Friday 8th August 2025

बुटवलमा ब्यक्ति हत्यामा कमी, अवैध यौन धन्दामा बृद्धि


तीतोपाटी-बुटवलमा प्रदेश सरकारको उपस्थितिपछि मानिसहरुको चहलपहल बढेलगत्तै बहुविवाह, बलात्कार लगायत यौन मामिलाका घटना विगतको तुलनामा बढेका छन् । तर पछिल्लो ३ बर्षयता क्रमिक रुपले व्यक्ति हत्याको घटनामा भने कमी आएको छ । चालू आर्थिक वर्षको पछिल्ला ६ महिनामा अघिल्लो बर्ष भरकै हाराहारीमा बलात्कारका घटना घटेका छन् ।  यद्यपि, त्यहाँको प्रहरी सबै घटनाका अभियुक्तहरु पक्राउ गरी कानुनी कठघरामा उभ्याउन सफल भएको छ ।

गत साउन महिनादेखि  पुस मसान्तसम्म  १४ वटा बलात्कार उद्योग र  १३ वटा बलात्कार घटनासहित २७ वटा बलात्कारका घटना घटेको बुटवल ईलाका प्रहरी कार्यालयबाट प्राप्त घटना विवरणमा उल्लेख छ । त्यसका अलवा एउटा अप्राकृतिक मैथुनको मुुद्धा समेत दर्ता भएको छ ।  १३ वटा बलात्कार मुद्धामध्ये १२ वटा फस्र्योट भइसकेको र एउटा बाँकी रहेको सो कार्यालयका सुुचना अधिकृत प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।  उनका अनुुसार १४ वटा बलात्कार उद्योगको मुद्धामध्ये १० वटा फस्र्योट भइसकेको र ४ वटा बाँकी रहेका छन् ।

जबकि आर्थिक बर्ष २०७४/०७५ को बर्ष भर १५ वटा बलात्कार र १३ वटा बलात्कार उद्योगका मुद्धा दर्ता भएका थिए । त्यसको अघिल्लो बर्ष १५ वटा बलात्कार र १७ वटा बलात्कार उद्योगका घटना दर्ता भएका थिए । तर यस आर्थिक बर्षको ६ महिनामै अघिल्लो तीन प्रतिबर्षकै हाराहारीमा बलात्कारका घटनामा बृद्धि भएपछि बुटवल नगरीमा महिला थप असुरक्षित भएको घटना विवरणले पुष्टि गर्दछ ।

व्यक्ति हत्यामा कमी, सुःखद पक्ष

पछिल्लो  ३ बर्षको व्यक्तिहत्या घटना विवरण हेर्दा यस बर्षको ६ महिना सुःखत पक्ष रहन गएको छ । आर्थिक बर्ष २०७३÷०७४ मा १३ वटा ब्यक्ति हत्याका घटना बुटवल ईलाका प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यसका अरोपी सबै पक्राउ परी कानुनी कठघरामा उभ्याइएका थिए ।

दोश्रो अर्थिक वर्ष २०७४/०७५ मा दोब्बर घटेर ७ वटा मात्र व्यक्ति हत्याको घटना घटे र आरोपी पनि सबै पक्राउ परी मुद्धा फस्र्योट गरियो । यस आर्थिक बर्षको ६ महिनामा एउटा पनि व्यक्ति हत्याका घटना त्यस कार्यालयमा दर्ता भएका छैनन् ।  पछिल्ला २ आर्थिक बर्षमा प्रति बर्ष ८÷८ वटा ज्यान मार्ने उद्योग सम्वन्धि मुद्धा दर्ता र फस्र्योट भएकोमा यस आर्थिक बर्षको पछिल्लो ६ महिनामा त्यस्तो मुद्धा एउटा पनि परेका छैनन् ।

पछिल्लो ३ बर्षका यस्ताखाले सबै मुद्धा फस्र्योट भइसकेको सो कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले बताए । ‘म आई सकेपछि घटेका बलात्कार, हत्या–हिंसा र अन्य अपराध घटनाका आरोपीहरु सबै पक्राउ गरी कानुनी कठघरमामा उभ्याई सकिएको छ, डिएसपी मल्लले भने जनघनत्व बढेसँगै अपराधिक घटना बढे होलान तर कुनै पनि अपराधी फुत्किन सकेको छैन ।’

किन भयोे व्यक्ति हत्यामा कमी ?

गुण्डा नाइकेहरु र डरलाग्दा घटनाका अपराधीहरुलाई पक्राउका क्रममा प्रहरीले इन्काउन्टर सुरु गर्यो ।  त्यसबाट शहरमा गुण्डा नाइके र अन्य अपराधिक गिरोहहरुको सञ्जाल तितर–वितर हुन थाल्यो । केही बर्ष अघिसम्म साँझ परेपछि सडकमा चुल्ठे–मुन्द्रेहरुको बिगबिगीले सर्वसाधरणलाई बाहिर निस्कन डर त्रास हुन्थ्यो । अहिले त्यस्तो गिरोह बजारमा कमै मात्रमा संगठित छन् ।

व्यक्ति हत्या र लुटपाटमा कमी आउनुमा पहिलो कारण यहि मान्न सकिन्छ । दोश्रो कारण ः ठेक्का पट्टामा गुण्डा प्रयोग र रिस साँधासाँधको अन्त्य गर्यो । ठेक्कापट्टामा अनलाईन सिष्टमले ।  यो सिस्टम सुरु भएपछि हिजो गुण्डागिरीबाट जिविका चलाउनेहरुमध्ये अधिकांश अहिले उनै ठुला ठेकेदारुको डोजरका पछि लाग्न थाले । तेश्रो कारण ः विगतको जस्तो अपराधिक घटनामा राजैनिक दलको संरक्षण कमै रहन थाल्यो ।

गुण्डा नाईकेहरुलाई समेत राजनैतिक दलको भर हुन छाड्यो ।  प्रहरी संगठनलाई  पनि राजनैतिक हस्तक्षेप कम मात्रमा हुन थाल्यो । अपराधी पत्ता लगाउन प्रहरीको सक्षमता  र नयाँ प्रविधिको विकास पनि बढ्यो । बर्षऔं पुराना फरार अभियुक्त पनि धमाधम पक्राउ पर्न थाले पछि मानिसहरु  हिंसक मानसिकता त्याग्दै जान थालियो ।

चौथो कारण: हिजो आफुलाई ग्याङ्ग स्टार, डन भन्न रुचाउनेहरु पछिल्लो चरण विभिन्न राजनैतिक दलमा लागेर नैतिक, सामाजिक रुपले प्रशिक्षित र जिम्मेवार हुन थाले । ५ औं कारण ः रोजगारी र स्वरोजगारीको माध्यम पनि विगतको भन्दा बढ्यो । व्यवसायिक कृषि, पशुपालन, अन्य व्यवसाय र बैदेशिक रोजगार समेतले युवाहरुलाई समृद्धितर्फ डोरायो ।

संहिता लागू भएपनि परस्त्री संगतमा कमी आएन

भदौं १ गते देखि मुलुकी संहिता लागू भयो । दोश्रो विवाह स्वतः बदर, पहिलाभन्दा कडा कार्वाही हुने भएपछि अब भने वहुविवाह गर्न पुरुषहरु डराउने भए भनिदै थियो ।  तर  पछिल्लो ६ महिनामा बुटवल ईलाका प्रहरी कार्यालयमा मात्रै ९ वटा बहुविवाहका मुद्धा दर्ता भएका छन् ।

जबकी पछिल्ला दुई बर्ष यता १५ वटा बहुविवाहका मुद्धा दर्ता भएका थिए । यो  पछिल्लो  तथ्याङकले विगतको दोब्बर बहुविवाहका मुद्धा बढ्ने देखाएको छ ।  प्रदेश ५ का अन्य जिल्लाहरुमा पनि यहि संख्यामा बहुविवाहकामुद्धा दर्ता भईरहेको जनाईएको छ ।

जेठी देखाउने कान्छी लुकाउने चलन बढ्यो

हामीलाई प्राप्त जानकारीअनुसार मुलुकी संहिता लागू भएदेखि बुटवल, भैरहवा, पाल्पा, दाङ्ग, नेपालगञ्ज, कपिलवस्तु लगायतका ठूला शहरमा केही ठुला व्यवसायी र अन्य पेशाबाट पैसावाला बनेकाहरुले भदौंअघि जेठी श्रीमतीलाई जलनमा पार्ने गरी देखाउन चाहेकाहरुले पनि कान्छी श्रीमती धमाधम लुकाएर राख्न थालेका छन् ।

पाल्पामा दुई प्रतिष्ठित व्यवासायीहरुले जेठी श्रीमतीलाई दमनमा राखी दुई कान्छी श्रीमती लुकाएर राखेको  चर्चा यतिबेला चुलिएको छ । गुल्मीका दुई व्यवसायीहरुले पनि एउटाले नारायणघाट त अर्काले बुटवलमा कान्छी श्रीमती लुकाई राखेको जेठी श्रीमती पक्षधरले नाम नखुलाउने सर्तमा बताएका छन् ।

त्यस्तै भैरहवा र बुटवल नगरीमा एकथरी महिलाहरु गर्लफ्रेन्डका नाममा पेशेवर अस्थाई कान्छी श्रीमती बन्ने गरेको समेत पाइएको छ । बेला बेलामा आवश्यक पर्ने रकम दिन सक्नेहरुले त्यस्ता महिलाहरुको मोहमा फस्न्ने गरेको जानकारहरु बताउँछन् ।


सम्बन्धित शीर्षकहरु

दिल्ली, अगस्ट ६ , भारतले चाँडै नै फिलिपिनी पर्यटकहरूलाई निःशुल्क ई-भिसा प्रदान गर्नेछ, जुन दुई देशहरू बीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ…

उत्तरी भारतको उत्तराखण्ड राज्यको पहाडी गाउँमा मंगलबार बाढीको पानीको बाढीले कम्तिमा चार जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता…

लन्डन: बेलायतले मंगलबार सम्झौता अनुमोदन भएपछि केही दिनभित्रै साना डुङ्गाहरूमा फ्रान्स आइपुगेका केही आप्रवासीहरूलाई फिर्ता पठाउने सम्झौता कार्यान्वयन गर्न सुरु…

प्रतिकृयाहरू
...