Monday 4th August 2025

एम्नेष्टीले सुकीलार्इ दिएको ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लियो


तितोपाटी – एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको जनाएको हो ।

सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन् । उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् । सुकीलाई एम्नेस्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो । म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो ।

म्यानमारका अल्पसंख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उनले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रुपमा बसिरहेका उनीहरुलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकै बेला एम्नेस्टीले उनलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत जनाएका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्,’सुकी एक समय आशा, अपेक्षा र साहसको प्रतीकका रुपमा उभिनुभएको थियो र उहाँले म्यानमारमा मानव अधिकारको रक्षाका लागि लड्ने एक अथक योद्धाको परिचय स्थापित गर्नुभएको थियो र हामीले यो उच्च सम्मान दिएका थियौँ । तर अहिले त्यस्तो अवस्था रहेन । उहाँलाई प्रदान गरिएको सो पुरस्कारको धेरै अपमान भएकाले आजका मितिदेखि सो सम्मान फिर्ता लिएका छौँ’ नाइडूले भनेका छन् ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सम्बोधन गरी पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिइएको पनि बताएका छन् । साथै महासचिव नाइडूले सुकी म्यानमार सरकारको नजरबन्दमा रहेको समयमा देखाएको तथा दशकौँसम्म उनको प्रजातन्त्रप्रति निष्ठा रहेकामा अहिले आएर देखाएको यो व्यवहारबाट आफू र सिंगो एम्नेस्टी इन्टरनेशनल स्तब्ध र दुःखी भएको पनि बताएका छन् ।

सुकीलाई म्यानमार सरकारले उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेस्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ पनि घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको २० वर्षपछि सुकीलाई एम्नेष्टीले आफैँले प्रदान गरेको अर्को सर्वोच्च सम्मान पनि फिर्ता गरेको जनाएको हो । एम्नेस्टीको यो सर्वोच्च सम्मान यसअघि दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मन्डेलाले पाएका थिए ।


सम्बन्धित शीर्षकहरु

देइर अल-बलाह, गाजा पट्टी: भोकमरी, अभाव र सहायता वितरण स्थलहरू नजिकै घातक अराजकतामाथि अन्तर्राष्ट्रिय आक्रोशको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका…

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

प्रतिकृयाहरू
...