Friday 15th August 2025

मोरङमा नागरिकता लिन ‘टोकन’


तीतोपाटी-सरकारले अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुला गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ। दैनिक सैयौंको संख्यामा नागरिकता लिन जिप्रका पुग्ने गरेका छन्। भीड थामि नसक्नु भएपछि प्रशासनले आइतबारबाट नागरिकता वितरण गर्न ‘टोकन’ प्रणाली लागु गरेको छ। जन्मका आधारमा नागरिकता पाएकाको सन्तानले वंशजका आधारमा नागरिकता पाउन लामो समयदेखि माग गर्दै आएका थिए।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएपछि नागरिकता लिनेको भीड लागेको हो। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेले वैशाख ७ गते सम्मका लागि टोकन वितरण भइसकेको जानकारी दिए। ‘नागरिकता लिन दैनिक सयौं आउने गरेका छन्’, पाण्डेले भने, ‘दैनिक दुई सयलाई नागरिकता दिने गरी टोकन वितरण गरिएको हो।’

प्रशासनको गेटदेखि सडकसम्म झन्डै तीन सय मिटर क्षेत्र नागरिकता लिनेको भीडले ढाकेको छ। लामो समय लाइनमा बस्नुपर्ने झन्झट र सेवाग्राहीलाई सहज रुपमा नागरिकता दिन टोकन प्रणाली लागू गरिएको पाण्डेले जानकारी दिए। सबै कागजात लिएर टोकनअनुसार आए सेवाग्राहीले एकै दिनमा नागरिकता पाउने उनको भनाइ छ। जिल्ला प्रशासनका साथै मोरङका दुईवटा इलाका प्रशासन कार्यालयबाट पनि नागरिकता वितरण भइरहेका छन्।

एउटा इलाका प्रशासनबाट जन्मसिद्धका सन्तानमध्ये दैनिक ४० जनालाई वंशजको नागरिकता दिने गरिएको पाण्डेले बताए। जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानमध्ये आइतबारसम्म जिल्ला प्रशासनबाट ५ सय ८३ जनाले वंशजको नागरिकता लिएसकेका छन्। गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेको हुँदा बिहीबारदेखि मोरङमा समेत त्यस्तो नागरिकता प्रदान गर्न थालिएको सहायक प्रजिअ पाण्डेले जानकारी दिए।

अंगीकृतका सन्तानलाई वंशजको नागरिकता दिने बाटो खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीड बढेको छ।

नागरिकता लिनेको संख्या एक्कासी बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता फाँटमा कर्मचारी पनि थपेको छ। सहायक प्रजिअ पाण्डेका अनुसार नागरिकता फाँटमा यसअघि ५ जना कर्मचारी रहेकोमा अहिले ९ जना छन्। नागरिकता वितरण सहज बनाउन अन्य कार्यालयबाट पनि कर्मचारी ल्याइएको उनले बताए। लामो समयपछि वंशजको नागरिकता पाएका जन्मसिद्धका सन्तानले मतदाता परिचय पत्र पनि बनाउन थालेका छन्। नागरिकता नहुँदा मतदान गर्ने अधिकारबाट बञ्चित हुँदै आएको उनीहरुको गुनासो छ।

नागरिकता लिन आउनेलाई आवश्यक कागजात हेरेर टोकन दिंदै कर्मचारी।

२०६३ सालमा नागरिकता टोलीले गाउँगाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो। जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान बालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाई र रोजगारीको अवसरबाट बञ्चित बन्नु परेको थियो। विराटनगर–११ का दिपेश यादवले भने, ‘यसअघि नागरिकता नहुँदा पढाइ अगाडि बढाउन र जागिर खान पाइएको थिएन। नागरिकता पाएँ अब लोकसेवाको तयारी गर्छु।’

विराटनगरकै विक्रम सहनीले नागरिकता नहुँदा उच्च शिक्षा अध्ययन गर्न नपाएको बताए। मोरङको कटहरी गाउँपालिका –४ कि कविता ठाकुरले वंशजका आधारमा नागरिकता पाउँदा खुसी लागेको बताइन्। ‘नागरिकता नहुँदा अनेक हण्डर बेहोर्नु परेको थियो’, उनले भनिन्, ‘नागरिकता पाएपछि ती हण्डरबाट मुक्ती मिलेको छ।

साभार अन्नपूर्णपोस्ट


सम्बन्धित शीर्षकहरु

कहिले कृषी मन्त्रालयमा बजेट छैन भन्ने कहिले निगुरोलाई किसानले मल हालेर अभाव भएको बयान दिने कृषी मन्त्री को बयान ले…

विषाक्त रक्सीको सेवनबाट कुवेत का विभिन्न अस्पतालहरूमा भर्ना भएका ६३ जना मध्ये १३ जनाको मृत्यु भईसकेको छ । देशभरका सुरक्षा…

तितोपाटी -  पाल्पामा सहकारी संस्थाकाे रकम हिनामिना गरेकाे आराेपमा रम्भा गाँउपालिकामा मुख्य कार्यालय रहेको  लालीगुँरास वचत तथा ऋण सहकारी संस्थाका…

प्रतिकृयाहरू
...