Tuesday 17th February 2026

एम्नेष्टीले सुकीलार्इ दिएको ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लियो


तितोपाटी – एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ (स्टेट काउन्सिलर) आङ सान सुकीलाई दिइएको एउटा सर्वोच्च सम्मान फिर्ता लिएको जनाएको छ । गत वर्षदेखि घर छोडेर भाग्न बाध्य भएका लाखौँ रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायप्रति सुकीले न्याय गर्न नसकेको भन्दै एम्नेस्टीले ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ फिर्ता लिएको जनाएको हो ।

सुकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ हुन् । उनी विश्वको सबैभन्दा प्रतिष्ठित मानिएको नोबेल शान्ति पुरस्कार विजेता पनि हुन् । सुकीलाई एम्नेस्टी इन्टरनेशनलले सन् २००९ मा आफ्नो सर्वोच्च सम्मान ‘एम्बेसेडर अफ कन्साइन्स अवार्ड’ दिएको थियो । म्यानमारको सैनिक सरकारबाट आफ्नै घरमा नजरबन्दमा रहँदा सुकीलाई सो सम्मान दिइएको थियो ।

म्यानमारका अल्पसंख्यक रोहिङ्ग्या नागरिकलाई सुकी सरकारमा रहेका बेला नराम्रो व्यवहार भएको र उनले छिमेकी देश बङ्गलादेशमा शरणार्थीका रुपमा बसिरहेका उनीहरुलाई स्वदेश फिर्ता गर्न कुनै पहल नगरेको विश्व समुदायको गुनासो रहेकै बेला एम्नेस्टीले उनलाई दिएको पुरस्कार नै फिर्ता लिएको हो ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सन् २००९ मा दिइएको उक्त सम्मान फिर्ता गरिएको जानकारी ट्वीटरमार्फत जनाएका छन् । उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्,’सुकी एक समय आशा, अपेक्षा र साहसको प्रतीकका रुपमा उभिनुभएको थियो र उहाँले म्यानमारमा मानव अधिकारको रक्षाका लागि लड्ने एक अथक योद्धाको परिचय स्थापित गर्नुभएको थियो र हामीले यो उच्च सम्मान दिएका थियौँ । तर अहिले त्यस्तो अवस्था रहेन । उहाँलाई प्रदान गरिएको सो पुरस्कारको धेरै अपमान भएकाले आजका मितिदेखि सो सम्मान फिर्ता लिएका छौँ’ नाइडूले भनेका छन् ।

एम्नेस्टी इन्टरनेशनलका महासचिव कुमी नाइडूले सुकीलाई सम्बोधन गरी पत्र लेखेर सम्मान फिर्ता लिइएको जानकारी दिइएको पनि बताएका छन् । साथै महासचिव नाइडूले सुकी म्यानमार सरकारको नजरबन्दमा रहेको समयमा देखाएको तथा दशकौँसम्म उनको प्रजातन्त्रप्रति निष्ठा रहेकामा अहिले आएर देखाएको यो व्यवहारबाट आफू र सिंगो एम्नेस्टी इन्टरनेशनल स्तब्ध र दुःखी भएको पनि बताएका छन् ।

सुकीलाई म्यानमार सरकारले उनकै घरमा नजरबन्द गरेर राखेको थियो । उनलाई एमनेस्टीले १९८९ मा ‘राजनैतिक बन्दी’ पनि घोषणा गरेको थियो । राजनैतिक बन्दी घोषणा गरेको २० वर्षपछि सुकीलाई एम्नेष्टीले आफैँले प्रदान गरेको अर्को सर्वोच्च सम्मान पनि फिर्ता गरेको जनाएको हो । एम्नेस्टीको यो सर्वोच्च सम्मान यसअघि दक्षिण अफ्रिकाका सर्वोच्च नेता नेल्सन मन्डेलाले पाएका थिए ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...