । उनीहरुको गणनाअनुसार आजभन्दा ४.६ विलियन वर्षअगाडि त्यो निर्माण भएको हो ।

कत्रो छ शुक्र ?

सौर्यमण्डलमा सूर्यसँगको दूरीको आधारमा दोस्रो ग्रहको स्थान राख्ने शुक्र आकारमा चाहिँ सौर्यमण्डलको छैठौं ग्रह हो । शुक्रको व्यास १२,१०३.६ किलोमिटर छ । यो भनेको पृथ्वीभन्दा केही कम मात्रै हो । पृथ्वीको व्यास १२,७५६.२ किलोमिटर रहेको छ । त्यसै गरी शुक्रको पिण्ड ४.८६७३२ x १०२४ छ । शुक्रको तुलनामा पृथ्वीको पिण्ड ५.९७२१९ x १०२४ किलोग्राम रहेको छ ।

शुक्रको गुरुत्वाकर्षण

शुक्र र पृथ्वीको आकार र पिण्ड (Mass) झण्डै उस्तै छ । त्यसैले यी दुई ग्रहको गुरुत्वाकर्षण बल पनि झण्डै उस्तैउस्तै छ । शुक्र ग्रहको सतहको गुरुत्वाकर्षण बल पृथ्वीको तुलनामा ९ प्रतिशत मात्रै कम अर्थात् ९१ प्रतिशत छ । यसलाई अझ सजिलो गरेर बुझ्नु पर्दा पृथ्वीमा १०० किलो तौल हुने वस्तु शुक्रमा तौलने हो भने ९१ किलो हुन आउँछ ।

शुक्रको वायुमण्डल र रंग

कुनै पनि ग्रहको रंग कस्तो देखिन्छ भन्ने कुरा त्यो ग्रह केले बनेको छ तथा त्यसको सतह र वायुमण्डलले सूर्यको प्रकाशलाई कसरी सोस्छ र फर्काउँछ भन्ने कुरामा निर्भर गर्दछ ।

शुक्रको वायुमण्डल पृथ्वीको तुलनामा ९० प्रतिशत बाक्लो छ । त्यहाँको वायुमण्डलमा ९६ प्रतिशत त कार्बनडाइअक्साइड नै छ भने ३ प्रतिशत नाइट्रोजन । त्यहाँ अति कम मात्रामा (०.००३ प्रतिशत) पानीको वाफ छ । साथै, त्यहाँ सल्फ्युरिक एसिडको बाक्लो बादल पनि छ । यही कारण नै पृथ्वीबाट हेर्दा त्यस ग्रहको रंग पनि हल्का पहेलो रंगको देखिन्छ ।

रोचक कुरा के छ भने, शुक्रमा वायुमण्डल अति तीब्र गतिमा चलिरहेको हुन्छ । त्यहाँ प्रतिघण्टा ३५० किलोमिटरको गतिसम्म वायुमण्डल चलिरहेको हुन्छ । यो भनेको विशाल आँधीको गति जस्तै हो ।

सबैभन्दा चम्किलो ग्रह

आकाशमा देखिने ग्रहहरुमध्ये सबैभन्दा चम्किलो ग्रह नै शुक्र हो । यो दुरबीनको मद्दतविना नांगो आँखाले पनि देख्न सकिन्छ । यो सबैभन्दा चम्किलो हुनुको कारण चाहिँ यसको बाक्लो वायुमण्डलले सूर्यको धेरै प्रकाश परावर्तन गर्नु (फर्काउनु) नै हो । वैज्ञानिकहरुका अनुसार, शुक्रको वायुमण्डलमा ठोक्किएर ३० प्रतिशत प्रकाशमात्र छिर्छ बाँकी ७० प्रतिशत प्रकाश फर्कन्छ ।

शुक्र ग्रहलाई सूर्यास्तको केही घण्टापछि र सूर्योदयको केहीघण्टा अघि आकाशमा राम्ररी देख्न सकिन्छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...