Tuesday 10th March 2026

सिराहाको लहानमा नयाँ वर्षको दिन मात्र फुल्ने फुल र सलहेश राजा एक जानकारी


रन्जिता भट्टराई – सिराहा जिल्लाको लहान अर्थात सलहेश क्षेत्रमा नयां वर्षसंगै धार्मिक तथा पौराणिक कथावस्तुमा आधारित मन्दिरहरुमा मेला लाग्ने ऐतहिासकि परम्परा रहेको छ । जसमा फूलवारी मेला बैशाख १ गते बडौ धुमधामका साथ लाग्ने गरेको छ । लहानको भोटियाटोल चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक तथा प्राचीन फूलबारीमा नयाँ वर्षमा मात्र फुल्ने उक्त फूल हेर्न देशका अधिकांश जिल्ला र भारतको विहारबाट समेत श्रद्धालुभक्तजनहरु घुईंचो लाग्ने गरेको छ ।
‘सल्हेस’ फूलबारीमा रहेको ‘हारमको’ रुखमा एकाबिहानै सुनाखरी आकारको फूल फुल्छ र साँझ ओइलाएर जान्छ । उक्त रुख फूलबारीको मध्यभागमा रहेको राजा सलहेसका प्रेमिका मालिनीको गहबर (मन्दिर) संगै टाँसिएको छ । माला आकारको सेतो फूलको थुँगा जस्तो देखिने र साँझपख मौलाएर जानु खोजकर्ताका लागि अनौठो र रोचक विषय भएको छ ।
वनस्पतिविद्का अनुसार छैटौँ र सातौं शताब्दीदेखि जस्ताको त्यस्तै रहेको यो रुख र अचम्मको फूलबारे कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।

राजा सलहेस को थिए ? कसरी एउटा दुसाध (दलित) जातिका व्यक्ति राजा भए र राजा सहलेशको जीवनगाथासँगै ‘सल्हेस’ फूलबारी र वर्षको एक पटक मात्र फूल्ने फूलका बारेमा पनि एउटा रोचक घटनाको किंवदन्ती यस्तो छः
छैटौं र सातौँ शताब्दीदेखि मधेश भूमिको गढ महिसोथा भन्ने ठाउँमा थियो जुन अहिले सिरहा नगरपालिकामा पर्छ । त्यसबेला त्यहाँका सामन्त भूपाल सोमदेव र मन्दोदरीका कोखबाट वीरबालक जयवर्धन (सलहेश) को जन्म भएको थियो । उनी सानै उमेरदेखि सौर्यवान, प्रखर बुद्धिमान् थिए । सलहेशको समय कृषि र पशुपालनको प्रारम्भिक युग थियो । त्यसबेला उत्तरका किरात प्रदेश तिब्बत र भुटानबाट अन्नबाली र पशु लुटेर लान महिसोथामा बारम्बार आक्रमण हुने गर्थ्यो । भोट र किरातको आक्रमण रोक्न सलहेसका बुबा सोमदेव तरेगनागढ हालको लहान बजारभन्दा चार किमी उत्तरतर्फका राजा हिन्दूपति शम्शेर भण्डारीलाई सघाउन गए ।

भोट र किरातसँग भएको युद्धमा सोमदेवले सहादत प्राप्त गरेपछि जेठो छोराको हैसियतले सलहेश महिसोथाका गढपति बने । सलहेश गढपति भए पछि कोसीदेखि पश्चिम गण्डकीसम्म उत्तर हिमालयको पदम प्रदेश र दक्षिण गङ्गासागरसम्म आफ्नो सैन्य सङ्गठनलाई सुसङ्गठित पारेका थिए । पकडियागढीकी राजकुमारी चन्द्रावतीको नौलखा हार चोरी प्रकरणमा सलहेश समातिएपछि मालिनी नामकी सुन्दरीले सहयोग गर्दा सहलेश र मालिनीबीच प्रेम भएको भन्ने किंबदन्ती छ ।

राजा सलहेश दलितमध्ये दुसाध जातिको भएकाले आज पनि जहाँ–जहाँ दुसाध जातिका मानिस बस्छन् त्यहाँ सलहेशको मन्दिर बनाई देवताका रुपमा पूजाआजा गर्ने परम्परा छ । लहान नगरपालिकादेखि चार किमी पश्चिम दक्षिणमा ११ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा वैशाख १ गते मात्र फूलमाला देखापर्छ र दिन ढल्कँदै जाँदा बिस्तारै ओइलाउँदै जान्छ ।
अच्चमको उक्त फूल हेर्न भारतबाट समेत मानिस आउने र मेला भर्ने गर्छन् ।

किंबदन्ती अनुसार प्रत्येक वर्ष वैशाखको पहिलो दिन मालिनीले राजा सलहेशको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् । मेलाको दिन थुप्रै युवा जोडी आएर ती फूललाई साक्षी मानी प्रेमविवाह गर्छन् । मधेशमा अहिले पनि गाउँ गाउँमा गीत र महराई मार्फत सहलेश गाथा गाउने परम्परा जीवितै छ । यता, सलहेशसंगै जोडिएको पोखरियागढमा बैशाख २ गते मेला लाग्ने गरेको छ भने सोही दिन पतारी पोखरी मेला लाग्ने गरेको छ । पतारीमा ५ विघामा विशाल पोखरी फैलिएको छ ।

पोखरीको दक्षिण पट्टि राजा हरि सिंह देवको मंदिर पर्छ । यहाँको विशेषता मेला आउने भक्तजनहरु आए र जसको सन्तान छैन त्यो सन्तान प्राप्तिको लागि १ गते राती उपसना व्रत बस्छन् । रात भरि बसे र भोली दिउँसो अर्थात बैशाख २ गते त्यो पोखरीमा नुहाउने गर्छन् । नुहाएर आफ्नो संतान प्राप्ति तथा सुख शान्तीको लागि मनोकामना गर्ने गर्दछन । हरेक वर्ष झै यात्रीहरुको स्वागतका लागि बिभिन किसिमका नाच गान, सर्कस खेल र राती बस्ने अस्थायी घर बनाइएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानका पाँच महिला खेलाडीहरूले अष्ट्रेलियामा शरण माग्नु र पाउनु केवल खेलकुदको समाचार मात्र होइन, यो मानव स्वतन्त्रता र व्यक्तिगत अधिकारसँग…

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

प्रतिकृयाहरू
...