Monday 16th February 2026

बंगलादेशमा १९ जनालार्इ मृत्युदण्डको फैसला


तितोपाटी – बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए ।

तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । ५० वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।

भ्रष्टाचारको आरोपमा गत फेब्रुअरीमा पाँच वर्षका लागि खालेदा जिया जेलमा थुनिएपछि निर्वासनबाटै रहमानले प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरिरहेका छन् । ‘हामी फैसलाका लागि भगवानलाई धन्यवाद दिन्छौँ,’ कडा सुरक्षाबीच सरकारी वकील मोसाराफ होस्सैनले बताए । ‘हाम्रो आशा छ तारिक रहमानले पनि मृत्युदण्ड पाउने छन् ।’

होस्सेनले ढाकाको आक्रमणमा रहमानले नै मुख्य भूमिका निर्वाह गरेको दाबी गरे । उनले पूर्व गृहमन्त्री समेत दुईजना मन्त्री र पूर्व जासूसी संस्थाका दुईजना प्रमुखहरुमाथि पनि मृत्युदण्डको फैसला भएको बताए ।

बंगलादेशमा प्रतिबन्धित हर्कत-उल जिहाद अल इस्लामी (हुजी)सँग आबद्ध १५ जना लडाकूलाई पनि उक्त आक्रमणका मुख्य दोषी ठहर गर्दै मृत्युदण्ड दिने फैसला भएको होस्सैनले बताए । उक्त संस्थाका प्रमुखलाई गत वर्ष अप्रिलमै मृत्युदण्ड दिइएको थियो ।

सरकारी अधिवक्ताहरुले पूर्वमन्त्री अब्दुस सलाम पिन्टुले हुजीका लडाकूलाई ग्रिनेड दिएको दाबी गरेका छन् । ग्रिनेड बिस्फोट हुँदा र्यालीमा हसिनाले सम्बोधन गरिरहेकी थिइन् । बिस्फोटबाट हसिनाको कानमा गम्भीर चोट लाग्नुका साथै पूर्व राष्ट्रपतिकी पत्नीको पनि मृत्यु भएको थियो ।

चार वर्षपछि डिसेम्बर २००८ मा भएको निर्वाचनमा हसिनाले बहुमत प्राप्त गरेकी थिइन् । बंगलादेशमा मृत्युदण्डको सजाय दिइनु सामान्यझैं भएको छ । अझै पनि सयौं व्यक्ति मृत्युदण्डको पर्खाइमा छन् । सबैजसो मृत्युदण्ड झुण्ड्याएर दिने गरिएको छ ।

सन् २००७ यता नै कम्तीमा नौ जना इस्लामिक अतिवादी, पाँच जना मुलुकका सबैभन्दा ठूलो इस्लामिक पार्टीका नेता र एक जना वरिष्ठ प्रतिपक्षी नेतालाई झुण्ड्याएर मृत्युदण्ड दिइएको छ ।

गृहमन्त्री असादुज्मान खानले अदालतको आदेश चित्तबुझ्दो भएको र त्यसले न्याय गरेको बताए ।

रहमानका वकील सनाउल्लाह मियाँले रहमानका विरुद्ध लगाइएका आरोपहरु राजनीतिक प्रेरित भएको बताए । उनले अदालतको फैसलाको समय पनि शंकास्पद रहेको बताए । उनले आगामी डिसेम्बरमा हुने संसदीय चुनावअघि यो सजाय सुनाइएकोमा आपत्ति जनाए ।

-रासस


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...