Thursday 15th May 2025

ललितपुरमा गृहकार्य नगरेको भन्दै शिक्षकद्वारा विद्यार्थीमाथि यातना


तितोपाटी – ललितपुरको एक सरकारी विद्यालयका गृहकार्य नगरेको निहुँमा विद्यार्थीलाई यातना दिँदा त्रासले विद्यार्थी विद्यालय जानै छाडेका छन्।

ललितपुर जिल्लाको उत्तरी भेगको बागमती गाउँपालिका–४ स्थित प्युटारको श्री कालिदेवी माध्यामिक विद्यालयका विज्ञान शिक्षक बज्रकिशोर साहले गृहकार्य नगरेको निहुँमा १२ वर्षीय विद्यार्थी दर्शन गौतमलाई गत मंसिर १३ गते शारिरीक यातना दिएका थिए। शिक्षक शाहले गृहकार्य नगरेको भन्दै दर्शनलाई कक्षा बाहिर उभ्याएर तीन सय ५० पटक कान समातेर उठबस गर्न लगाए। उठबस गरिसकेपछि उनी बेहोस भएर ढले।

दर्शन बेहोस भएपछि साथीहरुले उनलाई नजिकैको स्वास्थ्य चौकी पुर्याए। त्यहाँ उनको उपचार भयो। उनी होसमा आए। फर्किएर जसोतसो कक्षामा बसे। उनी निन्याउँरो मुख लगाएर घर पुगे। कोहीसँग बोलेनन्। कोठामा चुकुल लगाएर एक्लै कोपनि बसे। उनको व्यवहारले अभिभावकलाई चिन्ता भयो।

उनको दाजु दीपक गौतमले सोधखोज गर्दा विज्ञान शिक्षक साहले सबैको सामुन्ने भाइको वेइज्जती गरी उठबस गराएकाले भाइ मानसिक तनावमा रहेको तथ्य थाहा पाए। ‘त्यो दिन स्कुलबाट आएर हामी कोहीसँग बोलेन,’ दाजु दीपकले नागरिकसँग भने, ‘सजायले भाइको खुटा सुन्निएर हिँड्न नसक्ने भएको छ। टोलिइरहने, कोहीसँग केही नबोल्ने भएको छ।’

स्कुलमा दण्डरहित वातावरणमा बालबालिका पढाउनुपर्ने सरकारी नीति भए पनि स्कुलका शिक्षकहरुले सजाय दिनु असह्य भएको बताउँदै दाजु दीपकले शारीरिक यातना दिने शिक्षकलाई कारबाही हुनुपर्ने माग गरे। उनले घटनाबारे चापागाउँ प्रहरीचौकीमा उजुरी दिएका छन्। कक्षा ८ मा अध्ययनरत दर्शनको मंसिर ११ र १२ दिदीको विवाह भएकाले बिदाका लागि अग्रीम निवेदन दिएका थिए।

पहिलो होइन तेस्रो घटना
प्युटारका कालिदेवी माविका विज्ञान शिक्षक बज्रकिशोर साहले विद्यार्थीहरुमाथि गर्ने उद्दण्डको पहिलो घटना भने होइन। शिक्षक साह अलि रिसाहा नै भएको विद्यालयका अन्य शिक्षकहरुले नागरिकलाई बताएका छन्।

कक्षा १२ सम्म ४ सय विद्यार्थी अध्ययनरत कालिदेवी माविका विज्ञान शिक्षक शाहले पाँच वर्षअघि कक्षा ५ मा अध्ययनरत स्थानीय दिनेश घलेलाई गहकार्य नगरेको निहुँमा यातना दिने क्रममा घलेको कानको जाली नै फुटाइदिएका थिए। दुई वर्षअघि पनि कक्षा ६ का भुवन न्यौपानेलाई गृहकार्य नगरेकोमा निहुँमा शिक्षक साहले मुखै बाँगो हुने गरी कुटपिट गर्दै यातना दिएका थिए। साहको यातनापछि उनीहरु स्कुल आउन छाडका छन्।

शिक्षकले कुटेकै भरमा विद्यार्थीहरु स्कुल आउन छाड्नु राम्रो होइन गौतमले भने। ‘शिक्षक साहले विद्यार्थी कुट्दै उपचारको लागि रकम दिएजस्तो गरेर मिलापत्र गराउँदै आएका छन्,’ दीपकले भने, ‘दर्शनेका घटनामा पनि साहले पाँच हजार उपचार खर्च दिएर बुवासँग जबरदस्ती मिलापत्र गराएका छन्। त्यस्तो मिलापत्रले हुँदैन। दोषी शिक्षकले सजाय पाउनै पर्छ।’ उनले साहविरुद्ध प्रहरी कार्यालय चापागाउँमा उजुरी दिएको पनि बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन लामाले शिक्षक साहले विद्यार्थी कुटेको कुरा सोही विद्यालयमा अध्ययनरत आप्mनो छोराबाट थाह पाएको बताए। ‘मेरो छोरा पनि दर्शनसँगै पढ्छ। मैले छोराबाटै घटना थाहा पाएँ,’ अध्यक्ष लामाले नागरिकसँग भने, ‘त्रासका कारण विद्यार्थीले स्कुलको कुरा घरमा नभन्ने हुँदा पनि कति कुरा समयमै थाहा पाउन गाह्रो हुन्छ।’ उनले घटनाबारे थाहा पाएपछि स्कुलमा कुरा राखेको बताए।

‘पहिला पनि साह सरले दुई विद्यार्थीलाई कान फुट्ने र मुख बाङ्गिने गरी कुटेका थिए। ती घटना पनि बल्लतल्ल पैसा दिएर मिलाएको हो,’ उनले भने। बालबालिकालाई बालमैत्री बातावरणमा पठनपाठनको व्यवस्थापन गर्नु स्कुलको दायित्व हुने बताउँदै स्कुलसँग सोको व्यवस्था गर्न माग गरेको दाबी गरे।

विद्यालयका प्रधानाध्यापक ठाकुर लामाले शिक्षक साहले यातना दिएको थाहा पाउनासाथ दर्शनलाई पानी खुवाएर स्वास्थ्य चौकीमा उपारका लागि पठाइदिएको बताउँदै अबदेखि कुनै पनि बालबालिकालाई नकुट्न शिक्षक साहलाई चेतावनी दिइएको बताए। विगतका दुई घटनाका बारेमा भने उनले अनभिज्ञता जनाए। ‘विगतका घटनाहरु अभिभावकले आफैं मिलाएका रहेछन् त्यो मैले थाह पाइनँ,’ प्रधानाध्यापक लामाले भने, ‘ती घटना पहिले नै थाहा पाएको भए दर्शनको यो घटना हुने थिएन। दर्शनको सवालमा मैले शिक्षक साहलाई कारबाही स्वरुप आइन्दा कुनै नानीलाई नकुट्ने लिखित चेतावनी दिएको छु।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुन्ठ अर्यालले मन्त्रालयले देशभरिका शैक्षिक संस्थाहरुलाई दण्डरहित वातावरणमा बालबालिकालाई स्कुलमा पठनपाठनको व्यवस्था मिलाउन निर्देशिका नै जारी गरिसकेको अवस्था दण्डसजायको गुञ्जायस नै नभएको जनाए। ‘बालबालिकालाई कुनै पनि बहानामा शिक्षकले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिन नपाइने सरकारी नीति छ। बालअधिकार संरक्षणसम्बन्धि विभिन्न नीति नियम बनेर कार्यान्वयनमा आएको छ,’ प्रवक्ता अर्यालले भने, ‘दण्ड दिने स्कुलका शिक्षक र स्कुलका प्रअलाई समेत कारबाही हुन्छ।’


सम्बन्धित शीर्षकहरु

चर्चित लोकगायक प्रकाश सपुतको म्युजिक भिडियो सकम्बरी मार्फत चर्चामा आएकी २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट…

नुवाकोट घर भएर काठमाडौँ बस्ने २८ वर्षीया विमला तामाङ्ग मृत भेटिएकी हुन् । काठमाडौँको बागबजारस्थित गेस्ट हाउसमा २०८१ चैत २९…

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

प्रतिकृयाहरू
...