Saturday 6th December 2025

सिराहाको लहानमा नयाँ वर्षको दिन मात्र फुल्ने फुल र सलहेश राजा एक जानकारी


रन्जिता भट्टराई – सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त फूल हेर्न देशका अधिकांश जिल्ला र भारतको विहारबाट समेत श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ ।
‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ ।
वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेशको जीवनगाथासँगै ‘सल्हेस’ फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती यस्तो छः
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवर्धन (सलहेश) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए । सलहेशको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फका राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।

भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेश महिसोथाका गढपति बने । सलहेश गढपति भए पछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेश समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेश र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।

राजा सलहेश दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेशको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ ।
अच्चमको उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन् ।

किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनीले राजा सलहेशको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सहलेश गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । पतारीमा ५ विघामा विशाल पोखरी फैलिएको छ ।

पोखरीको दक्षिण पट्टि राजा हरि सिंह देवको मंदिर पर्छ । यहाँको विशेषता मेला आउने भक्तजनहरु आए र जसको सन्तान छैन त्यो सन्तान प्राप्तिको लागि १ गते राती उपसना व्रत बस्छन् । रात भरि बसे र भोली दिउँसो अर्थात बैशाख २ गते त्यो पोखरीमा नुहाउने गर्छन् । नुहाएर आफ्नो संतान प्राप्ति तथा सुख शान्तीको लागि मनोकामना गर्ने गर्दछन । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

डोनेट्स्क ओब्लास्टको पोक्रोभ्स्क फ्रन्ट अहिले युक्रेन–रूस युद्धको सबैभन्दा तनावपूर्ण र निर्णायक क्षेत्र之一को रूपमा उभरिरहेको छ। पछिल्ला केही हप्तामा रूसी सेनाले…

भारतको नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय डीजीसीए (DGCA) ले इन्डिगो एयरलाइन्ससँग उत्पन्न विवाद र यात्रु सेवासँग सम्बन्धित समस्याहरू समाधान…

प्रतिकृयाहरू
...