तीतोपाटी – खेतीमा काम मिल्यो,सखरखण्ड गोड्ने।कम्पोर्टा भनेपनि खै कता कता।शहर छिर्न थुप्रै लाग्ने,बस देख्नै नपाईने। ससाना रुखहरुको जंगलमा बालुवै बालुवाजस्तो माटो छिचोलेर हिड्न डरलाग्दो छ एक्लै। बस्ने घर सल्लाका बुटामुनी टिनका खिया लागेका थोत्रा कन्टेनरहरु।केही नेपाली केटाहरु,बाँकी बंगाली र ईन्डियनहरु।नेपालमा कन्टेनर देखिएन, बिदेश आएपछी पहिलो पटक कन्टेनरको बसाई हुँदै थियो र पहिलै पटक फलामको खाटमा भर्याङ्ग चढेर जानू थियो अनि टाउको ठोकिने माथिल्लो तलामा आनन्द मान्दै सुत्नु थियो जिन्दगीमा।
पहिलो रात निन्द्रा प्यारो भो!भुसुक्कै निदाएछु थाकेर।
भोलीपल्ट बिहान उठ्दा टिफिनमा खाजा थियो।पहेँलै चाउमिन र बोतलमा पानी बोकेर म कस्सिए।थोत्रा जुत्ता र घाम छेक्न टोपी।थोत्रा पन्जा र लामो बिँडवाला कोदाली।यत्रो लामो बिँडवाला कोदाली पहिलो पटक देखें।हामी गाउँतिर छँदा छोटो बिँडमा समातेर ढाँड कुप्रो पारेर साघुँरा खेत खन्दै आली लाउँथ्यौ।कोदाली लामो बिँडमा,हलुङ्गो,पातलो र ठूलो थियो।काम उस्तै र एउटै तर हामी बाउँसो भन्थ्यौ सायद यो बाउँसो होइन र बाउँसो भन्न मिल्दैन होला।
आँखाले देख्न भ्याउनेजती फाँटमा फलफुल र तरकारी रोपिएको थियो।नजिकको बारीमा खरभुजा बडेमानका भैसकेका थिए।केहि पाकेका,केहि हरिया र केही बतिला।उस्तै ठुला पाईपहरुबाट बगेको पानीका छिर्काहरुले खरभुजा झनै हरिया र रहरलाग्दा देखिन्थे।बाटो दायाँबायाँको खेतको माटो पानीको चिस्यानले कालो र खरबुजाका झालहरु हरिया थिए।बीचको बाटोमा अघिअघि हिड्दै गरेकाहरुले खुब धुलो उडाए।नेपालीहरु बाटोमा बढी बोले,अरुले उछिनेर गए।पछिपछी हिडेको म धुलोले श्वास रोक्दै खोक्दैं हिडें। धुलो बोकेको बाक्लो हावा खुब चल्यो।बालुवा जस्तो धुलो,मरुभुमीमा हिडेजस्तै खाँदिने खुट्टाहरु पहिलो दिन छिनभरमै गले।अलि पर चोकमा ट्याक्टर भेटियो।
एउटा बूढो ड्राईभरले ट्याक्टर स्टार्ट गर्यो।कपाल सेतै फुलेको,दार्ही पनि उस्तै सेतै मलाई नौलो देख्यो र दोहोर्याएर हेर्यो।अघिल्तिर ड्राईभर छेउछाउका सिटमा अर्धबैंशे केटीहरु चढें।केटीहरुका कुईरा आँखाहरुले मलाई नियाले,म आँखा जुधाएर हेर्न सकिन,सायद मलाई नयाँ देखे र हेरें।बाँकी सप्पै पछाडी।नेपालतिर बालुवा बोक्ने ट्याक्टरमा रहरले यात्रा गरेको छु कहिलेकाही नत्र ट्याक्टरमा यात्रा यहीबाट शुरु भो।ट्याक्टर चढ्न हतार थियो सबैलाई,हतार गरियो भने सजिलोसँग बस्न पाईन्छ,बस्न सजिलो हुन्छ नत्र अटाईन्न सायद,अप्ठ्यारोमा परिन्छ। म टाउका गन्दै यहीँ बुझे र हतारमा उक्लिए।
बालुवा राख्ने ठाउँमा मान्छे बसेपनि बालुवाजस्तै माटोका थुप्राहरु जताततै थिए।बालुवाजस्तै फुस्रा मान्छेहरुसँग अर्को मान्छे थपिएको छु म।अब माटोसँगै सुत्नुछ, माटोमै खेल्नुछ, माटो बोकेर हिड्नुछ।माटोमै बगाएको पसीना सँगालेर केही कमाउनु पनि छ जिन्दगीमा।ट्याक्टरका बीचमा लामा बिँड गरेका कोदालीहरु खप्ट्याए सबैले।छेउछाउ पुरै भरियो मान्छेहरुले। थचक्क बसेकाहरुले मलाई बस्न भने,म नबस्दै आडैमा पेलेर अर्को बस्यो,म हतारिए अनि च्यापिएरै बसे।
यात्रामा कोचाकोच र भीडभाड मलाई कहिल्यै नौलो लागेन। काठमाडौमा थोत्रा माईक्रो बसहरुमा अटाईनअटाई यात्रा गरेका मान्छेहरुलाई देशको सम्झना आउँछ।धुलो उडाउँदै कच्ची बाटोमा कुँदेको ट्याक्टरमा चढेर हिड्दा गाउँ फर्केजस्तो लाग्छ। धुलो उडेर सर्लक्कै ज्यान छोपिदा सप्पै चिच्याउँछन।
धुलोले छोपिएको अनुहारको आवाज छोपिन्न।नेपालीहरु चिच्याउँदा बंगाली र ईन्डियनहरु उसैगरी आवाज थप्छन। म टोपी खोलेर नाक मुख थुन्दै अत्तासिन्छु।मलाई माटो बोकेर उड्ने हावाको गन्ध रुचेन।
म आफुलाई सम्हाल्छु र सोच्छु-पहिलो दिन भएर होला,बिस्तारै बानी पर्छ।
खेतको बीचमा ट्याक्टर हिड्दाहिड्दै बनेको बाटो गतिलो छैन।खुब झ्याक्छ,तल माथी गराएरै पल्टाउला जस्तो तरपनि बाटोमा धुलो उडाउँदै कुदाएको गति देख्दा आत्तिन्छु म।टाउको टाउकोसँग ठोकिन्छन।एउटा अर्कोसँग टासिनैपर्छ,नत्र अटाईन्न,कतै समात्नैपर्छ,नत्र पल्ट्याउँछ।अघिल्लो रात बढी पिएकाहरुको हस्को श्वासमा बाँकी छ र ठस्स गन्हाउँछ अनि अनिदो रातको बाँकी निन्द्राले झुपुक्क पार्छ,निदाउँदै ब्युझिदै गर्दा झस्क्याउँछ ट्याक्टर।थचक्क बस्दा झन थेचारिन्छ ज्यान।खुट्टा चलाउन मिल्दैन,पछि फर्किन मिल्दैन।उठ्न मिल्दैन,आँखा हेर्न मिल्दैन र धुलोले धित मरुन्जेल श्वास फेर्न नि मिल्दैन।तैपनी सम्हालिएर सोच्छु- पहिलो दिन भएर होला,बिस्तारै बानी पर्छ।
आईपुग्यो।सप्पै झरे,कोदालीहरु झारे,खाजाको झोला झारे।बलिया बानी परेका ठिटाहरु ट्याक्टरबाट हाम फाल्दै सजिलै ओर्ले।
ओर्लिने पालो कुर्दाकुर्दा म अन्तिममा परें।
बूढो ड्राईभर ट्याक्टरको हर्न बजायो।
म आत्तिए र जबर्जस्त हाम फाँले।
उस्तै माटो बालुवाजस्तै।खुट्टा गाडिए,म थचक्कै थचारिए।जुत्ता भित्र जताततै माटो भरियो।देख्नेहरु हाँसे,म उसैगरी हाँसे।माटोसँग लड्दै पैसो कमाउन आएको म माटोको स्पर्श पटक्कै रुचाईन।
सम्हालिए,सोचें!सायद पहिलो दिन भएर अडकल भएन!भोलीबाट सजिलै ओर्लिन्छु।
कोदाली बोकेर पछिपछी मेलो पसें।ट्याक्टरले जोतेर,ट्याक्टरबाटै बेर्ना रोपेर गोडमेल गर्ने बेला भएको फाँट आँखाले भ्याएसम्म देखिन्थ्यो।कतै लामो झार,बुकी र उन्युजस्तै फूलहरु सखरखण्डभन्दा फस्टाएका थिए।एक ट्याक्टर खेतालाहरु कस्सिए,अघिल्तिर बस्ने केटीहरु पनि कस्सिए।बूढो ड्राईभर अब सुपरभाईजर भो,दिनभरीको टार्गेट बतायो।अघिल्तिर आएर सिकाउन थाल्यो,कराउन थाल्यो।भएन,ढिलो भो,गहिरो खन,झार छुट्यो,सखरखण्ड काटियो,ठग्यो भन्दै बूढो कराउँदा कोहि शीर उठाएर हेरेनन,खुरुखुरु गोडें,झार उखेले,खनेर चट्ट पारे।म पनि त्यसै गरें,एक मिनेट ठग्न पाइएन,बूढो लास्टै कडा रैछ।
घन्टा बित्यो र ३ युरो पाक्यो। म घडी हेरेर खिस्स हाँसे। बलिया बंगालीहरु अझै मूर्ख छन। खुब खन्छन,यताउता फर्किन्नन,म त्यसो गर्न सक्दिन। खन्दै,झार उखेल्दै,पसीना पुछ्दै,घन्टा बिताउँदै, युरो थप्दै म तनक्क उभिएर तन्किदै ढाड सोझ्याउँछु। आसपासका खेतालाहरु उछिनेर अघि पुगिसक्छन।
साँझसम्म बल्लतल्ल आठ घण्टा बित्छ,आठ दिनजस्तो।काम सकाएर बूढो ड्राईभर ट्याक्टर स्टार्ट गर्छ।म थोत्रो पञ्जा खोलेर झोलामा राख्छु।हत्लेलामा घाउ देखिन्छन,खुब दुख्छन।भब्बाउँछ खुब,पोल्छ र ज्वरो आएर तातेजस्ता औँला र हत्केलाहरु दुखेर मुठी कसिन्नन।सुन्निएका छन,आफुखुशी चल्दैनन।आफ्नै औंला आफ्नाजस्ता हुन्नन्, खुम्चिन्नन, तन्किन्नन।ढाड उस्तै,जस्तो उभियो त्यस्तै नत्र दुखिहाल्दो।कसैले कुटेर सहेको पीडाजस्तो।हारेको सिपाईजस्तो,काम सकिएपनी उत्साह छैन,जाँगर छैन,दिन कटाउनुको खुशी छैन, युरो कमाउनुको योजनाहरु छैनन।लखतरान गलेका खुट्टाहरु हिडौं कि बसौँजस्तो हुँदा मन त्यस्तै हुन्छ।
सोच्छु-पहिलो दिन भएर होला!बिस्तारै बानी पर्छ।
ट्याक्टर चढ्न उस्तै हतार छ।अटाईन्न कि भन्ने पीर।खुट्टा र ढाड दुख्दा ट्याक्टर चढ्न सक्दिन कि भन्ने पीर।हातका औँलाहरु दुख्दा समात्न सक्दिन कि भन्ने पीर।आखिर जिन्दगीमा यस्ता पीरले पनि जबर्जस्त शक्ति थप्छ।
ट्याक्टर फेरि हुँईकियो।दिनहुँ यसरी नै आफ्नै गतिमा।ढाड उसैगरी दुखिरह्यो,औंला उस्तै दुखिरहे।धुलो उसैगरी उड्यो,ट्याक्टर बालुवा कोच्दा झै मान्छेहरु बोकेर दौंडिरह्यो।
र पनि जिन्दगी ट्याक्टरको गतिमा कहिल्यै हुँईकिन सकेन।
साभार- voiceof nepal