Thursday 27th February 2025

अमेरिकामा पर्सी ६ तारिक मध्यावधि चुनाब हुँदै


तितोपाटी – अमेरिकामा यही नोभेम्बर ६ मा मध्यावधि चुनाव हुँदैछ । प्रतिनिधिसभा, माथिल्लो सदन सिनेट र राज्यका गभर्नरका निम्ति चुनाव हुन लागेको हो । हाल दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । त्यही बहुमतमा जोगाउन कसरतमा छ, ट्रम्पको रिपब्लिकन पार्टी । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र चुनावी मत सर्वेक्षणमा रिपब्लिकन पार्टीले फेरि दुवै सदनमा बहुमत ल्याउन सक्ने देखिएको छ । चार सय ३५ सदस्यीय प्रतिनिधिसभामा हाल रिपब्लिकनको दुई सय ३५ र डेमोक्र्याटिक पार्टीको एक ९३ स्थान छ । सात स्थान रिक्त छ । यस पटक यी सबै स्थानमा चुनाव हुँदैछ ।

तर, एक सय सदस्य रहने माथिल्लो सदन सिनेटमा ३५ स्थानका लागि मात्र चुनाव हुँदैछ । अमेरिकी नीति निर्माणमा निकै महत्वपूर्ण मानिने सिनेटमा हाल रिपब्लिकन पार्टीको ५१, डेमोक्र्याटिक पार्टीको ४७ र स्वतन्त्र २ सिट छ । अमेरिकी सिनेटमा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यका लागि चुनाव हुने संवैधानिक प्रावधान छ । यस चुनावमा डेमाक्र्याटिक पार्टीले प्रतिनिधित्व गरेका २३, रिपब्लिकनले प्रतिनिधित्व गरेका आठ, स्वतन्त्र दुई र रिक्ता दुई स्थानका लागि चुनाव हुनेछ ।

त्यस्तै ३६ राज्य र तीन अधिकृत क्षेत्रमा गभर्नर पदका लागि चुनाव हुँदैछ ।

संसदको चुनावको नतिजा खासगरी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि अत्यन्त महत्वपूर्ण छ । रिपब्लिकन पार्टीले संसदमा बहुमत गुमाए ट्रम्पका धेरैवटा महत्वाकांक्षी योजना अलपत्र पर्नेछन् । डेमोक्र्याटले बहुमत हासिल गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि दबाब थपिनेछ । सन् २०१६ को राष्ट्रपतीय चुनावका सम्बन्धमा भइरहेको छानबिनले नयाँ मोड लिनसक्छ । ट्रम्पमाथि संसदमा महाभियोगको प्रस्ताव समेत आउन सक्छ ।

शरणार्थी समस्याको फाइदा उठाउँदै ट्रम्प

ट्रम्पले चुनावी सभामा डेमोक्र्याट पार्टीका नीतिको कडा आलोचना गरिरहेका छन् । उदार अर्थव्यवस्था र आप्रवासबारे डेमोक्र्याटहरुको नीति मुलुकको हितमा नभएको उनको दाबी छ । होन्डुरसबाट पलायन भएका करिब सात हजार मानिस अमेरिका प्रवेश गर्ने भन्दै मेक्सिको–अमेरिका सीमातर्फ अघि बढिरहेका छन् । ट्रम्पले यसलाई चुनाव प्रचारबाजीको विषय बनाएका छन् । ती शरणार्थीको लस्करलाई डेमोक्र्याटले मद्दत गरेको उनको आरोप छ ।

अमेरिका प्रवेश गर्न चाहने यो समूहलाई रोक्न ट्रम्पले दक्षिणी सीमामा ठूलो संख्यामा फौज पठाएका छन् । उनले त्यसरी खटिने फौजको संख्या १५ हजारसम्म पुग्ने बताएका छन् । कुनै आप्रवासीले सैनिकमाथि ढुङ्गामुढा गरे गोली चलाउने आदेश दिइएको पनि ट्रम्पले बताएका छन् । अमेरिकामा जन्मिने आप्रवासीका सन्तानलाई नागरिकता दिने विगतको नीति पनि खारेज गर्ने चेतावनी दिएका छन् । विपक्षीले भने ट्रम्पले जनमानसमा शरणार्थीबारे डर र घृणा पैदा गरेर चुनाव जित्न खोजेको आरोप लगाएका छन् ।

कसले जित्ला चुनाव ?

फाइनान्सियल टाइम्सले गरेको पछिल्लो मतसर्वेक्षणमा दुवै सदनमा रिपब्लिकन पार्टीले झिनो बहुमत हासिल गर्ने सम्भावना देखिएको छ ।अमेरिकी सिनेटमा यसपटक चुनाव हुने ३५ मध्ये २३ स्थान डेमोक्र्याट पार्टीको छ । त्यसैले यो पार्टीलाई आफ्नो स्थान जोगाउने मात्र होइन, रिपब्लिकन सिट पनि फुत्काउनुपर्ने चुनौती छ । फाइनान्सियल टाइम्सका अनुसार ४३ स्थान डेमोक्र्याट र ४९ स्थान रिपब्लिकनको हातमा पर्ने सम्भावना छ ।

डेमोक्र्याटका तर्फबाट पूर्व राष्ट्रपति बाराक ओबामासहितका नेताले चुनावी अभियान सञ्चालन गरिरहेका छन् । विभिन्न सेलिब्रेटीले समेत जनतालाई मतदानमा सहभागी हुन अपिल गरेका छन् । केहीले आफूलाई मन परेको उम्मेदवार र नीतिलाई समर्थन समेत गरेका छन् ।

ट्रम्पले सकारात्मक आर्थिक सूचकांकको फाइदा लिन पनि सक्छन् । अमेरिकी अर्थतन्त्र ४.२ प्रतिशतले वृद्धि भइरहेको छ । बेरोजगारी दर घटेको । सेयर बजार निरन्तर उकालो चढिरहेको छ । पछिल्लो समय ट्रम्पले चीनसँग व्यापार युद्ध सुरु गरेका छन् । व्यापार युद्धको नकारात्मक असर अहिलेसम्म अमेरिकी बजारमा देखिइसकेको छैन । ट्रम्पका आर्थिक नीतिमाथिको जनमत सङ्ग्रहका रुपमा पनि यो चुनावलाई हेरिएको छ ।

ट्रम्पलाई रुचाउने अमेरिकीको संख्या भने घटिरहेको छ । ५० प्रतिशतभन्दा कमले मात्र उनलाई समर्थन दिएका छन् । यद्यपि अमेरिक जनमत पुनः एक पटक ट्रम्पको राष्ट्रवाद र आक्रामक प्रस्तुतितर्फ आकर्षित हुनसक्छ ।

अमेरिकी चुनावमा कतिपय नीतिलाई लिएर चर्को बहस, छलफल र विचारविमर्श हुनु अनौठो होइन । तर ट्रम्पले अमेरिकी जनतालाई विभाजित तुल्याएको आरोप लाग्ने गरेको छ । ट्रम्पको प्रभावले अमेरिकी समाजको जग नै विभक्त हुनथालेको विश्लेषण धेरैले गरिरहेका छन् । केही दिनअघि मात्र एक जना ट्रम्प समर्थकले डेमोक्र्याट पार्टीका नेताका घर तथा कार्यालयमा हुलाकमार्फत पाइप बम पठाएर आतंकित बनाए । अर्का एक व्यक्तिले पिट्सबर्गमा ११ जना यहूदीको गोली हानी हत्या समेत गरे । गोरा जातिको वर्चश्व गुम्दै गएकाले त्यसलाई पुनर्जीवित तुल्याउनु पर्छ भन्ने नश्लवादी समूहले बेलाबखत अमेरिकाभर जुलुस निकाल्न थालेका छन् । यस्ता समूहलाई ट्रम्पले समर्थन गर्दै आएका छन् । कैयौं प्रबुद्ध व्यक्ति, सेलिब्रेटी, नेता, समालोचक र मिडियामाथि उनले दिनरात ट्विटरमार्फत् कटाक्ष गरिरहेका छन् । यसले अमेरिकी समाजको आधारभूत सिद्धान्त र मान्यतालाई नै कठघरामा उभ्याएको विश्लेषण गरिँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

आम आदमी पार्टीका धेरै विधायकलाई एक दिनको लागि दिल्ली विधानसभाबाट निष्कासित गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार निष्कासित विधायकहरूमा विपक्षी…

कुवेतस्थित कल्याणकारी नेपाली युवा समाज कुवेतको पहलमा चितवनकी शारीरिक अपांग टुकुदेवी पाैडेललाइ ३० हजार भन्दा बढिको सहयोग गरिएको छ ।…

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

प्रतिकृयाहरू
...