Saturday 9th August 2025

भारतबाट १७९ नेपालीको उद्दार प्रकरण : अनुसन्धान थाल्दै मानव बेचबिखन ब्यूरो


तीतोपाटी- नेपाल प्रहरीमा पछिल्लो पटक थपिएको मानव बेचबिखन ब्यूरोले काम थालेको छ । हाल प्रहरी प्रधान कार्यालय, नक्सालबाटै ब्यूरोका अधिकारीहरुले अनुसन्धानको काम थालेका हुन् ।

स्रोतका अनुसार भारतको मणिपुरबाट१७९ जना नेपालिलाई उद्धार गरेर ल्याइएको घटनाको अनुसन्धानको जिम्मेवारी ब्यूरोलाई दिइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी पनि भन्छन्, ‘ब्यूरोले अहिले हेडक्वार्टरबाटै काम थालेको छ । भारतबाट उद्दार गरेर ल्याइएको घटनाको अनुसन्धानमा पनि ब्यूरो संलग्न छ ।’

उनका अनुसार ब्यूरो चाँडै बबरमहतस्थित कानून व्यवस्था विभागको भवनबाट सञ्चालनमा आउनेछ । ‘डेकुरेसनका कामहरु भइरहेका छन् । चाँडै औपचारिक रुपमा उद्घाटन हुनेछ’, सुवेदीले अनलाइनखबरसँग भने, ‘अनौपचारिक रुपमा ब्यूरोले काम थालिसकेको छ ।’

हाल ह्यूमन ट्राफिकिङ ब्यूरो (एचटीबी) मा एसएसपी ईश्वरबाबु कार्कीको नेतृत्व छ । कार्कीको नेतृत्वमा ब्यूरोका अधिकारीहरुले भारतबाट पूर्वी नाका काँकरभिट्टा हुँदै काठमाडौं ल्याइएका व्यक्तिहरुमाथि थप अनुसन्धानको तयारी गरेका छन् ।

स्रोतका अनुसार मनोसामाजिक परामर्शपछि प्रहरी अधिकारीहरुले उनीहरुसँग बयान र सोधपुछ गर्नेछन् । उनीहरुलाई भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लान लागिएको थियो ।

दिल्लीस्थित नेपाली राजदूतावासको सूचनामा मणिपुर सरकार र मणिपुर प्रहरीको सहयोगमा १४७ महिला र ३२ पुरुषलाई बुधबार काठमाडौं ल्याइएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहायक प्रवक्ता पृथबहादुर केसीका अनुसार हाल उद्दार गरिएका मध्ये ९४ जना माइती नेपाल, ३२ जना प्रवासी नेपाली समन्वय समिति, १५ जना आम्कास नेपाल, १० जना शक्ति समूह, २० जना पौरखी नेपाल र ८ जनालाई साथी नामक संस्थामा राखिएको छ ।

मन्त्रालयका अधिकारीहरुका अनुसार भारतको मणिपुरसम्म उनीहरुलाई पुर्‍याएको आरोपमा ५ जनालाई पक्राउ समेत गरिएको छ । यद्यपि, त्यसबारे विस्तृत विवरण नेपाल प्रहरीले पाएको छैन ।

साइबर ब्यूरो भोटाहिटीमा राखिँदै

सरकारको मन्त्रीपरिषद् स्तरीय निर्णयबाट केही महिना अघि मात्रै एचटीबी र साइबर क्राइम ब्यूरो (सीसीबी) स्थापनाका लागि प्रहरीले दरबन्दी पाएको थियो । एचटीबी सञ्चालनमा आइसके पनि साइबर ब्यूरो भने सञ्चालनमा आइसकेको छैन ।

स्रोतका अनुसार साइबर ब्यूरो भोटाहिटीस्थित गृहमन्त्रालयको स्वामित्वमा रहेको एउटा घरमा राख्ने तयारी गरिएको छ । यद्यपि, पूर्ण रुपमा टुंगो लागिसकेको छैन ।

हाल सीसीबीको नेतृत्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) विकाश श्रेष्ठले गरिरहेका छन् । सीसीबीमा एक जना एसएसपी, दुई एसपी, ४ डीएसपी, ७ प्रहरी निरीक्षक, १२ सई, १३/१३ जना असई, हवल्दार र १३ जवानसहित र दुई कार्यालय सहयोगी गरी ६८ जनाको दरबन्दी छ ।

साभार अनलाईन खबर


सम्बन्धित शीर्षकहरु

हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजा युद्धविराम वार्तालाई जानाजानी तोडफोड गरेको आरोप लगाएको छ र पट्टीको पूर्ण सैन्य नियन्त्रण लिने…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई अमेरिकी आणविक पनडुब्बीहरू रूसको नजिक सारेको बताएको केही दिनपछि रूसी र चिनियाँ नौसेनाहरूले जापानको सागरमा…

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

प्रतिकृयाहरू
...