Tuesday 13th January 2026

पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनको पोल्टामा


तितोपाटी – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग (पीपीएल) को पहिलो संस्करणको उपाधि पोखरा पल्टनले जितेको छ। भारतीय खेलाडी रभीइन्दर सिंहले विस्फोटक ब्याटिङ गर्दा चितवन राइनोजलाई तीन विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको हो। उपाधिसँगै पोखराले २७ लाख प्राप्त गरेको छ भने चितवनले १० लाख मै चित्त बुझायो। पीपीएलको उपाधि जित्दा शरद भेषावकर नेतृत्वको टोलीले पारस खड्का नेतृत्वको टोलीविरुद्ध टीट्वेन्टी क्रिकेटको अघिल्ला दुई प्रतियोगिताको फाइनलमा बेहोरेको पराजयको बदला लिएको छ।

शरद नेतृत्वको टोली बिराटनगर किङ्स धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो संस्करणमा पारस नेतृत्वको धनगढी टीम चौराहासँग ६२ रनले पराजित हुँदै उपाधिबाट चुकेको थियो।

यस्तै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पछिल्लो संस्करणमा पनि शरद नेतृत्वको भैरहवा ग्लाडिएटर्स पारस नेतृत्वको विराटनगर वारियर्ससँग मात्र एक रनले पराजित हुँदा उपाधिको बञ्चित भएको थियो। तेस्रो भेटको नतिजा भने शरदले आफ्नो पक्षमा बनाएका छन्।

पोखरा स्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रनको योगफल तय गरेको थियो।

जवाफी ब्याटिङमा आएको पोखराले १९.२ ओभरमा सात विकेट गुमाउँदै उपाधि पक्का बनाएको हो। पोखरालाई उपाधि दिलाउन रभिइन्दरले ५८ बलमा ९० रनको योगदान दिए। उनले आफ्नो पालीमा तीन छक्का र १३ चौका प्रहार गरे। रभीइन्दरले दोस्रो विकेटका लागि आसीफ शेख (१२) सँग ६१ रन तथा तेस्रो विकेटका लागि मोहम्मद नाभिद (२५) सँग ३३ रनको साझेदारी गरेका थिए।

आसीफले रन आउट हुनु अघि १२ बलमा एक छक्का प्रहार गरेका थिए। यस्तै १४ बल खेलेका नाभिदले तीन छक्का र एक चौका प्रहार गरेका थिए। पोखरालाई कप्तान शरदले २३ बलमा २२ रन जोडे।

त्यसअघि प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल खेलको पहिलो ओभरमै करण केसीको बलमा चार रन जोड्दा विकेट किपर ब्याट्सम्यान् आकाश थापाद्वारा विकेट पछाडीबाट क्याच आउट हुन पुगेका थिए।्

त्यसअघि कप्तान पारस र भारतीय खेलाडी सन्नी पटेलले सशक्त प्रदर्शन गरे पनि टोलीको जितका लागि पर्याप्त बनेन। पारसले ३७ बलमा ५१ रनको अर्धसतकीय पाली खेलेका थिए। उनले आफ्नो पालीमा नौ चौका प्रहार गरेका थिए।

रसीद खानको बलमा दोस्रो इन्डमा रहेका अनिल शाहले प्रहार गरेको शट फेरी रसीदको हातमा लागेर स्टम्पबाट बेल झर्दा पारस आउट हुन पुगेका थिए।

यस्तै सन्नीले २१ बलमा ४३ रन जोडे। कृष्ण कार्कीको बलमा कुशल भुर्तेलद्वारा क्याच आउट हुनु अघि सन्नीले चार छक्का र तीन चौका प्रहार गरे।

अर्का प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह ३८ बलमा ३७ रन जोड्दै आउट हुन पुगे। उनले आफ्नो पालीमा एक छक्का र तीन चौका प्रहार गरे। उनी मोहम्मद नाभिदको बलमा बउल्ड आउट हुन पुगे।

आरीफ शेख ११ बलमा १४ रन जोड्दै अविजित रहे। आरीफले आफ्नो पालीमा एक छक्का प्रहार गरे। त्यस अघि प्रारम्भिक ब्याट्सम्यान हरी शंकर शाह आठ रन जोड्दा ललित राजवंशीको बलमा विकेट किपर बिनोद भन्डारीद्वारा स्टम्पिङ भए। १२ बल खेलेका उनले आफ्नो पालीमा एक छक्का प्रहार गरेका थिए।

पोखराका कृष्ण कार्कीले दुई तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले एक/एक विकेट लिदा चितवनका भुवन कार्कीले दुई तथा करण केसी, सन्नी पटेल र पारस खड्काले एक/एक विकेट लिए।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...