Tuesday 17th February 2026

ब्राजिलको राष्ट्रपतिमा जैर बोल्सोनारो निर्वाचित


तितोपाटी – ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय चुनावमा उग्र–दक्षिणपन्थी उम्मेदवार जैर बोल्सोनारो विजयी भएका छन् ।बोल्सोनारो ५५ दशमलब २ प्रतिशत मतसहित विजयी भएका हुन्  । उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डो हडाडले करिब ४५ प्रतिशत मत प्राप्त गरे । चुनावी अभियानका क्रममा बोल्सोनारोले अपराधको दर घटाउने तथा देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने प्रतिबद्धता जनाएका थिए । चुनावी अभियानमा दुवै नेताले एक–अर्काप्रति निकै आक्रामक भाषण गरेका थिए । उनीहरू दुवैले आफ्ना प्रतिस्पर्धी राष्ट्रपति भए ब्राजिलको अर्थतन्त्र ध्वस्त हुने दाबी गरेका थिए ।

पूर्वसैनिक अधिकारीसमेत रहेका बोल्सोनारो ब्राजिल सैनिक शासनकालमा निकै राम्रो भएको दाबी गर्छन् । उनका विपक्षीहरूले उनी ब्राजिलको लोकतन्त्रका लागि खतरा भएको बताउँछन् । सन् २०१५ मा उनले एक विधायिकालाई ‘बलात्कार गर्न पनि कुरूप’ भएको प्रतिक्रिया दिएपछि निकै विवादित भएका थिए । उनीमाथि विपक्षी तथा आलोचकहरूले रंगभेद र लिंगभेदको नाइके भएको आरोप लगाउने गर्छन् ।

चुनाव परिणामपछि बोल्दै बोल्सोनारोले ‘संविधान, लोकतन्त्र र स्वतन्त्रता’ को रक्षा गर्न आफू प्रतिबद्ध भएको बताए । उनले भने, ‘यो कुनै पार्टी वा व्यक्तिको वाचा नभई ईश्वरसामु लिइएको शपथ हो ।’

बोल्सोनारोको विजयसँगै समर्थकले रियो द जेनेरियोस्थित उनको निवासअगाडि ब्राजिलको झण्डा फहराएर खुसी मनाएका थिए । उनले आगामी वर्षको जनवरी एकमा पद तथा गोपनीयताको शपथ लिनेछन् । बोल्सोनारोले वर्तमान राष्ट्रपति मिसेल टेमेरलाई प्रतिस्थापित गर्नेछन् । पछिल्ला दिनमा टेमेरको लोकप्रियता निकै घटेको जनाइएको छ ।

ब्राजिलमा यही अक्टोबर ७ मा भएको पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले विजयी हुन आवश्यक मत नल्याएपछि दोस्रो चरणको चुनाव भएको हो । पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा चुनावमा उठ्न अयोग्य भएपछि वर्कर्स पार्टीका प्रमुख भएका हडाड चुनावमा उत्रेका थिए । सिल्भाले भ्रष्टाचार अभियोगमा जेलसजाय काटिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...