Friday 27th March 2026

हिन्दुबारे अपमानजनक टिप्पणीले गयो मन्त्रीको जागिर


तीतोपाटी-पाकिस्तानको पञ्जाव प्रान्तका  सूचना तथा संस्कृति मंत्री फैयाज उल हसन चौहानले हिन्दु धर्मावलम्बीबारे गरेको एक टिप्पणीले मन्त्री पदबाट हात धुनुपरेको छ ।

 पाकिस्तानको चर्चित पत्रिका डनका अनुसार अल्पसंख्यक हिन्दुबारे गरेको टिप्पणीलाई लिएर उने माफी मात्रै माग्नुपरेन, मन्त्री पदबाटै पनि हात धुनु परेको छ।

विवादास्पद टिप्पणीपछि उनलाई उनको पार्टी पीटीआईले चर्को आलोचनापछि मन्त्री पदबाट हटाएको हो । यसअघि मन्त्री चौहानले टिप्पणीबारे सफाई दिँदै भनेका थिए, ‘मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय सेना र सञ्चारमाध्यमलाई लिएर यस्तो भनेको थिएँ ।’

जियो टिभीका अनुसार उनको स्पष्टिकरणले कुनै काम गरेन । पञ्जावका मुख्यमन्त्री उसमान बुज्दारले आफ्नो निवासमा बोलाएर हिन्दुहरुबार अपमानजनक टिप्पणी गरेकोमा पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

पाकिस्तान तहरिक ए इन्साफ (पीटीआई) का नेता तथा पञ्जाबका सूचना, संस्कृति मन्त्री फैयाज उल हसन चौहानले गाईको पिशाव खाने मानिस भन्दै अपमानजनक टिप्पणी गरेका थिए ।

‘हे ! गाईको पिशाव पिउनेहरु, सुन, हामी  मुस्लिम हौँ र हामीसँग झण्डा छ’, उनले एक पत्रकारसँगको कुराकानीमा भनेका थिए, ‘मौला अलीको सौर्यको झण्डा, हजरत उमरको वीरताको झण्डा। तपाईँहरु आफू सात गुणा उत्कृष्ट रहेको भ्रममा नपर्नुस । हामी जो छौँ तपाईँहरु जस्तो मूर्ति पूजक हुन सक्दैनौँ ।’

हिन्दुहरुबारे यति उग्र कुरा गरेका उनले केही बेरमा माफी मागेका थिए । उनले यो टिप्पणी भारत-पाकिस्तान तनावकाबीच पुलवामामा आतंकवादी हमलाका सन्दर्भमा बोलेको बताएका थिए । यस्तो टिप्पणीपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो ।

चौहानले मन्त्री पद संकटमा परेपछि आफ्नो विरोध भारत प्रधानमन्त्री मोदी र उनको सेना तथा सञ्चारमाध्यमलाई लिएर रहेको बताएका थिए । उनले पाकिस्तानमा रहेका हिन्दुलाई लिएर आफूले त्यस्तो नबोलेको भन्दै बचाउको प्रयास गरेका थिए । ‘यदि मेरो कुराले पाकिस्तानमा रहने हिन्दुको भावनामा चोट पुगेको हो भने म माफी माग्छु । तर मेरो टिप्पणी पाकिस्तानमा रहने हिन्दुहरुलाई लिएर होइन ।’

उनले पाकिस्तानलाई गलत नजरले हेर्नेलाई मुखभरीका जबाफ दिने पनि बताए । आफ्नो एक थोपा रगत रहुन्जेल देशको लागि लड्ने उनले जिकिर गरे ।

पाकिस्तामा विरोध

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको पार्टीका एक मन्त्रीले हिन्दुलाई लिएर गरेको अपमानजनक टिप्पणीको केन्द्रीय मानवाधिकार मन्त्री शिरिन मजारीले कडा शब्दमा निन्दा गरे ।

उनले कुनै पनि धर्ममा हुने हमलालाई आफूहरुले सहन नसक्ने प्रतिक्रिया दिए । हिन्दुहरुले देशका लागि कयौँ बलिदान दिएको बताउँदै उनले प्रधानमन्त्री इमरान खान पनि धार्मिक सहिष्णुताको पक्षमा रहेको बताए । यस्तोमा आफूहरुले धार्मिक कट्टरता र धार्मिक घृणालाई समर्थन गर्न नसक्ने उनले प्रष्ट पारे ।


सम्बन्धित शीर्षकहरु

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

मध्यपूर्वको वर्तमान परिवेश फेरि एकपटक देखाउँदैछ—यहाँ सत्यभन्दा पनि “व्याख्या” शक्तिशाली हुन्छ। एउटै भनाइ, एउटै संकेत, तर दुई विपरीत निष्कर्ष। इरानी…

प्रतिकृयाहरू
...