तितोपाटी – ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो विजयी भएका छन् ।बोल्सोनारो ५५ दशमलब २ प्रतिशत मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डो हडाडले करिब ४५ प्रतिशत मत प्राप्त गरे । चुनावी अभियानका क्रममा बोल्सोनारोले अपराधको दर घटाउने तथा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता जनाएका थिए । चुनावी अभियानमा दुवै नेताले एक–अर्काप्रति निकै आक्रामक भाषण गरेका थिए । उनीहरू दुवैले आफ्ना प्रतिस्पर्धी राष्ट्रपति भए ब्राजिलको अर्थतन्त्र ध्वस्त हुने दाबी गरेका थिए ।
पूर्वसैनिक अधिकारीसमेत रहेका बोल्सोनारो ब्राजिल सैनिक शासनकालमा निकै राम्रो भएको दाबी गर्छन् । उनका विपक्षीहरूले उनी ब्राजिलको लोकतन्त्रका लागि खतरा भएको बताउँछन् । सन् २०१५ मा उनले एक विधायिकालाई ‘बलात्कार गर्न पनि कुरूप’ भएको प्रतिक्रिया दिएपछि निकै विवादित भएका थिए । उनीमाथि विपक्षी तथा आलोचकहरूले रंगभेद र लिंगभेदको नाइके भएको आरोप लगाउने गर्छन् ।
चुनाव परिणामपछि बोल्दै बोल्सोनारोले ‘संविधान, लोकतन्त्र र स्वतन्त्रता’ को रक्षा गर्न आफू प्रतिबद्ध भएको बताए । उनले भने, ‘यो कुनै पार्टी वा व्यक्तिको वाचा नभई ईश्वरसामु लिइएको शपथ हो ।’
बोल्सोनारोको विजयसँगै समर्थकले रियो द जेनेरियोस्थित उनको निवासअगाडि ब्राजिलको झण्डा फहराएर खुसी मनाएका थिए । उनले आगामी वर्षको जनवरी एकमा पद तथा गोपनीयताको शपथ लिनेछन् । बोल्सोनारोले वर्तमान राष्ट्रपति मिसेल टेमेरलाई प्रतिस्थापित गर्नेछन् । पछिल्ला दिनमा टेमेरको लोकप्रियता निकै घटेको जनाइएको छ ।
ब्राजिलमा यही अक्टोबर ७ मा भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत नल्याएपछि दोस्रो चरणको चुनाव भएको हो । पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा चुनावमा उठ्न अयोग्य भएपछि वर्कर्स पार्टीका प्रमुख भएका हडाड चुनावमा उत्रेका थिए । सिल्भाले भ्रष्टाचार अभियोगमा जेलसजाय काटिरहेका छन् ।