तीतोपाटी-कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ज-जसलाई समायो, सबै डीएनए नमिलेपछि छुटे ।
अनुसन्धानका क्रममा पक्राउ परेका दिलिप सिंह विष्टदेखि प्रदीप रावलसम्मले प्रहरीको दबाव वा स्वस्फर्त रुपमा अभियोग स्वीकार गरे । तर, उनीहरुको डीएनए म्याच भएन ।
कुनै पनि घटनामा डीएनएन नै सबै प्रमाण होइन । सर्वोच्च अदालतको फैसला यसको नजिर हो । तर, निर्मला प्रकरणमा प्रहरी सामू डीएनएन नै सबैथोक बनेको छ ।
पछिल्लो पटक प्रहरीले हत्यामा संलग्न भएको आशंकामा अछामबाट दुई जनालाई नियन्त्रणमा लिइएको छ । स्रोतकाअनुसार डीएनए परीक्षणका लागि उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ । तर, डीएनए परीक्षण नगरेसम्म प्रहरी बोल्न तयार छैन ।
स्रोतका अनुसार पक्राउ परेका दुई व्यक्ति पन्तको हत्या भएको दिन कञ्चनपुर आसपास नै थिए । घटनापछि नदेखिएका उनीहरुको बयान शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।
६० बढीको डीएनए जाँच
प्रहरीले सुरुमा अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिप सिंह विष्ट डीएनए नमिलेकै कारण छुटे । जबकी, उनले प्रहरीलाई दिएको बयानमा हत्या अभियोग स्वीकार गरेका थिए ।
तत्कालिन कञ्चनपुर प्रहरी र अनुसन्धानका लागि काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रमाण नष्ट गरेको आरोपमा सरकारले प्रहरी अधिकारीमाथि कारबाही गरेको थियो । तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्ट बर्खास्त नै भइसकेका छन् भने ब्युरोका डीएसपी अंगुर जिसी निलम्बित छन् ।